स्व. बोहोराका दुई सन्तानका लागि शिक्षादिक्षाको जिंम्मा
टोकियो – गल्कोट समाज जापानले हालै नागोयामा सम्पन्न प्रथम पूर्ण बैठकले पारित गरेको निर्णय बमोजिम सँस्थाको भावी कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
हालै दिवंगत भएका गल्कोटबासी श्यामबहादुर बोहोराको मृतात्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारणबाट शुरु भएको समाजका अध्यक्ष मोहन खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको समाजको भावी योजना तथा कार्यक्रम आजै एक बिज्ञप्ती प्रकाशित गरी सार्बजनिक गरिएको हो ।
समाजको तर्फबाट अध्यक्ष मोहन खत्रीद्वारा प्रेषित बिज्ञप्तीकाअनुसार स्व. श्याम बोहोराको बच्चाहरुको पालनपोषण र शिक्षादिक्षाका लागि फेसबुक अभियानबाट संकलित रकम जापानी येन १२३,२५२३, अध्यक्ष मोहन खत्रीबाट घोषित रकम नेपाली रु ३ लाख र अन्य मुलुकबाट संकलित रकम रु. ९५ हजार गरी सबै एकमुष्ट रकम अर्को महिना नेपालमा एक सार्बजनिक समारोहको आयोजना गरी सँस्थाको तर्फबाट हस्तान्तरण गरिने भएको छ । उक्त रकम हस्तान्तरणका लागि अध्यक्ष मोहन खत्रीलाई जिम्मा दिईएको छ ।
बिज्ञप्तीकाअनुसार स्व. बोहोराका दुई बच्चाको नाममा संकलित रकमबाट हाल उनीहरु अध्ययन गरीरहेका बिद्यालयमा पढाई खर्चका लागि जनही ३ लाखको दरले ६ लाख रुपैंया एकमुष्ट जम्मा गर्ने र सो मुलधनको ब्याजबाट निज दुई बच्चाहरुको कक्षा १० सम्मको सम्पूर्ण पढाई शुल्कसहित पोशाक, शैक्षिक सामाग्रीको ब्यवस्था गर्ने सम्बन्धित बिद्यालयसंग सम्झौता गरिएको छ । त्यसबाहेकको बाँकी रकम भने बच्चाहरु १८ बर्ष उमेर नपुगेसम्म खर्चिन नपाउने गरी उनीहरुको नाममा बैंकमा खाता खोली राख्ने प्रबन्ध मिलाईएको छ । उक्त अभियानमा सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरिएको छ ।
यसैगरी गल्कोट समाज जापानले आगामी नयाँ बर्ष २०१३ को अवसरमा नेपालबाट ३ जना ख्यातीप्राप्त कलाकारहरु आमन्त्रण गरी डिसेम्बर ३१ मा टोकियो, जनवरी १ मा नागोया र जनवरी २ मा ओसाकामा भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यसैगरी बिज्ञप्तीकाअनुसार गल्कोट समाज जापानको बिभिन्न क्षेत्रहरुमा यथाशक्य छिटो क्षेत्रिय समितिहरु गठन गरिने छ । जसअनुसार कान्तो (टोकियो) मा नरबहादुर थापा, क्युशुमा टंक गैरे, तोकाई क्षेत्रका लागि दिपक केसी, कान्साई (ओसाका) क्षेत्रको लागि हर्क थापालाई जिम्मा दिईएको छ भने अन्य देशहरुमा पनि गल्कोट समाजको बिस्तार गर्नका लागि पहल गरिने बताईएको छ । ***