विश्वमा महिला तथा बालबालिकासँग यौन अपराध बढ्दो छ । विश्वको कुनै पनि मुलुक महिलामाथि हुने हिंसाको घटनाबाट अछुतो छैन ।
खासगरी दक्षिण एसियाली मुलुकहरूमा त बलात्कारको घटनाबारेको समाचार हिजोआज दिनहुँजसो मिडियामा छापिने गरेका छन् । त्यसमा पनि मधेशमा हुने महिला हिंसाबारे सुन्दा जिउँ सिरिङ्ग हुने र यस्ता घटनाहरू बारिहका मानिसबाट मात्रै होइन परिवारबाटै पनि हुने गरेका छन् । कहिले बुवाबाट छोरी, कहिले दाइबाट बहिनी, कहिले देवरबाट भाजु, कहिले मामाबाट भान्जी भने कहिले पतिबाटै पत्नीको यौन हिंसाको घटना यस क्षेत्रमा बढ्दो छ । यसले मानव समुदाय अब दैत्य बन्नतर्फ उन्मुख भएको पुष्टि हुन्छ । यस्ता अनैतिक सम्बन्धका कारण मानव जातिको शिर नै निहुरिएको छ ।
अविश्वासको वातावरण उत्पन्न भएको छ । महिला मानव नै होइन भन्ने पुरूषहरूले अहिलेको २१औं शताब्दीमा पनि मानवको स्थान नदिएकै पुष्टि गर्छ । हालै मात्र नेपालमा ३० वटा बलात्कारको घटना समाचार माध्यमबाट बाहिर आएको छ । ती घटनाहरू मध्ये १० वटा काठमाडौं भित्रैका छन् भने एउटा सुदूरपश्चिमको र बाँकी पूर्वाञ्चलबाट सम्बन्धित छन् । यस्ता अनगिन्ती बलात्कारका घटनाहरू दिनहुँ घटिरहेका हुन्छन् तर तीमध्ये केही मात्र मिडियामार्फत बाहिरिने गर्दछन् । कतिपय परिवारका सदस्यहरूबाट हुने हिंसा चार पर्खालभित्रै दबेर जान्छन् । लज्जाबोध हुने घटनाहरू जुन भन्नै नसकिने खालका घटनाहरू दबेर जाने गर्दछन् ।
शिक्षाको पहुँच पुग्न नसकेका, पुरातन सोच र महिलाविरूद्ध दमनकारी समाज तथा कानूनको कडाइमा देखाइएको निस्त्रियतासँगै महिला हिंसाले स्थान पाउने गरेको देखिन्छ । महिलाको शिक्षा माथिको पहुँच हालसम्म पनि राम्ररी स्थापित हुन सकेको छैन यसले गर्दा उनीहरू शिक्षित, स्वावलम्बी र आत्मनिर्भर हुन सकेको छैनन् जसले गर्दा यस्ता हिंसाका घटनाबाट प्रताडित भएर अनायासै पीडा लुकाउन बाध्य छन् । कुन समाजमा नारीको कति सम्मान हुन्छ, नारी कति सुरक्षित छन् भन्ने कुराले त्यस समाज र राष्ट्रकै समृद्धि र सुशासनको मापन हुन्छ ।
हालै मात्र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ की शिवा हास्मीलाई पेट्रोल खन्याएर हत्या गरियो । हत्या शिवाको प्रेमी बाबु खानले गरेको प्रारम्भिक रिपोर्ट गलत साबित भएको छ । उक्त हत्या परिवारजनबाटै भएको आशंका प्हरकिो छ । परिवारजनबाटै जिउँदै जलाई हत्या गरिएकी शिवा हास्मीको घटना सेलाउन नपाउँदै तराई–मधेशमा त्यस्तै प्रकृतिको अर्को घटना बारा प्रस्टोकाको हो । बारा जिल्लाको त्यो घटना बिर्सिनै नसकिने खालको छ ।
विन्दु ठाकुर नाम, उमेर १८ वर्षकी एक किशोरीलाई जलाएर हत्या गरिएको घटना हामीहरू समक्ष विभिन्न समाचार माध्यम पत्रपत्रिका, इन्टरनेटमार्फत सार्वजनिक भएको छ । विन्दु ठाकुरको दोष भनेको, परिवारजनले मन नपराएको केटोसँग प्रेम गरेको मात्र हो । विहान ट्युशन पढ्न गएको नाममा छोरीलाई आगो लगाएर नै हत्या गरियो । के मधेशी महिला वा युवतीलाई प्रेम गर्ने अधिकार छैन ? के प्रेम गरेकै कारण यति ठूलो सजाय दिन मिल्छ र ? के हत्या नै यसको सही समाधान हो ?
