प्रेम दिवस अर्थात फेव्रुवरी १४ मनाउन सायद प्रायजसो अहिलेका युवायुवतीहरु आ-आफ्नो गच्छे अनुसारको तयारीमा जुटिसकेका होलान । सन् २६९ फेव्रुअरी १४ तारीखका दिन रोमबाट मनाउन शुरु गरिएको यो दिवसले अहिले नेपालको शहरी क्षेत्रमामात्र नभई गाउँ-गाउँमा समेत व्यापक प्रभाव पारिसकेको छ । सायद दशै तिहार कहिले पर्दछ? पुसेपन्ध्र कहिले पर्दछ ? भनेर हाम्रा नव युवायुवतीहरु त्यति चासो राख्दैनन् तर क्रिशमस र भ्यालेन्टाइन डे भने पछि एक महिना अगाडि देखि नै चनाखो भएर वस्ने गर्दछन् । प्रायगरी अल्पविकसित मुलुकका युवायुवतीहरु कति बुझेर त कतिपय नबुझेर नै सोहोरैमा गोहोरो मारिरहेका हुन्छन् । विदेशी रहनसहन, चाडवाडप्रतिको युवा पिढीको यो झुकाव र नेपाली संस्कृतिप्रतिको यो विस्थापन अवश्य पनि दुःखको कुरो हो । रातो गुलावको फूल साटेर मायाँ साटने, आफ्नो मनको भावना कसैलाई पोख्नु वा कुनै युवायुवतीले आफूले मन पराएको व्यक्तिसँग सुटुक्क या हाकाहाकी प्रेम प्रस्ताव राख्ने यो पर्व आफैमा नराम्रो भने नहोला तर प्रयोग कर्ताले भने यसलाई छाडातन्त्रको रुपमा भित्र्याएको पाइन्छ । हुनत यो दिवसको सही प्रयोग हुने हो भने वर्तमान नेपाली परिवेशमा अन्य राष्ट्रको तुलनामा नेपालको लागि वढी महत्वपूर्ण र आवश्यक हुने थियो । पश्चिमेली मुलुकहरुमा त प्रेम गर्न कुनै भ्यालेन्टाइन डे आउनु नै पर्दैन । प्रेम प्रस्ताव राख्नु, प्रेम वस्नु, विछोड हुनु, प्रेमी प्रमिका फेर्नु कुनै ठूलो कुरो होइन । उनीहरुलाई सँधैको पन्ध्र असार छ । सँधैको भ्यालेन्टाइन डे जस्तो छ । तर नेपालजस्तो मुलुकमा यस्ता पर्वलाई विकृतिको रुपमा भित्र्याइनु हुँदैन भन्ने मात्र यो पंक्तिकारको द्धेय हो । केवल वैशालु केटाकेटीबीचको प्रेम सम्वन्धलाई मात्र हेरिनु हुँदैन । प्रेम भन्ने कुरा दाजुभाई बीचमा हुनसक्दछ, साथीभाईवीचमा हुन सक्दछ, परिवारप्रति हुनसक्दछ अनि सिंगो राष्ट्रप्रति पनि हुनसक्दछ । यसको सीमा व्यापक छ । यसलाई साँघुरो घेराभित्र राखिनु हुँदैन । नवजवान केटाले केटीलाई अनि केटीले केटालाई ह्याप्पी भ्यालेन्टाइन डे भनेर भनिन्छ भने आफ्नो वा-आमालाई ह्याप्पी भ्यालेन्टाइन डे वावा–आमा भनेर भन्ने कि नभन्ने ? नेपालमा आज आफ्नै भाई-भाई वीच काटाकाट चलेको छ । जताततै हत्याहिंसा र वलत्कारको घटना घटेको छ । टिभी र रेडियो अनि पत्रिकाहरुलाई खुराक वनेको छ आङ्गै सिरिङ्ग हुने घटनाहरु । खै त भ्यालेन्टाइन डे को औचित्य ? खोई यसको सही प्रयोग ? के यौवनले मस्त केटा र केटीवीचको प्रेम सम्वन्धको लागि मात्रै हो र भ्यालेन्टाइन डे ? यदी त्यसो हो भने नेपालको वर्तमान परिपेक्ष्यमा भ्यालेन्टाइन डे को कुनै औचित्य छैन । साँचै भन्ने हो भने नेपालमा विदेशी संस्कृति र परम्परा हावी हुँदैछ । विदेशी रहन सहनमा भूलेर आफ्नो संकृति र परम्परालाई चटक्कै विर्सन पछि परेका छैनौं हामी । हामी विदेशी नक्कल त गर्दछौं तर नराम्रो पक्षको मात्र । यदी विदेशीको नक्कल गर्ने नै हो भने हरेक कुरामा नक्कल गर्न किन सकिंदैन ? अर्काको नराम्रो कुराको नक्कल गर्न अहिलेका युवा पिंढी निकै उत्साही देखिन्छन् । हामीहरुलाई विदेशीहरुले लगाएको कुरा लगाउनु पर्ने, उनीहरुले खाएको कुरा खानु पर्दछ । सलमान खानले एउटा राम्रो ज्याकेट लगायो भने भोलिपल्टै हाम्रा नेपाली सलमानहरुलाई पनि