दैलेख- अन्तरजातीय विवाहित जोडी सुरक्षा खोज्दै सदरमुकाम आइपुगेको छ । एक महिनाअघि अन्तरजातीय विवाह गरेका खरीगैरा–१ का वासुदेव दमाई र नारायण नगरपालिका–६ की सीता खत्री सुरक्षाको माग गर्दै सदरमुकामस्थित अधिकारवादी संस्था, सुरक्षा निकायमा धाइरहेका हुन् । विवाह गरेको एक महिनापछि माइती पक्षबाट धम्की आएको भन्दै सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा जोडीले सुरक्षाका लागि निवेदन दिएका छन् । भाइले माथिल्लो जातकी छोरी विवाह गरेपछि धम्की दिन थालेकाले सुरक्षाका लागि सदरमुकाम आउनुपरेको वासुदेवका दाइ पूर्णबहादुर दमाईले बताए ।
केटाकेटीको मन मिलेकाले उनीहरूले विवाह गरे । विवाह भइसकेपछि धम्की दिनु ठीक नभएको दलित अधिकारकर्मी प्रेम भुर्तेलले बताए । दुई परिवारबीचको सम्बन्ध कसरी समधूर बनाउने भनेर छलफल चलाइरहेका छौँ,’ उनले भने ।
विवाह भइसकेकाले केही गर्न नमिल्ने भए पनि बहिनीको जिउमा तलमाथि हुने डर रहेको दिदी गीता खत्रीले बताइन् । छोरीले कथित तल्लो जातका केटासँग विवाह गरेको भन्दै अबका दिनबाट छोरीसँग कुनै सम्बन्ध नहुने भन्दै माइती पक्षले गहना फिर्ता मागेपछि विवाद बढेको हो । ‘तीन दिनभित्र गहना दिने भनेका थियौँ तर नदिएपछि विवाद बढेको हो,’ दाइ पूर्णबहादुरले भने । माइती र घर दुवै पक्षलाई बोलाएर छलफल गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्र सुवेदीले बताए । ‘सुरक्षा पाउँm भनेर निवेदन दिएका कारण हाम्रो निगरानीमा छन्,’ उनले भने ।