नेपालगन्ज- विभिन्न समयमा कृषि मन्त्री भएकाहरूको यतिखेर कसरी दिनचर्या बितिरहेको होला? २०५२ सालमा कृषि मन्त्री भएका प्रेमबहादुर भण्डारी भने यतिखेर किसान नै भएर व्यवसायिक माछापालन गरिरहेका छन्। बाँकेको कचनापुर- ३ मा माछापालनमा पसिना बगाइरहेका भण्डारीले दुई वर्ष यता मासिक कम्तीमा दुई क्विन्टल माछा बेच्ने गरेका छन्।
माछापालनबाट राम्रो आम्दानी गरेपछि दसैंपछि माछापालनलाई अझै विस्तार गर्ने उनको योजना छ। माछा पालन सुरु गरेको पहिलो वर्ष ५ र गत वर्ष १६ क्विन्टल माछा बेचेको थिएँ,’ भण्डारीले भने, ‘यो वर्ष पोखरीमा निकाल्न धेरै माछा छन्।’ उनका अनुसार यतिखेर महिनामा सरदर दुई क्विन्टल माछा बिक्री भइरहेका छन्।
उनका साथीहरूले गाउँमा किन बसिरहेको भनेर पटक पटक गाली गर्छन्। कतिपयले सहरमा बस्दा हुने फाइदाको बारेमा सम्झाइरहेका हुन्छन्। तर भण्डारीलाई यस्ता कुराले कुनै प्रभाव पारेको छैन। ‘राजनीतिमा धेरै पसिना बगाइयो,’ अब कृषिका लागि पसिना बगाउँदैछु,’ उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट २०५२ मा कृषि मन्त्री भएका भण्डारी यतिखेर राजनीतिमा पनि सक्रिय छन्। हाल उनी राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको सहमहामन्त्री छन्। पार्टीले दिएको जिम्मेवारीबाहेक कृषिमा लाग्न पाउँदा आन्नद आइरहेको उनी बताउँछन्।
‘आफ्नो समाजलाई कसरी योगदान दिन सकिएला भन्ने सोच्दा सोच्चै कृषि उपयुक्त ठानेँ,’ उनले भने, ‘समाजले पनि केही सिकोस् भन्ने चाहना छ।’ उनको अनुभवमा माछा पालेको सोही जग्गामा धान खेती गर्दा खान पुग्ने अनाज मात्र उत्पदान हुन्थ्यो भण्डारीले भने, ‘सोही जग्गामा माछा पाल्दा १० गुणा बढी आम्दानी भइरहेको छ।’
माछापालनमा करिब २५ लाख लगानी गरी सकेका भण्डारीले दसैंपछि माछापालनमा विस्तार गरी ४०-५० लाखसम्म लगानी गर्ने योजना बनाएका छन्। रौं, नैनै, कमनग्रास जातका माछा पालेका उनलाई बिक्रीको समस्या छैन। ‘माछा किन्ने व्यापारी र स्थानीय गाउँमै आउँछन्,’ उनले भने।
सुरुका वर्ष भण्डारीले कुखुरा पनि पालन गरेका थिए। तर कुखुरालाई बचाउन गाह्ो भएपछि यतिखेर उनी माछामा केन्द्रित भएका छन्। ‘जाडो र गर्मीमा कुखुरालाई बचाउन समस्या पर्योख उनले भने, ‘माछालाई भने कुनै समस्या छैन।’
‘तीन वर्ष अघि दुई हेक्टरमा माछापालन सुरु गरेका भण्डारीले यतिखेर १० विघामा माछापालन गरिरहेका छन्। माछापालनबाट उनले मात्र कमाइरहेका छैनन्। उनले दुई जनालाई रोजगारी पनि दिएका छन्। ‘त्यो भन्दा ठूलो कुरा गाउँका उपभोक्ताले शुद्ध र सस्तो मूल्यमा माछा खान पाएका छन्,’ भण्डारीले खुशी व्यक्त गरे।
२०५२ देखि २०५४ सम्म कृषिबाहेक विज्ञान र प्रविधि तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका भण्डारीले अन्य क्षेत्रको भन्दा कृषिबाटै राम्रो गर्न सकिने भएका कारण माछापालनमा लागेको बताए। पूर्व मन्त्री व्यवसायिक रूपमा माछा र कुखुरा पालनमा लागेपछि यतिखेर छिमेकीले पनि साथ दिएका छन्। ‘मैले माछा पालनलाई विस्तार गर्न थालेपछि मेरो जमिन आसपासमा रहेका कृषकहरूले पनि सँगै माछापालन गर्न राजी भए उनले भने, ‘अर्को वर्षसम्म अझै माछापालन कृषक थपिने सम्भावना छ।’
लामो समयसम्म राजनीति गर्दा कृषिलाई पेशा बनाउन नसकेका भण्डारी र उनको समूहलाई व्यवसायिक माछापालन गर्न सुरुको वर्ष जिल्ला कृषि विकास कार्यालयले ५ लाख रूपैयाँ सहयोग गरेको थियो। ‘माछापालनमा निकै चासो देखाएका कारण ५ लाख रूपैयाँ सहयोग गरेको जिल्ला कृषि विकास कार्यालयका एक अधिकृतले बताए।
भण्डारी मन्त्री हुनु अघि तत्कालिन प्रतिनिधि सभाका सदस्य र २०४० देखि ५ वर्षसम्म जिल्ला विकास समितिका सभापति थिए। राजनीतिमा सक्रिय रहँदा नै कृषि खेती गर्ने चाहना थियो उनले भने, ‘त्यत्तिबेला गर्न नपाएको काम थाल्दा अहिले निकै रमाइलो भइरहेको छ।’ कृषि मन्त्री हुँदा कृषि खेतीबारेे चासो लिएर धेरै कुरा सिकेको उनले बताए। गाउँ छाडेर सहरमा आउन आग्रह गर्नेलाई भण्डारीले हिजो गाउँबाटै राजनीति गर्नेले आज गाउँ छोडनु हुँदैन भनेर जवाफ दिने गरेका छन्।