बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

लोकतन्त्र प्राप्तीपछि ठूला ठूला सपना बोकेका नेपाली जनता यतिखेर दिनप्रतिदिन निराश हुँदै गईरहेका छन् । नेपाली जनताले लोकतान्त्रिक वातावरणको महसुस गर्ने अवसर प्राप्त गर्न सकेका छैनन् । एकपछि अर्को समस्याले मुलुक र मुलुकबासीहरुलाई गाँज्दै लगेको स्थिति छ । अर्कोतिर हामी नेपालीमा सम्पूर्ण समस्या समाधानको बाटो आन्दोलन मात्र हो भन्ने मानसिकता हावी हुंदै गईरहेको छ । त्यसले गर्दा लोकतन्त्रविरोधी आन्तरिक र बाहृय शक्तिको चलखेल दिनानुदिन बढ्दै गइरहेको पाईन्छ । यसबाट नेपालको लोकतन्त्र र राष्ट्रियता खतरामुक्त छैन भन्ने ठाउँ देखिदैंन ।

मुलुकमा बिद्यमान लामो संकटकालिन परिस्थितिले मुलुकको विकासलाई धेरै पछाडि धकेलिसकेको छ । अस्थिर राजनीति, राजनैतिक दलहरुबिचको आन्तरिक र बाह्य अन्तरकलह, सत्ता र शक्ति प्राप्तीको होडबाजीले नेपाली समाज र जनजीवन अस्तव्यस्त छ । ऐतिहासिक जनआन्दोलनको भावना र मर्मबाट बनेको संविधानसभा संविधान नै निर्माण नगरी अवसान हुन पुगेको स्थितिमा एकता शान्ति र विकास पनि धरापमा परेको छ । बिद्यमान गतिरोध अन्त्य गरी देशको राजनीतिक विकासक्रम अगाडि लैजाने अवस्था सिर्जना गर्न सहमतीय वातावरणको अभाव हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने स्पष्ट देखिएको छ ।

यस्तो दुर्दशापूर्ण परिस्थितिको निराकरण गर्ने काम राजनीतिका ठेकेदारहरुलाई मात्र सुम्पदा देशले निकास पाउन नसकेको यथार्थता हामीसंग छ । तसर्थ मुलुकले यतिबेला सचेत नेपालीको दवावपूर्ण भूमिकाको आवश्यकता महशुस गरिरहेको छ । जसमा अधिकारकर्मी, कानुनविद्, बुद्धिजीवी, मिडियाजगत लगायतका समग्र नागरिक समाजले मुलुकले मागेको भूमिकाका विषयमा खुलेर बहस गर्दै जनताको आवाजलाई बुलन्द गर्न आवश्यक देखिन्छ । जसले गर्दा जिम्मेवार राजनीतिक पार्टीहरुलाई सहमतिको मार्गमा हिंड्न बाध्य पार्नेछ भने मनोमालिन्य ढंगले रडाको मच्चाउने र बखेडा सिर्जना गर्नबाट रोक्न सकिने छ ।

राजनैतिक दलहरुबाट विरक्तिएका नेपाली जनताको ठूलो हिस्साले अहिले वैकल्पिक शक्ति र समुहको भूमिका खोजिरहेको छ । कुनै समयमा नेपाली जनताले ठूलो आशा गरेको नागरिक समाज अहिले लगभग मौनता साँधेर बसेको अवस्था छ । मुलुकको सचेत र जागरुक वर्ग जसले मुलुक हाँक्नेहरुलाई समेत आवश्यक खबरदारी गर्ने हैसियत राख्दछ, यतिबेला मुलुकले त्यो वर्गको भूमिका खोजेको अवस्था छ । समग्रमा भन्नुपर्दा अहिले नेपाली राजनीतिमा टड्कारो दबाबको अभाव सर्बत्र महशुस भईरहेको छ । जसको अभावमा अहिले सिंगो मुलुक र मुलुकबासीको भबिष्य शिर्षस्थ भनिएका केवल दुईचारजना नेताहरुको हातमा छ, जसले बर्षौदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाईरहेका छन् । न त उनीहरु आफै निर्णय गर्न सक्दछन् न त सक्षमका लागि मार्ग प्रशस्त गर्न तयार हुन्छन् । नेपालको राजनैतिक रंगमञ्चमा केहि बर्षदेखि निरन्तर चलिरहेको नाटक यहि हो । त्यसैले नेपाली राजनीतिमा मौलाएको यो विकृतिलाई बेलैमा उपचार गर्न पनि नेपाली जनताकै सुझबुझ एवं बुद्धिमत्तापूर्ण दबाब नै अचुक औषधी हुन सक्दछ । ***

तपाईको प्रतिक्रिया