त्यही नै चाहिन्छ । प्रिति जिन्टाले एउटा यौन उत्तेजित पार्ने खालको पहिरन लगाई भने भोलिपल्टै हाम्रा नेपाली प्रितिहरुलाई पनि त्यही नै चाहिन्छ, चाहे त्यो समाजको अगाडि पचोस् या नपचोस् । उनीहरुले लगाएको फेसन कसरी आफू पनि लगाउने भन्ने सोचाइ मात्र हुन्छ हाम्रो दिमागमा । त्यो कपडा आफै निर्माण गर्न सकिन्छ कि सकिन्न, त्यो वनाउनको लागि कति लागत लाग्दछ भन्ने सोचाइ हाम्रो लागि धैरै परको कुरो हो । अनावश्यक र छाडापनलाई सजिलै सिको गर्ने तर उनीहरुमा भएको राम्रा कुराहरु जस्तै वैज्ञानिक पद्दति, कर्मनिष्ठता, सृजनशीलताजस्ता कुराहरुलाई पटक्कै ध्यान नदिनु समग्र मुलुकको लागि ठूलो दुर्भाग्य हो । कर्तव्य र कर्मबाट अलग्गिएकाहरु अनि बावुका सम्पत्तिमा रजाई गर्नेहरु विदेशी सभ्यता र आधुनिकताको आडमा नशामा लठ्ठएिर दिन काटिरहेका छन् कतिपय पढेका भनेका आधुनिक युवायुवतीहरु । कतिपय वा-आमाहरु उनै छोराछोरीहरुको भविष्य वनाउन, राम्रो शिक्षादीक्षाको लागि विदेशमा हाडछाला घोटिरहेका छन् भने आमावावुको अभावमा थुप्रै छोराछोरीहरु यहाँ दिनदिनै सडिरहेका छन् । सभ्यता, आधुनिकता र फेसनको नक्कलले गर्दा पुस माघको कठ्याङ्ग्रिने जाडोमा पनि आधा शरीर नाङ्गै पारेर लुगलुग काम्दै हिड्ने सुन्दरीहरु थुप्रै भेटिन्छन् यहाँ । समाजमा अहिले बढीरहेको वलात्कार लगायतका घटनाहरुको एउटा मुख्य कारण मध्ये यो पनि एक हो । दुर्गम गाउँवस्तीहरुमा माहिली र साँहिली मेलापात गर्दा काँडाले कोतरेर च्यातिएका कपडाहरु भोटे सियोले सिउँदै रहेको वेला यता शहरमा फेसनको नाउँमा सद्दे कपडालाई पनि उधारेर नाङ्गएिका छन् कैयौं जिम्मी र डिङ्कीहरु । यो केवल विकृतिको रुपमा भित्रिएको नक्कल भन्दा अरु बढी केही होइन ।
सारङ्गीको तार चुँडिएर मिल्किएको छ, हामी गीतारको तार तन्काउँछौ । मादल र डम्फूमा माकुराले जालो लगाएको छ, हामी ड्रमसेट रन्काउँछौ । यो सब किन ? किन भने हामीलाई सभ्य हुनु छ । “नाम भने सुब्बिनी, के खाएर उभ्भिनी” भने जस्तो देशको स्थिति जताततै लथालिङ्गभताभुङ्ग छ । भोलिका देशका खम्वा भनिने युवायुवतीहरु भ्यालेन्टाइन डे र डिस्कोमा झुम्मिएपछि, नशामा लठ्ठएिपछि कसरी हुन्छ देशको विकास ? खान लाउन मीठो र राम्रो चाहिने, काम भनेपछि ढलेको सिन्को ठाडो नपार्ने अनि कसरी लाग्छ मुखमा माड ? वावुआमाले कमाइदिएर कहिलेसम्म खाने हो ? भोलि वाआमाको अन्त्यपछि के गर्ने, कहिल्यै सोचिएको छ ? अरु उपाय केही छैन उही ठग्ने कि चोर्ने । अहिलेको युवा वर्गको हालत यस्तो छ ।
तर्सथ छाडौं हामीले यो भ्यालेन्टाइन डे से । अब साँच्चै मनाउने नै भए नेपाली परम्परा अनुसार फागुन २ गते प्रेम दिवस भनेर मनाऔं । एउटा नेपालीले अर्को नेपालीलाई गोली नठोकौं, धरापमा नपारौं, अर्काको नचोरौ, नठगौं, अरुलाई पनि वाँच्न दिउँ, आफू पनि वाँचौं । शान्तिको सास फेरौं । यो प्रेम दिवसमा कार्ड र फूल होइन साँच्चैको आत्मीय मायाँ वाँडौ । आफूले मन पराएको मान्छेलाई मात्र होइन, एक नेपालीले अर्को नेपालीलाई मायाँ गरौं । देशमा भएको हत्या, वलात्कार, चोरी, ठगी अनि दलालीहरुलाई सबै मिलेर निर्मुल पारौं । फक्रिएको गुलाव साटे झैं उज्यालो चेहरावाट निस्किएको मुस्कान र मायाँ साटौं । प्रेम दिवसको यही शुभकामना । अस्तु ।।
प्रतिकृयाको लागि : [email protected]
तपाईको प्रतिक्रिया