शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

Ramनयाँ बर्षको उपलक्ष्यमा जापानका बिभिन्न सहरहरुमा हुन गईरहेका साँगीतिक कार्यक्रमहरुलाई केन्द्रमा राखी आयोजित कार्यक्रमहरुको तैयारीको अवस्था, आमन्त्रित अतिथि कलाकारहरुको क्रेज र यहाँका नेपालीहरुको अपेक्षालगायत विविध बिषयमा गल्कोट समाज जापानको एक जिम्मेवार सदस्य, गल्कोट समाजद्वारा जनवरी २ तारिखका दिन टोकियोमा आयोजित साँगीतिक कार्यक्रमको संयोजक, अघिल्लो दिन अर्थात जनवरी १ तारिखका दिन वामेली शुभकामना साँझ कार्यक्रमको पनि संयोजक मात्र नभएर आफै पनि एक होनहार लोकगायक एवं संगीतकर्मी  रहेका रामकृष्णबम मल्लसंग समुद्रपारिले गरेको अन्तरंग ।

नयाँ बर्षको उपलक्ष्यमा जापानमा फरक फरक र एउटै मितिमा विभिन्न सहरकेन्द्रित साँगीतिक कार्यक्रमहरु आयोजना गरिएका छन् । ती कार्यक्रमहरुका लागि नेपालका राष्ट्रियस्तरका विभिन्न बिधाका ख्यातीप्राप्त कलाकारहरुको आगमन हुने क्रम शुरु भईसकेको छ । स्थापित कलाकारहरुको जमघटबाट पूर्वदेखि पश्चिमसम्मका साँगीतिक आवाजहरु जापानी भूमिमा गुञ्जने भएका छन् ।

नेपाली कला क्षेत्रलाई नजिकबाट बुझ्ने प्रयासमा लागिरहेको एक कलकर्मीको नाताले नेपालबाहिर रहेका नेपालीहरुको नेपाली कला र सँस्कृतिप्रति अगाढ माया रहेको पाएको छु । औसत नेपालीसरह म पनि रोजगारीको सिलसिलामा केहि बर्षदेखि जापानमा रहँदै आएको छु । यस अवधिमा एउटा कलाक्षेत्रसंग नजिक भएको नाताले जापानमा हुने साँगीतिक तथा अन्य सामाजिक कार्यक्रमहरुमा मैले सहभागिता जनाउदैं आईरहेको छु । यसबिचमा यहाँका धेरै सँघसंस्था तथा नेपाली समुदायमा सहकार्य गर्ने अवसर पाएको छु । उक्त सिलसिलामा जापानबासी नेपालीहरुबाट नेपाली कला र सँस्कृतिप्रति दर्शाएको माया र कलाकारप्रतिको सहयोग, सद्भाव र बिश्वास अत्यन्तै उच्च रहेको पाएको छु । यसलाई मैले अत्यन्त महत्वकासाथ हेरिरहेको छु ।

सन्दर्भ नयाँ बर्ष र सो अवसरमा आयोजित कार्यक्रमहरुका लागि जापानमा धेरै कलाकारहरु आउँदै छन् । यो धेरै खुशीको कुरा हो । समयको अभावका कारण सबै कार्यक्रमहरुमा सहभागि हुन नसक्ने अवस्था छ, दुख लागिरहेको छ । जसअनुसार जनवरी १ तारिखका दिन वामी सेवा समिति जापानको कार्यक्रम वामेली शुभकामना साँझ फरक ढंगले प्रस्तुत हुन गईरहेको छ । उसो त विगतका बर्षहरुमा पनि म लगायत अन्य मित्रहरु युवराज आचार्य, अमर गुरुङ, ऋषि पौडेललगायतका कलाकारहरु मिलेर नयाँ बर्षमा साँगीतिक कार्यक्रम गर्दै आईरहेका थियौं । यो पटकको सन्दर्भमा भने वामी सेवा समितिले धेरै पहिलेदेखि कार्यक्रम गर्ने निर्णय सार्बजनिक गर्दै हामी कलाकारहरुसंग एकप्रकारको समझदारी कायम भई आएको थियो । जसअनुसार मेरै संयोजनमा साँगीतिक कार्यक्रम सम्बन्धि तैयारी भई अहिलेको चरणसम्म आईपुगेको छ । मप्रति यति ठूलो बिश्वास गरी जिम्मेवारी दिनुभएकोमा वामी सेवा समितिलाई हार्दिक धन्यबाद दिन चाहान्छु । जसअनुसार सबै तैयारी पुरा भईसकेको र कलाकारहरु पनि आईसकेको स्थिति छ ।

