बुझिनसक्नुको छ नेपालको राजनीति । कतिबेला के हुन्छ–हुन्छ ? एक छिनपछि के निर्णय हुँदै छ, छेउमै रहेको मान्छेलाई पनि थाहा नहुने । बुझ्ने हुँदादेखि जिउज्यान दिएर राजनीतिमा लागेँ । तर, मन्त्री, सांसद वा नेता हुँला भन्ने मनको कुनै कुनामा थिएन । मुलुक र जनताका लागि केही गर्नुपर्छ भन्ने भावनाचाहिँ थियो । समयसँगै बुझ्दै गएँ । त्याग र बलिदानी मात्र होइन रहेछ राजनीति, प्राप्ति पनि रहेछ । सँगै आन्दोलनमा लागेका र आफैँले सिकाएका धेरैले राजनीतिको सिँढी चढेर केही न केही पाएको देखेँ । चाहेर–नचाहेर, मान्छेले खोजेर वा परिस्थितिले खोज्दै आएर मान्छेलाई केही दिँदो रहेछ । वास्तवमै राजनीति त्याग र संघर्ष मात्र होइन, अवसर पनि रहेछ ।
बाल्यकाल भारतको सिलाङमा प्रवासी भएर बित्यो । त्यहीँको स्कुल भर्ना भएँ । अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी हुन्थेँ । साहित्यतिर रुचि थियो, कविता लेख्थेँ । यिनै कारण गुरुहरू मसँग नजिक थिए । गुरु जंगबहादुर थापा प्रेरणा दिइरहनुहुन्थ्यो । समय मिल्दा राजनीतिक विषय पनि सिकाउनुहुन्थ्यो । उहाँकै प्रेरणाले हो, मलाई राजनीतिमा लाग्न उत्साही बनाएको । युवावस्थामा प्रवेश गर्दा पढाइसँगै राजनीतिक चेतना पनि प्रवाहित भयो मभित्र । उतिबेला अखिल क्रान्तिकारी विद्यार्थी युनियन सिलाङ र क्रान्तिकारी महिला संघमा संगठित भएँ । प्रवासमा रहेका नेपालीका छोराछोरीलाई त्यहाँको कम्युनिस्ट पार्टीले संगठित पाथ्र्यो । पछि थाहा पाएँ, म संगठित महिला संघ पुष्पलालको नेतृत्वमा संचालित भएको रहेछ ।
विद्यार्थी संगठन र महिला संघमा संगठित भइसक्दा पनि कम्युनिस्ट पार्टीप्रति मेरो आकर्षण थिएन । कारण थियो– भारतमा चलेको नक्सलवादी आन्दोलन । आन्दोलनका नाममा मान्छे मारेको मलाई ठीक लाग्दैनथ्यो । भारतको पश्चिम बंगालमा मान्छे मर्ने र मार्ने क्रम निकै तीव्र थियो । कोही नक्सलवादीका नाममा सरकारबाट मर्थे, कोही सरकारी सुराकीका नाममा नक्सलवादीबाट मर्थे । मर्ने–मार्ने यो प्रक्रियाप्रति मलाई वितृष्णा थियो । शिक्षकहरूका राजनीतिक प्रशिक्षण सुनेपछि भने मलाई कम्युनिस्ट पार्टीतिर आकर्षण बढ्दै गयो । सर्वहारालाई सबैखाले मुक्ति दिलाउन सक्ने पार्टी कम्युनिस्ट नै हो भन्ने लाग्यो । पार्टीका कार्यक्रममा सहभागी हुन थालँे ।
भारतमा पाएको राजनीतिक चिन्तनलाई नेपाली भूमिमा प्रयोग गर्ने उद्देश्यले नेपाल आएँ । भारतमा छँदा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले भन्नुभएको थियो, ‘राधा कमरेड, हामी सधँै देश र जनताका लागि इमानदार भएर लाग्नुपर्छ । कम्युनिस्ट पार्टीमा आफूले व्यक्तिगत रूपमा केही फाइदा पाउँला भनेर लाग्ने नै होइन ।’ उहाँका कुराले म धेरै प्रभावित थिएँ । पुष्पलालका ती आदर्शहरू यो समयक्रममा उनका चेला हामीले कति पालना गर्न सक्यौँ, भनिरहनै पर्दैन । जनताले बुझेकै छन् †
