धनगढी – दसैं र तिहारको बेला भारतको विभिन्न सहरमा काम गरेर घर फर्कने नेपाली बाटोमै लुटिएर बिचल्लीमा पर्ने गरेका छन् । भारतको विभिन्न सहरमा काम गरेर घर फर्कने क्रममा नेपाली कामदार दिल्लीदेखि नेपाल सीमा प्रवेश नगरेसम्म असुरक्षित रहने गरेका छन् । ‘मुर्म्बईमा काम गरेर घर फर्कन लागेका चार/पाँच जना नेपाली, दिल्ली बसपार्कमै लुटएका छन्,’ दसैं मान्न घर फर्केका अर्जुन सावदले भने, ‘लुटिएपछि उनीहरू उतै मुर्म्बई फर्की अरू नेपालीसँग भाडा माग्दै थिए ।’
‘दिल्ली बसपार्कमा जोगिन सके पनि बस वा रेलभित्र अझ खतरा हुने गरेको छ,’ अछाम कै हर्क धामीले भने, ‘बसमा लुटिएर बिचल्लीमा परेका नेपाली पनि भेटिए ।’ उनका अनुसार नेपाली भएको नाताले नजिकिने र मौका पाउनासाथ नशालु पदार्थ सुघाएर बेहोस पारी लुटपाट गरेको छ । उनले खाना वा चियानास्ताका लागि बस रोकिएको बेला नजकिएको नेपाली भाषा बोल्ने अपरिचित व्यक्तिले बोलाएर एकान्तमा लगि धारिलो हतियार देखाएर थुप्रै नेपाली लुटिएको बताए ।
करिब १५ वर्षेखि भारतमा काम गर्ने धामीले यसपालि भने लुटिनबाट जोगिएको बताए । ‘पहिले म पनि लुटिएको छु,’ उनले भने, ‘पन्ध्र वर्ष भयो भारतमा काम गर्न लागेको यस अवधिमा घर फर्कंदा आठ/दस चोटी लुटिएँ ।’ तर पछिल्ला वर्षा अति नै चनाखो भई यात्रा गर्ने भएकाले जोगिने गरेको उनले बताए । खाना तथा नास्ता गराउने ठाउँमा होटलवाला समेत लुटेरासँग मिल्ने गरेको उनले जनाए ।
‘बाटोभरि लुटेराको डर हुन्छ,’ अछामकै बैचाडाका नरबहादुर बोहराले भने, ‘सीमामा पुगिसक्दा भारतीय भन्सारकर्मी र प्रहरीको सास्ती खेप्नु पर्छ ।’ उनले गौरीफन्टा भन्सारमा भारतीय प्रहरीले पाँच सयको नोटका विषयमा निकै सताएको बताए । ‘नक्कली हो भन्दै पाँच सयका पाँच नोट थुतेर राख्यो र धेरै बेरपछि नेपालीमा सटही गरेर ल्याए,’ उनले भने । नक्कली भनेपछि नेपाली नोटसँग साटेर भारु आफैं लैजाने आफूले भारतीय प्रहरीको व्यवहार बुझ्न नसकेको उनले बताए । भारतीय रुपैयाँको अवैध कारोबार गर्ने समूहद्वारा भारतीय प्रहरीबाट भारतीय रुपैयाँ लिने र नेपाली नोट दिने काम भारतको भन्सारमा हुने गरेको रहेछ ।