काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी)का निलम्बित अध्यक्ष मोहमद बिन हमामबाट अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले एक लाख अमेरिकी डलर लिएको खुलासा भएको छ । गणेशका छोरा गौरवको व्यक्तिगत खातामा हमामले एक लाख डलर राखेको शनिबार अन्तर्राष्ट्रिय समाचार संस्था एपीले सार्वजनिक गरेको हो । गौरव मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्य कार्यालयमा कार्यरत छन् ।
एएफसीको अन्तर्राष्ट्रिय एकाउन्टिङ र्फम प्राइसवाटरहाउस कुपर्स (पिडब्लुसी)ले तयार पारेको लेखापरीक्षण प्रतिवेदनका आधारमा हमामले आफूनिकट विभिन्न व्यक्तिको खातामा रकम राखेको खुलेको एपीले जनाएको छ । हमामले दक्षिण एसियामा सबैभन्दा बढी रकम गौरवको खातामा राखेको एपीको दाबी छ । पिडब्लुसी प्रतिवेदनमा गौरवको खातामा नेपाली फुटबल विकासका लागि एक लाख डलर जम्मा गरेको उल्लेख छ ।
एएफसीमा आफ्नो हालीमुहाली र अध्यक्ष पद बलियो बनाउन हमामले फिलिपिन्स, नेपाल, बंगलादेश तथा इस्ट टिमोरलाई लाखौँ डलर उपलब्ध गराएको पनि एपीले उल्लेख गरेको छ । समाचारमा भनिएको छ, ‘हमामले एएफसीको खातालाई निजी रूपमा प्रयोग गरेको देखिन्छ ।’ फिफा चुनावमा सेप ब्लाटरको प्रत्याशी बन्दा हमामको पक्षमा एन्फा अध्यक्ष थापाले समर्थन गरेका थिए ।
सन् २००२ देखि २०११ सम्म एएफसी अध्यक्षका रूपमा काम गर्दा हमामले व्यक्तिगत सम्बन्धका आधारमा बाँडेको रकमको सबै लिखत नराखेको एपीले जनाएको छ । अघिल्लो साता एएफसीले वाषिर्क लेखापरीक्षण गर्न हमामलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।
गत वर्ष फिफा अध्यक्ष चुनावमा हमामले आफ्नो पक्षमा लबिङ गर्दै क्यारिबियन राष्ट्र टि्रनिडाड एन्ड टोबाकोलाई ४० हजार डलर तथा बहुमूल्य सामान दिएको खुलेपछि उनलाई अन्तर्राष्ट्रिय फुटबलमा आजीवन प्रतिबन्ध लगाइएको थियो । एक वर्षपछि विश्व खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ आर्बिट्रेसन फर स्पोट्र्स (सिएएस)ले हमामविरुद्धको मुद्दामा आवश्यक प्रमाण पूरा नभएको उल्लेख गर्दै गत बिहीबार मात्रै उनको प्रतिबन्ध फुकुवा गरेको थियो । पिडब्लुसीको प्रतिवेदन सार्वजनिक भएपछि हमाम पुनः शंकाको घेरामा परेका छन् । यससँगै सिएएसको फैसलासमेत उल्टन सक्ने अनुमान एपीले गरेको छ ।
को हुन् गौरव ?
एएफसीका उपाध्यक्षसमेत रहेका एन्फा अध्यक्ष थापाका छोरा गौरव एएफसीको ‘हेड अफ युथ कम्पिटिसन’ विभागमा अधिकृत तहमा कार्यरत छन् । सन् २००७ मा गौरव एएफसीका अधिकृत बनेका थिए । हाल उनी आसन्न लन्डन ओलम्पिकमा विशेष जिम्मेवारीसहित बेलायतमा छन् । गौरव १४ जुलाईमा लन्डन गएका थिए । उनी १६ अगस्टसम्म लन्डनबाट र्फकनेछन् ।
एएफसीको जागिरे हुनुअगाडि गौरवले जावलाखेल युथ क्लबबाट अन्तिमपटक ०६३ को सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता खेलेका थिए । त्यसवेला जावलाखेललाई सुपर सिक्समा पुर्याउन उनले संकटाविरुद्धको अन्तिम खेलमा पाँच गोलसमेत गरेका थिए ।
सापटी मागेको थिएँ, चुक्ता गरिसकेँ : गणेश थापा
एन्फा अध्यक्ष गणेश थापाले छोरा गौरवको खातामा हमामले एक लाख डलर जम्मा गरेको स्विकारेका छन् । तर, त्यो नेपालको फुटबल विकासका लागि नभएर व्यक्तिगत कामका लागि हमामसँग आफूले सापटी लिएको र चुक्तासमेत गरेको थापाले दाबी गरे ।
‘हमामले गौरवको खातामा एक लाख डलर राखेका थिए, तर त्यो घरायशी तथा व्यक्तिगत कारण मैले उनीसँग सापटीका रूपमा लिएको थिएँ,’ एएफसीका उपाध्यक्षसमेत रहेका थापाले शनिबार नयाँ पत्रिकासँग भने, ‘नेपाली फुटबलको विकासका लागि भनेर मैले हमामसँग रुपैयाँ लिएको पटक्कै होइन । एएफसी र नेपालबीच लेनदेनको कुरै छैन ।’
जुलाई २००९ मा हमामले गौरवको खातामा पैसा जम्मा गरेको थापाले बताए । तर, आफूले हमामलाई पटक-पटक गरी सापटी सबै रकम एक वर्षअघि नै चुक्ता गरिसकेको उनले दाबी गरे ।
‘हमामसँग सापटी लिएको रुपैयाँ चुक्ता भइसक्यो,’ पिडब्लुसीको ५६ पेजको प्रतिवेदन आफूसँग पनि रहेको उल्लेख गर्दै थापाले भने, ‘प्रतिवेदनको ५० पेजको २३३ दफामा हमामले व्यक्तिगत रूपमा गौरवको खातामा डलर जम्मा गराएको उल्लेख छ ।’ तर, पिडब्लुसी प्रतिवेदनमा एएफसीका अधिकृत गौरवको खातामा नेपाली फुटबल विकासका लागि एक लाख डलर जम्मा गरेको एपीले जनाएको छ ।
हमामले क-कसलाई रकम बाँडे ?