तराई–मधेशमा दाइजोको कारण बोक्सी कुप्रथाको कारण महिला अथवा युवतीहरूलाई जिउँदै जलाउने जस्ता अप्रिय घटनाहरू पटक–पटक सञ्चार माध्यमबाट सार्वजनिक भएको सर्वविदित्तै छ । तर प्रेम गरेकै कारण युवतीलाई जलाएर हत्या गर्नु कतिसम्म सकारात्मक हो भन्ने कुराको ठूलो प्रश्न चिन्ह खडा गरेको छ । हालै मात्र सिरहा जिल्लाको धनगढी भन्ने स्थानमा एक युवती जो बाख्रा चराई रहेकी समयमा सामूहिक बलात्कारमा परिन् । त्यस्तै अर्को एक घटना गत असोजमा सप्तरीको मधवापुर गाविसमा बलात्कार गर्न गएका ३८ वर्षीय ब्रह्मानन्द भुस्कुलिया यादवको २८ वर्षीया अन्जुदेवी कामतले लिङ्ग काटिदिएकी थिइन । यस्ता विभिन्न घटनाहरूका कारण मधेशमा महिलाहरू हिंसामा परिरहेकी हुन्छन् ।
मधेशमा रहेका विभिन्न खालका संस्कृतिहरू आज विकतिमा परिणत हुँदै गएका छन् । मधेशमा एउटा ठूलो समस्याको रूपमा रहेको दाइजो प्रथा, यसका कारणले गर्दा अनगिन्ती महिलाहरूले ज्यान गुमाउनु परेको छ । खास यो दाइजो भन्नाले छोरीलाई छोराझैं अंश नदिने हुनाले उसलाई दाइजोको नाममा केही नगद अथवा जिन्सी सामानहरू दिने गरिन्छ । यो चलन आफ्नो इच्छा र हैसियतको सेरोफेरोभित्र नभई बाध्यतामा परिणत हुँदैछ । जसले गर्दा महिलाहरूले मुफ्तमा ज्यान गुमाउनु परिरहेको छ ।
आफ्नै देशको कुरा के गर्नु, विकसित मुलुकहरूको कानूनी अवस्था कमजोर छ । नेपालको मित्र राष्ट्र भारत, हालै मात्र भारतको राजधानी नयाँ दिल्लीको एक घटना जुन घटना गुन्दा जिउँ नै झसंङ्ग हुने, बिसिनै नसकिने खालको घटना मिडियामार्फत बाहिर आएको छ । भन्छन्, जुन देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सृदृढ हुन्छ, त्यो मुलुकमा हिंसा कम हुन्छ । तर जुन देशको यी तीनै पक्ष मजबुत छ र तत्पश्चात यस्ता अमानवीय घटना घट्नु आश्चर्यजनक हो । अहिलेको अवस्थामा पनि महिला स्वतन्त्र रूपले बाँच्ने अधिकार छैन । भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बस भित्रै २३ वर्षीया दामिनी नाम गरेकी युवतीलाई सामूहिक बलात्कार मात्रै भएन, कुकर्म गर्नेहरूले ती युवतीलाई ‘रड’ समेत प्रयोग गरी उसको शरीरलाई छिया–छिया पारिदियो र शरीरलार्य नाङ्गै गरी बसबाट बाहिर फालिदिए । उक्त आतातायी घटनाले सिंगो मानव जातिको शीर लाजले निहुरिएको छ । हुनत, भारतको राजधानी नयाँ दिल्लीलगायत देशका विभिन्न स्थानमा यसको विरूद्ध व्यापक विरोध प्रदर्शन भएको छ । उक्त घटनाले खुबै चर्चा पायो । भारतको सबैभन्दा बढी सुरक्षित स्थान मानिएको राजधानी नयाँदिल्लीमा बलात्कारीहरूले दामिनीलाई बलात्कार पछि बसबाटै बाहिर फालिदिने घटना दुःखद मात्रै होइन, अमानवीय पनि हो ।
यसले त्यहाँको सुरक्षाको धज्जी मात्रै होइन, महिला सुरक्षाका लागि एउटा नयाँ बहस नै सुरू गरिदिएको छ । महिलालाई दोस्रो दर्जाको नागरिक र जे गरे पनि हुने पुरूष मानसिकतालाई उदाङ्गो पारेको छ । वास्तवमा जबरजस्ती गरिएको यौन क्रियालाई बलात्कार भनिन्छ । चाहे त्यो पती पत्नीबीचमै किन नहोस् । वास्तवमा बलात्कार सामाजिक अपराध हो । कानूनी कमजोरीको फाइदा उठाउँदै यस सामाजिक अपराधमा दिन दुईगुणा रात चौगुणा रफ्तारले वृद्धि भइरहेको छ । यतिखेर बलात्कारबारे निकै चर्काचर्की बहसहरू सुन्न पाइन्छ जसमा महिलालाई सानो कपडा लगायो एक्लै नजानुपर्ने लगायतका कारणहरू बताइएको हुन्छ । जबकि महिलामाथि लगाइने यी सबै आरोपहरू आधारहीन हुन् एक जाडोयाममा त्यतिकै सबै शरीर ढाक्ने लामो र मोटो लुगा लगाउँछन् ।
अर्को पाकिस्तान, अफगानिस्तान जस्ता मुस्लिम मुलुकहरूमा बलात्कारको घटना तुल्नात्मक बढी घट्ने गर्दछन् । त्यहाँ महिलाहरू पूरै ज्यूँ बुर्काले ढाकेका हुन्छन् । तसर्थ बलात्कार पुरूषमा देखिने मनोवैज्ञानिक रोग हो । यसलाई राजनीतिक हिसावले कडा कानून ल्याई दोषीमाथि हदैसम्मको कारबाही गरिनुपर्दछ साथै सामाजिक बहिष्कार गर्नुपर्दछ । बलात्कार गर्नेहरूलाइृ कडा भन्दा कडा सजाय दिने कानूनी व्यवस्था हुँदाहुँदै पनि यो घटनामा कमी हुनुको साट्टो बढ्दो छ । नेपालको कानूनलाई थप बलियो र सक्रिय बनाउनु पर्ने निष्कर्ष निकालिदै छ ।
मिश्रा तराई–मधेश विद्यार्थी फ्रन्टकी केन्द्रीय सदस्य हुनुहुन्छ ।