आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

आमा दशैंमा आर्शिवाद के दिनु भयो ? जहाँ दशा दिएर दशैं मनाउँनेको भिड देखिन्छ । म त गाँस, बास र कपासकै लागि कतै भोकै रिक्सामा भारि लादेर अनि कतै थाप्लोको नाम्लो बिसाउन नपाएका नेपालीहरुको रितो निधार देख्छु सायद पसिनाले पुछियो होला उनिहरुको बिजय उत्सवको रातो टिका अनि कानको पहेलो जमरा नाम्लोले छेक्यो होला । युद्ध र आतङ्कको मारसँग बर्षौदेखि कि लास देउ कि स्वास देखाउँ भन्दै आसोच बारिरहेका नेपालीहरु कम्ती रोईरहेकाछैनन् । आमा, यो दशैं कसको लागि ? के को विजय उत्सव हो ? यो सदिऔं देखिको चिसो चुल्हो र नाङ्गो आङमा आशाको दियो बाल्दै दशा खेपिरहेका गरिब नेपाली जनताको आवाज बोकेका छौ भन्नेहरु रिसोर्ट, होटल, रेष्टुरेन्ट र आलिसान महलमा खसी, बोका, कुखुरा, हाँस, राँगा, बँगुर र बदेलको सेकुवा रोजीछाडि रेडलेवल र ब्यालकलेबलसंग हसुरेर डकार्दै संविधान र जनताको हकहितको कुरा गरेको खबर मोरक्कोमा बसेर सुन्न पाउँदा एक्लै हाँसिरहेको छु ।

यो अफ़्रिकामा अवस्थित फ्रान्सको उपनिवेश रहिसकेको मुख्यत: अरवि र फ्रान्सेली भाषा बोलीने देश रहेछ । हाम्रो जस्तै बिभिन्न स्थानमा बेग्लाबेग्लै भाषा पनि सुन्न पाईन्छ । मुस्लिम देश भएर पनि यहाँका जनताले युरोपेली संभ्यता अगालेको देखिन्छ । महिला कालो बुर्कामा हिडेको देख्न चामलको विया झैं खोज्नुपर्छ । धेरैजसो अरब मुलका धनाढ्यहरु यहाँ मनोञ्जनको लागी आउने रहेछन् । हावा पानीको हिसावमा हाम्रो पहाडी हावापानी झै यहाँ चिसो हावापानी छ । यहाँका महिलाहरु सुन्दर रहेछन् । सुन्दरताको रसपान गर्न कसलाई पो मन नलाग्ला र ? यसैले होला बिभिन्न देशबाट धनाढ्य मान्छेहरु आएर घर बनाएर बस्दै सुन्दरताको रसपान गरिरहेछन् । यहाँ बिदेशीले जग्गा किनेर आफ्नो घर बनाएर बस्न दिइनेरहेछ । यहाँको मुख्य खेती गहुं रहेछ । फलफूलमा अंगुर, अनार र जैतुनको खेती नै गरेको देख्न पाईन्छ । यहाँको खानामा पाउरोटी मुख्य रहेछ । हाम्रो गाउँघरमा झै यहाँ पनि कतै कतै पशुपालन छ । गाई र भेडा यहाँका मुख्य पशुपालनमा पर्छन । यहाँ पनि नेपालमा जस्तै मजदुरी गर्ने गरिवहरु रहेछन् । एटलान्टीक महासागरसँग जोडीएको देश समुद्रको मनोहर छालमा अवस्थित राजधानी रावतमा छालाका राम्रा राम्रा झोला, ज्याकेट, जुत्ता, पेटी, पर्स र अन्य सामानहरु किन्न पाईन्छ । यो देशले महिला सुन्दरतापछि छालाको सामानमा नाम कहलाएको रहेछ । सुख्खा पहाडसंग अवस्थित उराठिलो मरुभूमिको टाटाउ भन्ने स्थानमा जाँदा त्यहाँको जहाजग्राउण्ड अनि पिच बाटो देख्दा सरकारले चाह्यो भने के हुने रहेनछ र जस्तो लाग्यो । यहाँ हरेक पहाडीवस्ती वस्तीमा पिचबाटो र बिजुलीबत्ति पुगेको छ । मैले मोरक्कोको राजधानी रावतबाट एक घण्टाको बस यात्रामा पुगिने अनअउदा गाउँको ताल र पहाडसंग खेल्ने सौभाग्य पाएँ । यहाँ पनि केहि बर्ष अघिसम्म राजाको शासन रहेछ । जनताले प्रजातन्त्र मागेको बखत रगतको खोला नबगाई यहाँको राजाले शासन सत्ता जनतालाई सुम्पेको भएर होला यहाँका जनताले राजालाई सम्मान गर्ने रहेछन् । माया गर्ने रहेछन् ।

