कुनैपनि समाजको सभ्यता मापनको प्रमुख आधार त्यस समाजमा बिद्यमान सामाजिक मर्यादा, न्याय, पारस्परिक सम्मान, सुसंस्कृति र विकास नै हो । समाज जति बढि न्यायपूर्ण, सुसंस्कृत र मर्यादित हुन्छ त्यतिनै बढि सभ्य र विकसित हुन्छ । सामाजिक सुसंस्कृति र मर्यादा विनाको भौतिक वा आर्थिक परिवर्तनले मात्र समाज विकास र सभ्यताको सुनिश्चितता प्रदान गर्दैन । त्यसकारण एउटा सभ्य र समुन्नत समाज निर्माणका लागि आर्थिक, प्राविधिक विकास संगसंगै सामाजका सदस्यहरु बिच पारस्परिक सम्मान, मर्यादा र समानता कायम हुनु अत्यावश्यक हुन्छ ।
समाजका प्रत्येक सदस्यहरुको व्यक्तिगत मर्यादा जन्मसिद्द रुपमा अभिभाज्य, अकाट्य र समान हुन्छ । कुनैपनि व्यक्तिले पाउने सामाजिक अस्थित्व र मर्यादा उसको नैसर्गिक मानव अधिकार पनि हो । यस जगतमा मानिसको उत्पत्ति र विकास पनि प्राकृतिक समानता र न्यायका आधारमा भएको पाइन्छ । तथापि समाज रुपान्तरणका क्रममा प्राकृतिक न्याय र समानता माथि हस्तक्षेप गर्दै मानिसले स्वार्थपूर्ण ढंगले अन्यायपूर्ण, विभेदपूर्ण र असभ्य समाजको निर्माण गर्दै गयो । फलस्वरूप: प्राकृतिकरुपमा सबै समान रहेका मानवजाती वीच उसले वर्ण, वर्ग, लिङ्ग, धर्म, जातजाति, भाषाभाषी, समुदाय, सम्प्रदाय आदिका आधारमा विभाजन, विखण्डनको सीमारेखा कोर्दै असमानताका पर्खालहरुको निर्माण गर्दै गयो । जसका कारण समाजमा अन्याय, अत्याचार, शोषण, उचनीच, थिचोमिचो, कलह, संघर्ष, वैमनश्यता, हिंसा जस्ता विकृति, विसंगतिहरुको विकास र विस्तार हुदै गयो । हाम्रो नेपाली समाज पनि विश्व मानव समुदायको एक अभिन्न हिस्सा भएकाले यस्ता विकृतिबाट अछुतो रहन सकेन ।
समाजमा व्याप्त यस्ता अमानवीय संस्कारहरु अन्त्य गर्नका लागि वर्तमानमा विभिन्न राजनीतिक, संस्थागत र सामाजिक आन्दोलन, अभियान र कार्यक्रमहरु भएतापनि सामाजिक मर्यादा, सुसंस्कृति, सभ्यता र सम्मान जस्ता विषयहरुले यथोचित महत्व पाउन सकेको छैन । अपितु, महत्वपूर्ण कुरा के हो भने समाजको सर्वाङगिण विकास, न्याय र समानताका लागि विभिन्न वर्ण, लिङ्ग, धर्म, जातजाति वीचको शोषण र विभेद चिर्नु जति आवश्यक छ, समाजका प्रत्येक व्यक्तिहरुको समान सामाजिक मर्यादा, सम्मान र पहिचान स्थापित हुनु त्यत्तिकै अनिवार्य छ ।
हामीकहाँ पद, पेशा, दर्जा वा आर्थिक अवस्थाका आधारमा कुनैपनि व्यक्तिको सम्मान, मर्यादा वा मुल्यांकन फरक फरक ढंगले गर्ने परम्परा रहिआएको छ । मुख्यत: व्यक्तिको पेशा वा आर्थिक स्तरका आधारमा ठूलो-सानो, उच-नीच, सम्मानित-असम्मानित व्यक्तिको रुपमा मुल्यांकन गरिने मात्र होइन उक्त व्यक्ति प्रति समाजले हेर्ने दृष्टिकोण, सम्वोधन र सम्मानमा नै फरक हुने गर्छ । एउटा मेहेनती, इमान्दार तर गरिब किसान र एउटा सम्पन्न चिकित्सक वा अभियन्ता प्रति समाजले हेर्ने दृष्टिकोणमा आकाश जमिनको अन्तर पाइन्छ । आर्थिक हिसाबले अलिकति सम्पन्न एउटा व्यक्ति जतिसुकै भ्रष्ट भएपनि आर्थिक हिसावले बिपन्न तर इमान्दार, असल अर्को व्यक्ति भन्दा तथाकतित मर्यादित, ठूलो र सम्मानित कहलिन्छ । एउटा कार्यालयको उच्च ओहोदाका अधिकारीले आफू भन्दा तल्लो तहका कर्मचारीलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार र सम्वोधन अक्सर विभेदपूर्ण रहन्छ । कार्यालयमा काम गर्ने गरिब कार्यालय सहायक (पियन), जसको पद र आर्थिक स्थितिकै आधारमा उसलाई हेपिन्छ, शोषण गरिन्छ, सम्वोधनमा ‘त’, ‘तिमि’ जस्ता अनादर्थी शब्दहरुको प्रयोग गरिन्छ । तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई सधैं ‘ज्यू’, ‘हजूर’ गरेर सम्मान प्रकट गरिरहनु पर्ने तर माथिल्लो ओहोदाको भनिएको उक्त अधिकारीले तल्लो तह भनिएको कर्मचारीलाई जे जस्तो व्यवहार, सम्वोधन गरेपनि हुने कुसंस्कार हामी सबैले भोगेका वा देखेका छौ ।
हाम्रो राजनीतिक, आर्थिक एवं सामाजिक संस्कारले असल, इमान्दार र सभ्य भन्दा तथाकथित ठूलो, शक्तिशाली, भौतिकवादी र आडम्बरी व्यक्ति बन्न प्रेरित गरिरहेको कटु यथार्थ हामी सामु छ । समाजमा इज्जत, प्रतिष्ठा र सम्मानको मुख्य आधार व्यक्तिले आर्जन गरेको आर्थिक वा भौतिक सम्पन्नता, सुखसयल, बिलासिता जस्ता कुराहरुलाई मानिने र उसको सम्पन्नताको स्रोत जतिसुकै कालो वा गैरकानूनी भएपनि उसलाई मान सम्मानको पगरी गुथिदिने कुप्रबृति हामीमा छ । जसलेगर्दा आर्थिक अनियमितता, भ्रष्टाचार, कालोबजारी, ठगी दिनप्रतिदिन मौलाउदो छ भने सामाजिक मूल्य, मान्यता, आदर्श, नैतिकता, इमान्दारिता, पारस्परिक सद्भाव, मर्यादा, सभ्यतामा क्रमिक ह्रास आइरहेको छ । समाजमा इमान्दार, असहाय, बिपन्न, अशक्त व्यक्तिहरुको कुनै मर्यादा वा सामाजिक पहिचान छैन । गरिब, असहाय, अपाङ्ग, अशक्त प्रति सहिष्णु भएर उनिहरुको उत्थानमा सहयोग पुरयाउने कल्याणकारी सभ्यता हामीमा विकास हुन सकेको छैन ।
हामीले समाजमा यस्ता आडम्बरीहरु पनि देखेका छौं जसले आफ्नो घरमा राखिएको सहयोगी व्यक्ति भन्दा पालिएको कुकुरलाई बढी माया दिन्छन् । सहर बजारका कतिपय घरमा घरको काममा सघाउन भनेर राखिएका मेहेनती, इमान्दार तर भाग्य र कर्मले ठगिएका गरिब, असहाय कामदारलाई उसले त्यो घर प्रति गरेको सेवा, सहयोग, माया, प्रेम प्रति केवल तिरस्कार, झर्कोफर्को, शारीरिक एवं मानसिक यातना एवं अन्य अमानवीय व्यवहार गरिन्छ । उसको श्रम, पसिना, मेहेनत, दु:ख, इमान्दारिताको कुनै मुल्यांकन गरिदैन बरु एउटा नोकरको रुपमा व्यवहार गरिन्छ । जबसम्म एउटा मानवले अर्को सहयोगी मित्रलाई माया, ममता, सम्मान र सद्भाव प्रकट गर्नुको सट्टा अमानवीय व्यवहार गर्छ तबसम्म त्यो मानिस, घर, परिवार र समाज सभ्य हुने कल्पना पनि गर्न सकिंदैन ।
यसैगरी आजको युगमा समेत जातभात र छुवाछुत जस्तो कुप्रथा हाम्रो समाजमा कायमै छ । छुवाछुतका नाममा तथाकथित दलित वा तल्लो जात भनिएका मानिसहरु प्रति अपमान, बेइज्जती र हिंसाका घटनाहरु भइरहेका छन् । एकै समाजका आफू समानका आफ्ना सह-मानवजाती प्रति जातभातको नाउँमा एउटा मानिसले अर्को मानिसलाई मानिसको दर्जा नदिनु अमानवीयताको पराकाष्टा, मानव सभ्यताको घोर अपमान र पाशविकता शिवाय अरु केहि हुनै सक्दैन । यस्ता सामाजिक कुरीतिहरु कायम रहुन्जेल सभ्य र विकसित समाजको निर्माण किमार्थ सम्भव छैन।