एएफसीका निलम्बित अध्यक्ष हमामले आफ्नो ११ वर्षे कार्यकालमा परिवार, थुप्रै पदाधिकारी र विभिन्न देशका फुटबल संघलाई पाँच हजारदेखि लाखौँ डलरसम्म बाँडेको एपीले खुलासा गरेको छ । हमामले एकपटक सात लाख डलर एएफसीको बैंक खाताबाट झिकेका छन् । तर, सबै विवरण देखाएका छैनन् ।
हमामले एएफसीको खाताबाटै रकम झिकेर आफ्नी श्रीमतीलाई एक लाख डलर नगद र बुल्गेरियाबाट दश हजार डलर मूल्यको घडी उपहार दिएका छन् । उनले छोरीलाई पनि कस्मेटिक सामान किन्न एएफसीकै खाताबाट पाँच हजार डलर दिएका छन् ।
तत्कालीन फिफा उपाध्यक्ष ज्याक वेर्नरलाई दुई लाख ५० हजार डलर दिएको पिडब्लुसी प्रतिवेदनमा उल्लेख छ । ‘एएफसीको खातालाई हमामले निजी खाताका रूपमा प्रयोग गरेका रहेछन्,’ पिडब्लुसीको प्रतिवेदन उद्धृत गर्दै एपीले लेखेको छ, ‘फुटबलसँग असम्बन्धित व्यक्तिलाई समेत खुसी पार्न उनले रकम दिएको खुलेको छ ।’
यससैगरी, फिलिपिन्स फुटबल संघका जोसे मारी मार्टिनेजलाई दुईपटक हमामले सहयोग गरेका छन् । हमामले एकपटक ६० हजार डलर तथा औषधि उपचारका लागि मार्टिनेजलाई ११ हजार दुई सय २६ हजार डलर दिएका थिए । एसियाकै कमजोर फुटबल राष्ट्रका रूपमा चिनिने इस्ट टिमोरका अफिसियल प|mान्सिस्को काल्बुडी लेयलाई ५० हजार डलर उपलब्ध गराएको पिडब्लुसी प्रतिवेदनमा उल्लेख छ । बंगलादेश फुटबल संघका प्रवक्तालाई ट्युसन फीका नाममा २५ हजार र क्यान्सर उपचारका नाममा २० हजार गरी ४५ हजार डलर एएफसीकै खाताबाट दिइएको एपीले जनाएको छ ।
फिफा अध्यक्ष सेप ब्लाटरसँग नजिक रहेका वेला उनलाई खुसी पार्न हमामले १४ वटा टिसर्ट बनाउन दुई हजार डलर खर्चेको पनि प्रतिवेदनमा छ । साथै, सिएएफका अध्यक्ष इसा हयाटोउलाई हमामले पाँच हजार डलरबराबरको आकर्षक सुट उपहार दिएका थिए । अलबराका इन्भेस्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी तथा अन्तर्राष्ट्रिय खेलकुद इभेन्ट कम्पनीलाई पनि हमामले १० लाख ४० हजार डलर उपलब्ध गराएको पिडब्लुसीमा उल्लेख छ ।
‘हमामले एसियाली फुटबल महासंघलाई पारिवारिक व्यापारका रूपमा चलाएको देखिन्छ,’ पिडब्लुसी उद्धृत गरेको एपीको समाचारमा भनिएको छ, ‘हमामले हजारौँ डलर छोराको हनिमुन, दाँत बनाउन र परिवारलाई नगद भुक्तान गर्न प्रयोग गरे ।’
पिडब्लुसीबारे हमामले एपीलाई कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी वकिल इगुयन क्लाउडीले यसलाई फिफाले चालेको षडयन्त्र भएको दाबी गरेका छन् ।