भारतमा प्रवासी हुँदा नजिकबाट देखेँ, प्रवासीहरूको उत्पीडन र दु:ख–कष्ट । स्वदेशमा गरिखान नपाएर नेपालीहरू काखमा नानी र पिठ्युमा डोको बोक्दै भारतका गल्लीगल्ली भौँतारिनुपरेको अवस्थाले मलाई साह्रै पीडा हुन्थ्यो । मैले बुझेकी थिएँ, त्यो समस्याको कारण । नेपालमा तत्कालीन अवस्थामा रहेको निरंकुश शासन व्यवस्था नै त्यसको प्रमुख जिम्मेवार थियो । त्यतिबेला जुन भूमिमा मैले पाइला टेकेकी थिएँ, त्यसलाई आफ्नो भन्न मनै मान्दैनथ्यो । निकै कठिन थिए ती अनुभूतिहरू । कहिले आफ्नै देश फर्किएर ढुक्कसँग जिउन पाइएला ? मनमा प्रश्नहरू उठिरहन्थे । जवाफ पनि पाउँथेँ– हामीलाई देश र परिचयविहीन बनाउनेका विरुद्ध संघर्ष गरेपछि मात्रै त्यो अवसर पाइनेछ । यही भावनाले मलाई विद्रोही बनायो । समाजमा महिलाले भोग्ने पीडा पनि मभित्र विद्रोही भावना उराल्ने अर्को पक्ष थिए । एउटै घरमा जन्मेका छोराछोरीबीचको बिभेद अनि उत्पीडन देख्दा कुँडिएर आउँथ्यो मन । विभिन्न कालखण्डमा भोगेका र देखेका उत्पीडनविरुद्धमा लाग्दालाग्दै कम्युनिस्ट पार्टीको नेता बन्न पुगेछु ।
तेह्र वर्षको थिएँ राजनीतिमा लाग्दा । आज ६२ वर्ष भएँ । ४९ वर्षको राजनीतियात्रामा धेरैलाई नेता माने, धेरैलाई नेता बनाएँ । राजनीतिक रूपमा थुप्रै संघर्ष गरियो, जिम्मेवारी पनि पूरा गरियो । सफलता र असफलता त राजनीतिमा सामान्य नै हुन् । राजनीतिमा सधैँ सफलता हुन्छ भन्ने छैन । यो मैले बुझेको यथार्थ हो । यहाँसम्म आउँदा केही गुमाएँ भन्ने गुनासो छैन । उही उमेर र समय मात्रै हो । जे गुमाएँ, त्यसको तुलनामा धेरै पाएको छु ।
जनतामा असन्तुष्टि र आक्रोशको चाङ छ, दल र नेताले केही गरेनन् भनेर । तर, तिनै दल र नेताको पहलमा देश निरंकुशताबाट मुक्त भएको हो भन्ने बिर्सनु हुँदैन । राजनीतिक रूपमा मुलुकमा परिवर्तन भएको छ । शिक्षा र चेतनामा विकास भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यहाँसम्म आइपुग्दा मैले पनि धेरै मानसिक र शारीरिक पीडा भोगेँ । आममहिलाले भोगेका पीडाबाट म पनि अछुतो छैन ।
राजनीतिक यात्रामा झन्डैझन्डैको मन्त्री त निकैचोटि भएँ । तर, वास्तविक मन्त्री भने जम्मा एकचोटि भएँ । त्यो पनि बाह्रदिने मन्त्री । ती बाह्र दिनमा जम्मा सात दिन मात्र मन्त्रालय पाएँ । नेपालमा सरकारमा जानु/बाहिरिनु चलचित्र हेर्न हलमा गएजस्तै हुन थालेको छ ।