हाम्रो देशमा राजालाई त के आमा हजुरलाई माया गर्ने सन्तान देख्न पाईन सायद म पनि सपूत हुन सकिन । भएको भए यो दशैंमा ति चिसो चुल्होमा म न्यानो आगो बाल्ने थिए होला । वस्तीका झुप्रोहरुबाट पनि चुल्लो जलेको धुवा निक्लदों हो । आफ्नै बाझो बारी जोतेर कृषीक्रान्ति भित्राउथें होला । सुनेको छु , रसिया, जापान लगायत अन्य मुलुकमा बस्ने र काम गर्ने अग्रजहरुले नेपालको बिकासमा हात हाल्न थाल्नुभएको छ रे, गरिवी निवाकरणमा जोड दिनुभएको छ रे यस्तो भएकै हो भने आमा बिदेशिएका सच्चा सपूतहरुलाई बाह्य मात्र होइन सत्तामै बसेर पनि काम गर्ने मौका दिनुपर्छ होला । आमा नेपालीको सपना टुटेर आशा मरेको धेरै भयो । मैले सपना देखें । त्यसलाई पुरा गर्न बिदेश आएँ । तर अरुले जस्तो सपना बाँडेर धोका दिएको छैन । सहिदको रगतमा होली खेलेको छैन । आमा यहाँ हाम्रो घरमा जस्तो चेलीबेटीको कपडा च्यातिदैन । उनीहरुको इच्छाले खोलिन्छ । आमाको बलात्कार गर्न बिदेशी गुहाररिदैन । यहाँ आमाको अगं अगं काट्न आफ्नै सन्तान लालहित छैनन् । आमा यहाँ जसले जे बेचे पनि उसको अधिकार भित्र रहेर उसकै भाउँमा बेचिन्छ । नाम जे दिए पनि दाम उसको हातमा पर्छ । उसको भविष्यको सहारा बन्छ । हाम्रो जस्तो पुरुषले मूल्य तोक्दैनन् । पुरुषले मूल्य कुम्लाएर महिलाहरुलाई नरकमा धकेल्दैनन् । जुन हिजो बम्बै सम्म पुराईन्थ्यो अहिले गल्फ सम्म धकेलिएको छ जसमा केटी खोज्ने अनपढ गाँउलेदेखि एयरपोर्ट छिराउने उच्चपद शिक्षित कर्मचारी समेत सामेल भईरेहेकाछन् । अहिले आएर यो पेशा हाम्रो आफ्नै शहर शहरमा उच्चपदस्थ पहुचवालाको छत्रछायाँमा फैलाइएको छ तर नेपाली चेलीहरुले उचित मूल्य त के आफ्नै अधिकार र इच्छामा आफ्नो बस्त्र खोल्न र लाउँन पाउदैनन् । हज्जारौं नेपाली जनताले रगत बगाएर ल्याएको सविधान यत्रो बर्ष बित्दा सम्म दिन नसक्नेहरुले के नारी अधिकार र यो सभ्यताको देखासिकी गर्लान ?

आमा म विश्वसामु नझुकेको सन्तान कसरी भन्न सक्छु ? अदृष्यमा अरुको ईशारामा चलिरहेछु । म बिदेशमा आफ्नो सपना पुरा गर्न साहुको ईशारामा चले तर घरमा त सपना टुटाउन दाजुहरु बिदेशी ईशारामा पालै पालो सत्ता हाकिरहेकाछन् । सत्तामा काले गोरे जुन दाई गए पनि नेपाली हुन् र हामीलाई संविधान चाहिएको हो बिडम्वना यिनमा त सत्ता र भत्ताको होडबाजी चलिरहेछ । मोरक्कोमा पनि राजाको शासन थियो । जहाँ साधारण क्रान्तिमा बिना रक्तपात शान्ति आयो । हाम्रो देशमा भएको शान्ति पनि गयो । म घर आएर पनि आफ्नै गाउँमा रातबिरात के एक्लै दिउँसो हिड्न पाउँदिन । घरपरिवार छोडेर, यौवनमा जलेर, पसिना पोखेर कमाएको धन सपना टुटाउँदै यिनै दाईका भरौटेहरुलाई चन्दा दिनु पर्छ । नत्र अलविदा भन्छन् । देख्दा देख्दै यो कस्तो दिन आयो ? नेपाल बुद्ध जन्मेको देश म कसरी भन्न सक्छु जहाँ हरपल हत्या, लुट, बलत्कार र आतङ्क आफ्नै दाजुहरुले पालैपालो मच्चाईरहेकाछन् । अरु कसैले होइन सत्ता र भत्ता खाएका दाईहरुले अदृष्यमा रहेर यो सबै गरिरहेकाछन् । यसैले तै चुप मै चुप बसिरहेछन् । आमा, धेरै बर्ष भयो । शान्ति हराई । विश्वास मरयो । माया घरमा छैन । हज्जारौं नेपालीको रगतमा होली खेल्दै हाम्रा दाईहरु, यो के को बिजय उत्सवमा रिसोर्ट, होटल, रेष्टुराँ र महलमा बसेर दशैं मनाईरहेकाछन् । आमा, कृपया एक पल्ट सोधि दिनु न । के को बिजय उत्सवमा दशैं मनाईरहेछन् ।

तपाईको प्रतिक्रिया