ध्रुव दंगाल
सिन्धुपाल्चोक- एक सय ७० वर्ष जेलसजाय पाएका बेचविखनका ‘डन’ बजिरसिं तामाङ जेलभित्रै मर्न चाहन्छन्। भन्छन्, ‘सजाय पुनरावलोकनका लागि पुनरावेदन अदालत पनि जान्नँ। मेरो घर जेल नै हो। यहीँ मर्न चाहन्छु।’
जिल्लाका ६ जना किशोरी बेचेको मुद्दामा शिखरपुर-९ का बजिरसिंलाई सिन्धुपाल्चोक अदालतले गत असार २७ गते १ सय ७० वर्ष जेलसजायको फैसला सुनाएको थियो। जिल्लाका चेली बेचेर अक्षम्य अपराध गरेको स्विकार्ने उनी त्यही अपराधले पीडा र पश्चाताप भएको सुनाउँछन्। ‘म भित्रभित्रै भतपति जलिरहेछु। मनमा पीडा हुन्छ,’ मानव बेचविखनसम्बन्धी वृत्तचित्र बनाउन कारागार पुगेका सञ्चारकर्मीसहितको टोलीसँग उनले भने।
आधा घन्टा क्यामेराअगाडि उभिएर बोलेका बजिरसिंले आफूले कसरी चेली बेच्थेँ भन्ने मात्र सुनाएनन् जेल परेपछि अपराध गरेको अनुभूति बताउन पनि चुकेनन्। उनले चेलीहरुलाई भारतको आग्रा सहरका कोठीमा बेचेको स्विकारे। भने, ‘केटीहरु बेचेको हुँ।’ गरिबी, पैसा अभाव र अरुको लहैलहैमा लागेर यो धन्दा थालेको उनी सुनाउँछन्।
मान्छेको औसत उमेरभन्दा बढी सजाय पाएकाले उनी जेलभित्रै मर्नेमा ढुक्क छन्। कुराकानीका क्रममा जेललाई आफ्नो घर भनेका बजिरसिंले सरुवा भएर अन्यत्र नजाने बताए। ‘म मरे पनि बाँचे पनि जन्मभूमिकै जेलमा बस्छु र यहीँ मर्छु,’ उनको इच्छा छ। कुराकानीका क्रममा हाँसेर बोले पनि उनका शब्दमा निराशा भेटिन्थे। बुढेसकालका बाबुआमा पाल्ने बेला जेलको चिसो छिँडीमा बस्नुपर्दा आफूलाई असाध्यै पीडाबोध हुने उनले सुनाए।
६ वटा मुद्दाको कुल सजायमा १ सय ७० वर्ष भए पनि उनले ४० वर्ष जेल बस्नुपर्नेछ। जतिवटा मुद्दामा सजाय पाए पनि सबैभन्दा बढी सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ। जेल सजाय काट्दा उनी ८२ वर्षका उनेछन्।
यो जन्ममा जेलबाहिरको संसार देख्न नपाउनेमा निश्चिन्त उनी यति लामो सजायभन्दा मृत्युदण्ड आफ्ना लागि उत्तम हुने बताउँछन्। ‘जेलमै मर्नुपर्ने सजायभन्दा बरु मलाई फाँसीमा चढाएको भए हुन्थ्यो,’ उनले भने, ‘यतिबिघ्न तड्पिन त पर्दैनथ्यो।’जेल परेपछि आफ्नो घर चौपट भएकोमा बजिरसिं दुःखी छन्। बजिरसिंह जेल परेपछि उनकी कान्छी श्रीमती अर्कैसँग बिहे गरेर गएकी छन्। जेठीको मृत्यु भएको उनले भारतमै कान्छी बिहे गरेका थिए। राम्री लागेकी युवती केही समय आफैं राखेर पछि बिक्री गर्ने बजिरले उनले नै बेच्न लगेकी युवती मन पराएर दोस्रो बिहे गरेका थिए।
बजिरसिं २०६७ मंसिरमा पक्राउ परेका थिए। पक्राउ पर्दा क्षयरोग (टिबी) ले थलिएका उनी अहिले औषधी उपचारपछि तंग्रिएका छन्। सरकारले बन्दीलाई दिने सिदा खाएर आनन्दले जेलमा बस्ने सुनाउन पनि उनी पछि परेनन्। सजायमा पुनरावलोकन हुने विश्वास नभएकाले पुनरावेदन नजाने निधोमा पुगेको उनको भनाइ छ। ‘एक त सजाय घट्दैन। अर्को नघट्ने सजायलाई मुद्दा मामलाका लफडामा फसेर पैसा खर्च गर्ने कुरा आएन,’ बजिरसिंले खुलाए।
आफूलाई बेचविखनको काममा लगाउने नवलपुरका दावा तामाङ पक्राउ नपरेको दुःखमनाउसमेत गरे। बजिरसिंहले जेलसजाय भोगिरहेका ६ सहित दावालाई चेली बेचेको ७ वटा मुद्दा छ। उनी पक्राउ नपरेकाले सबै मुद्दा अदालतले मुल्तवीमा राखेको छ।
छोरीचेली बेचिनुमा उनीहरुका बाबुआमाको पनि उत्तिकै गल्ती रहेको बजिरसिंह तर्क गर्छन्। ‘काम लगाउने नाममा छोरीलाई भारत पुर्याएर पैसा बुझी घर फर्कने बाबुआमालाई किन कार्बाही हुँदैन?’ भन्ने प्रश्न उनले गर्दा सँगै रहेका बन्दी टेकबहादुर विक झोक्किए। छोरी बेचेको मुद्दामा टेकबहादुरलाई अदालतले साढे १२ वर्ष कैद सजाय तोकेको छ। आफूले गरेको गल्ति निर्धक्क स्वीकार्न टेकबहादुरलाई आग्रह गर्दै बजिरसिंहले थपे, ‘तिम्ले मात्र होइन, छोरी बेचेर अरु बाबुआमाले पनि पैसा बुझेका छन्।’ टेकबहादुरले बेचेको भनिएकी छोरी अझै फर्केकी छिन्। बजिरसिं र टेकबहादुरसँगै सोही घटनामा बाँसखर्कका सुकमान दोङलाई १६ वर्ष कैद सजाय सुनाइएको थियो।
बजिरसिंहले ६ वटा मुद्दामा २० वर्षदेखि ४० वर्षसम्म कैद पाएका छन्। ‘जन्मकैद २० वर्ष भएपनि मानव बेचविखन, हातहतियार खरखजना लगायत विशेष प्रकृतिका नौवटा मुद्दामा माथिल्लो सजाय भोग्नु पर्छ। यस्ता मुद्दामा माफी दिने र सार्वजनिक विदा कैदमा घटाउने गरिंदैन,’ अधिवक्ता अधिवक्ता भेषराम ढकालले भने। मानव वेचविखन तथा ओसारपसार अपराध विरुद्धको ऐन २०६४ को दफा १५ (५) बमोजिम पटके कसुरदारलाई ‘कसुर प्रमाणित भएको सजायको एक चौथाई थप सजाय हुने’ कानुनी व्यवस्थाअनुरुप बजिरसिंहलाई ४० वर्ष कैद सजायको फैसला अदालतले सुनाएको थियो।
जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको इजलासले उनलाई पीडितलाई जनही १ लाख ५० का दरले ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसला गरेको थियो। अधिवक्ता ढकालका अनुसार १ सय ७० वर्ष कैद सजायको यो फैसला नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो हो।