समाजका प्रत्येक सदस्यहरुको समान सामाजिक मर्यादा कायम राख्न आवश्यक पर्ने अर्को महत्वपुर्ण कुरा श्रमको सम्मान पनि हो । कुनैपनि समाजको आर्थिक विकास र उन्नतिको प्रमुख आधार श्रम हो । विश्वका जतिपनि देशले आर्थिक, सामाजिक विकास मार्फत समृद्दिको शिखर चुमेका छन् ती सवै देशमा श्रमको सहि सम्मान भएको पाइन्छ । हामीकहाँ श्रमको सम्मान गर्ने संस्कार छैन । हामी यो काम राम्रो, त्यो नराम्रो, यो इज्जतिलो, त्यो इज्जत जाने जस्ता हिसावले कामको विभेद गर्ने गर्छौं । आज लाखौ नेपाली युवा खाडी लगायत अन्य कतिपय मुलुकहरुमा अत्यन्त कठिन, जोखिमपूर्ण श्रममा मेहेनत पसिना बगाई रहेका छन् । तर आफ्नै देशमा तुलनात्मक रुपमा सजिलो र कम मेहेनतपूर्ण काम गर्न भने हिनताबोध महशुस गर्छन् । यसो हुनुमा धेरै हदसम्म समाजको श्रम प्रतिको दृष्टिकोण जिम्मेवार देखिन्छ । उदाहरणका लागि कुनै शिक्षित व्यक्तिले गाउँमै कृषि वा जिविकोपार्जनको लागि अन्य कुनै सामान्य घरेलु पेशा अपनाएमा समाजले उसको कुरा काट्ने, होच्च्याउने र काममा हतोत्साहित गर्ने प्रवृति छ । जसलेगर्दा ऊ बरु मुग्लानको दु:ख बेसाउन सम्झौता गर्छ तर आफ्नै गाउँ ठाउँमा दु:ख गर्ने आँट गर्न सक्दैन ।
विकसित देशहरु जस्तै अमेरिका, जापान, युरोपमा जुनसुकै कामलाई उत्तिकै सम्मान गरिन्छ । कुनै काम सानो कुनै ठूलो वा कामको प्रकृतिकै आधारमा कोहि बढी प्रतिष्ठित कोहि अप्रतिष्ठित भन्ने हुँदैन । यसको मतलव हामीकहाँ जस्तो कुनै व्यक्ति सामान्य मजदुर, किसान भएकै आधारमा अप्रतिष्ठित र कोहि उच्च सरकारी ओहोदाको अधिकारी भएकै कारण बढी सम्मानित भन्ने हुँदैन । तसर्थ, ती देशहरुमा सबै नागरिक वास्तविक रुपमा समान छन् । सबैको समान मर्यादा, सम्मान, पहिचान छ जसका कारण सबैमा समान आत्मसम्मान र स्वाभिमान कायम रहन्छ । यसकारण हामीले पनि श्रम प्रतिको समाजको धारणामा परिवर्तन ल्याई जुनसुकै श्रम समान छ, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने संस्कारको विकास गर्नु अत्यन्त अपरिहार्य भएको छ । यसो हुन सकेमा जुनसुकै काममा सबैको सहभागिता हुनगई समाज तिब्र आर्थिक, सामाजिक सम्पन्नता तिर उन्मुख हुन सक्छ ।
त्यसकारण हाम्रो समाजमा व्याप्त यस प्रकारका खराब संस्कारहरुले व्यक्तिको सामाजिक मर्यादा, आत्मसम्मान, पहिचान र स्वाभिमानको घोर उपेक्षा गरेको छ । यस्ता कुरीतिहरु मानव अधिकार, सामाजिक न्याय र मानव सभ्यताका दृष्टिकोणबाट समेत गलत, अव्यावहारिक र अन्यायपूर्ण देखिन्छ । समाजका सबै सदस्यहरु वीच समान सामाजिक मर्यादा, पारस्परिक सौहार्दता, आत्मियता, सम्मान र विश्वास कायम राख्दै मिलेर बसेमा मात्र समाज शान्ति, सभ्यता र अमनचयनको मार्गमा लम्कन सक्छ । तसर्थ, समाजका प्रत्येक व्यक्तिको समान सामाजिक मर्यादा कायम गरि सभ्य र विकसित समाज निर्माण गर्न सबै प्रकारका विभेद, असमानता, उचनीच, ठूलोसानो जस्ता गलत सामाजिक संस्कारको विनिर्माण गर्नु अत्यन्त अपरिहार्य भएको छ ।
इमेल: [email protected]