यसैगरी जनवरी १ तारिखका दिन नेपाल मगर संघ जापानको १७ औं लांघाली साँझ कार्यक्रम नेपालका लोकप्रिय गायक रामजी खाँड, गायिका संगिता थापा मगर र विल्सनविक्रम राई (तक्मे बुढा) को प्रस्तुतीकाबिच हुन गईरहेको छ भने २ तारिखका दिन तमु धीं जापानको ल्होसार कार्यक्रमका लागि गायक खेमराज गुरुङ र नायिका एवं खेलाडि सिपोरा गुरुङ जापान आउने भएका छन् ।  ३१ तारिख ओसाका, १ तारिख नागोया र २ तारिख टोकियोमा आयोजित गल्कोट समाज जापानको कार्यक्रमका लागि पनि चर्चित गायकद्वय बिष्णु खत्री, बसन्त थापा, गायिका टिका पुन र हास्यकलाकार जितु नेपाल (मुन्द्रे) छिट्टै जापान आईपुग्दैछन् ।

हामी चाहेर नचाहेर बिदेशमा छौं । हामी पहिले नेपाली, अनि जिल्ला र गाउँक्षेत्रका कुरा गर्छौ । यो स्वभाविक हो । हामीलाई गर्व लाग्छ, हामी नेपाली हुनुमा । त्यसैले त भनिन्छ – जननी जन्मभूमिश्च स्वर्गदपि गरियसि । आज म यो अवस्था हुनुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा गल्कोट र गल्कोटवासीको हात छ । गल्कोटेहरु बिदेशमा धेरै छौं । अझै जापानमा त गल्कोटेहरुको सँख्या ठूलो छ । सम्पूर्ण गल्कोटेहरुलाई एउटै मालामा उन्ने प्रयास गरिरहेको गल्कोट समाज जापानले खेलेको सह्रानीय भूमिका सबैको अगाडि घाम जस्तै छर्लङ्गै छ । गल्कोट समाज जापानले जापान र गल्कोट क्षेत्रमा धेरै उदाहरणीय कार्यहरु गर्दै आईरहेको छ । यो समाजको म आफु पनि एक जिम्मेवार सदस्य भएको नाताले सँस्थाले आयोजना गरेको साँगीतिक यात्रालाई सफल बनाउन मेरो तर्फबाट पनि सक्दो प्रयास भईरहेको छ । वामी सेवा समितिले अलि अगाडि नै कार्यक्रमको निधो गरिसकेको हुनाले म त्यहाँ पनि संयोजकको भूमिका निर्बाह गर्नुपर्ने भए पनि डिसेम्बर ३१ देखि जनवरी २ सम्मका गल्कोट समाजका कार्यक्रमलाई शानदाररुपमा सफल पार्न अब गल्कोट समाजको पुरै ध्यान केन्द्रित हुनु जरुरी छ । २ तारिख टोकियोमा हुन गईरहेको गल्कोट धमाकाका लागि मलाई संयोजकको भूमिका दिईएको छ । उक्त कार्यक्रम बृहत र ऐतिहासिक हुने बिश्वास लिएको छु ।

यसैबिच गल्कोट समाज जापानद्वारा जापानका तीन प्रमुख सहरहरुमा आयोजित कार्यक्रमका सम्बन्धमा केहि दिन अगाडि जापानको एउटा स्थानिय अनलाईनमा गायक श्रीकृष्णबम मल्लले कलाकार चयनका सवालमा आयोजक सँस्थाप्रति आफ्नो दुख मनाउ गर्दै दिएको अभिब्यक्तिलाई लिएर जनमानसमा अलि भ्रम पर्न गएको महशुस गरेको छु । समाजको जिम्मेवार सदस्यका हैसियतले भन्नुपर्दा गल्कोट समाज जापान हरेक कलाकारप्रति सकारात्मक छ । गल्कोट समाजले श्रीकृष्णबम मल्लको बिषयमा सकारात्मक निर्णय लिएको पनि हो । भाषागत बुझाई वा प्राविधिक त्रुटीका कारण नचाहँदा नचाहँदै पनि हामीबिच कतिपय कमीकमजोरी नभए होलान भन्न सकिन्न भन्ने मैले पनि महशुस गरेको छु । त्यसैले विगतमा जो कोहीबाट भएको भए पनि त्यस्ता कमीकमजोरीहरु पुनः दोहोरिन नदिन सबै सजग र सचेत रहँदै आपसी समझदारी, सहकार्य र गल्कोटबासीको एकतामा हामी सबैको ध्यानलाई केन्द्रित गर्दै आयोजित कार्यक्रमहरु भब्य, सभ्य र शानदाररुपमा सफल पार्नका लागि होमिएर लाग्न सबैमा हार्दिक बिनम्र अनुरोध गर्दछु । ***

तपाईको प्रतिक्रिया