प्राप्तिको अभिलाशा नगरे पनि केही पाइँदो रहेछ, राजनीतिक जीवनमा । संविधानसभा विघटनको संघारमा पार्टीको निर्णयमा सरकारमा सहभागी भए । ०६९ जेठ ३ गते मन्त्रीका रूपमा सपथ लिएँ । पछि विभाग तोकिने गरी मन्त्रालय बिहीन मन्त्री बनेँ । शपथ लिनुअगाडि मन्त्री हुने पक्का भएपछि पार्टीबाट जानकारी आएको थियो, शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्छ भनेर । सो मन्त्रालय र विभागबारे केही अध्ययन गरेर तयार बसेकी थिएँ । केही योजना पनि थिए, मन्त्रालयमा गएपछि यो–यो काम गर्नु पर्ला भनेर । तर, पहिलेको सहमति एकाएक बदलिएछ । मन्त्रालयविहीन मन्त्री भएँ । शिक्षा र ज्ञानका हिसाबले शिक्षा मन्त्रालय मेरो इच्छा थियो । तर, अन्तिममा माछामाछा भ्यागुतो बनाइदिइहाले नि †
केही समयपछि पार्टी कार्यालय र प्रधानमन्त्री कार्यालयबाट जानकारी आयो, ‘तपार्इंलाई शान्ति समितिमा राखिएको छ । हाललाई त्यहीँ काम गर्नु ।’ तीन दिनसम्म शान्ति समितिका बैठकमा सहभागी भएर बिताएँ । ६ गते मन्त्रालय तोकियो, ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएँ । कुनै गुनासो गरिनँ । आखिर जहाँ भए पनि कामै गर्ने न हो । ७ गतेदेखि काममा गएँ, चुनौती धेरै थिए । जनताका आशा र अपेक्षा असीमित थिए । लागेको थियो, केही समय त पक्कै काम गर्न पाइएला । तर, नेपालको अस्थिर राजनीतिक संरचनाका अगाडि कसको के लाग्ने र ?
मन्त्री भएपछि जनताको माग, कार्यकर्ताको गुनासो, कर्मचारीका माग धेरै थिए । तर, काम गर्ने दिन भने हप्ता पनि रहेन । तर, जति समय पदमा रहेँ, केही गर्ने प्रयत्न गरेँ । बिहानदेखि रातिसम्मै निरन्तर काम गर्थेँ । मुलुकभरि व्याप्त लोडसेडिङ एक घन्टा न्यून गराएँ । बेलुकी घरेलु प्रयोगमा बत्ती दिन सो समयमा उद्योगधन्दामा बत्ती कटौती गर्न निर्देशन गरँे । तर, मेरो त्यो योजना सफल हुन पाएन । माथिल्लो तामाकोसीको काम रोकिएको थियो । त्यहाँ आन्दोलन चर्किरहेको थियो । रोकिएका काम सुचारु गराउन, जनताका माग पूरा गराउन सचिवलाई आदेश दिएँ । उहाँ केही समयमा गरौँला भन्दै हुनुहुन्थ्यो । त्यही दिन अख्तीयारले काम सुचारु गर्न आदेश दियो । मसँगै अख्तियार पनि पनि आयो, काम सुरु भयो । तर, त्यो काम विभाग मातहतमा मात्र सीमित रहन पायो ।
सात दिन मन्त्रालय सम्हाल्दा निर्देशन र आदेश भयो, काम हुन पाएन । जिम्मेवारी पूरा गर्ने ठूलो आकांक्षा हुदाँहुदै काम गर्न सकिएन । सात दिनको जिम्मेवारीमा मलाई उम्लिरहेको तातोपानीमा बसेजस्तै दबाब भयो । सरकारको नेतृत्व गर्ने पार्टीको प्रेसर आउँथ्यो । जे माग आए पनि गर्नुपर्छ भन्ने मान्यता सरकारमा नेतृत्व गर्ने पार्टीको हुन्थ्यो । जुन उत्साहसाथ सरकारमा गएको थिएँ, गर्न सकिएन । तीन महिना मात्र काम गर्न पाएको भए पनि मुलुकमा परिवर्तको छनक देखाइदिन्थेँ होला जस्तो लाग्छ । तर, यो महत्त्वाकांक्षामा सीमित रहन पुग्यो । जेठ १४ गते पार्टीको निर्णयमा हामी सरकारबाट बाहिरियौँ । मेरा लागि सरकार प्रमुख कुरो थिएन पनि ।