काठमाडौं- राजधानीका टोलटोलमा खुलेका गेस्टहाउस र डान्स रेस्टुरेन्टहरूमा व्यावसायिक रूपमा यौन व्यवसाय फस्टाएको छ । कतिपय स्थानमा घर भाडामा लिएरसमेत यौन व्यवसाय सञ्चालन हुने गरेको छ । राजधानीका मुख्य क्षेत्रमा सञ्चालित गेस्टहाउस र होटलमा छापा मारी यौनव्यवसाय चलाएको आरोपमा प्रहरीले एकसातामा सयभन्दा बढीलाई पक्राउ गरेको छ । शनिबार मात्र प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा सञ्चालित १३ गेस्टहाउस र एउटा घरमा मारी हानी शनिबार २३ जोडीसहित सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार शनिबार ठमेल, सुन्धारा, बागबजार, बालाजु, रातोपुल तथा कलंकी क्षेत्रमा सञ्चालित होटल तथा गेस्टहाउसमा छापा मारिएको हो । सामुदायिक प्रहरी र महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालित प्रहरीले ती क्षेत्रमा छापा हानी सञ्चालक र यौनधन्दामा संलग्न युवतीलाई पक्राउ गरेेको हो । ‘होटल र गेस्टहाउसमा व्यापक यौनधन्दा चल्ने गरको देखियो,’ एसएसपी चन्दले बताए ।
शनिबार पक्राउ पर्नेमा बागबजारको पूर्वेली गेस्टहाउसका सञ्चालक भोजपुरका अशोक राई, भक्तपुरका कृष्ण खत्री र इलामकी रमा खड्का छन् । त्यस्तै बागबजारकै प्रतिमा गेस्टहाउसबाट सञ्चालक सन्तोष गिरी तथा कर्मचारीहरू दिवस राई र अञ्जु विष्ट छन् ।
सुन्धाराका हिमाली छाया गेस्टहाउस, सनफ्लावर गेस्टहाउस र एक घरमा प्रहरीले छापा हानेको छ । हिमाली छाया गेस्टहाउसका सञ्चालक ललितपुरका छकबहादुर गुरुङ, कर्मचारी कलंकीका रामचन्द्र केसी, खोटाङका गंगा खड्का, नुवाकोटका हरि न्यौपाने, जोरपाटीका मधु जिरेल, ओखलढुंगाका मोहन श्रेष्ठ, सुनसरीका निलन राई छन् । त्यस्तै सोही गेस्टहाउसबाट ललितपुरका विजयभक्त श्रेष्ठ, ललितपुरका अनिल श्रेष्ठसहित दुई युवती पक्राउ परेका छन् ।
त्यस्तै प्रहरीले सनफ्लावर गेस्टहाउसमा पनि छापा मारी सञ्चालक नारायणराज शर्मालाई पक्राउ गरेको छ । सो होटलबाट सुर्खेतका दक्ष ठकुृरीसहित दुई युवती पनि समातिएका छन् ।
भक्तपुरका राजु छुस्या बागले पनि बागबजारमै घर भाडामा लिई यौनधन्दा चलाउँदै आएका थिए । उनले भाडामा लिएको घरमा छापा मारी प्रहरीले चार युवतीलाई पक्राउ गरेको छ । भक्तपुरका सुरेश परियारले गौशालामा सञ्चालन गरेको सारस गेस्टहाउसबाट पनि सञ्चालकसहित दुईजना समातिएका छन् । गौसालाकै रवि गेस्टहाउसमा छापा मारी प्रहरीले मकवानपुरका मनोज ढोडारी, बझाङका दिलीपराज जोशीसहित दुई युवतीलाई पक्राउ गरेको छ ।
कलंकीको एकान्त गेस्टहाउस र अन्नपूर्ण गेस्टहाउसमा पनि यौनधन्दा सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । एकान्त गेस्टहाउसबाट सञ्चालक देवीबहादुर राईसहित, धादिङका कृष्ण पाठकसहित एक युवती, अन्नपूर्ण गेस्टहाउसबाट नवलपरासीका जिमी गुरुङ, सोनाम देवेसहित चार युवती पक्राउ परेका छन् ।
प्रहरीले बालाजुको बद्रीनाथ गेस्टहाउस, आस्था मोक्तान गेस्टहाउस तथा स्वागतम् गेस्टहाउसबाट पनि प्रहरीले जोडीलाई पक्राउ गरेको छ । यस्तै, ठमेलको होटल कैलाश र कोहिनुर गेस्टहाउसबाट पनि जोडी समातिएका छन् । उनीहरूलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने काठमाडौं प्रहरी प्रमुख एसएसपी चन्दले बताए ।