काठमाडौं – नेपालबाट फ्रान्स उडेका पूर्वराजा ज्ञानेन्द्र बेलायत गएर महारानी एलिजाबेथ द्वितीयालाई भेट्ने योजनामा छन् । हाल फ्रान्सतिर घुम्दै गरेका पूर्वराजा महारानीको समय पाए बेलायत जानेछन्, अन्यथा फ्रान्स नजिकका केही देश घुमेर दुई सातापछि फ़र्कने छन् ।
हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा भाग लिन भन्दै फ्रान्स पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानीलाई भेट्ने समय पाउन प्रयास गरिरहेका छन् । बेलायती महारानीको स्वास्थ्य ठीक नभएको भन्दै उनका प्रतिनिधिहरूले ज्ञानेन्द्रलाई भेट निश्चित गरेका छैनन् । तर, महारानी एलिजाबेथ बिरामी भएको खबर बेलायत र संसारभरका कुनै पनि मिडियामा आएको छैन ।
पूर्वराजा फ्रान्समै रहेका वेला बेलायतकी महारानी एलिजाबेथका एक प्रतिनिधि र पूर्वराजा शाहबीच भेटवार्ता भएको स्रोतको भनाइ छ । नेपालका पूर्वराजालाई भेट्न बेलायती महारानीका प्रतिनिधि फ्रान्स पुगेका छन् । शुक्रबार पूर्वराजा बसेको रिज होटेलमा उनीहरूबीच भेट भएको छ । तर, ज्ञानेन्द्रको बेलायत भ्रमण अनिश्चित छ ।
यसपटक पूर्वराजाको युरोप भ्रमणको उद्देश्य युरोपियन मुलुकका अधिकारीसँगको भेट रहेको बताइएको छ । युरोपियन मुलुकका प्रतिनिधिहरू नेपालको पूर्वराजसंस्थाप्रति त्यति सकारात्मक नभएको पूर्वराजाका सहयोगीहरूको भनाइ छ ।
बेलायतकी महारानीलाई भेट्नुको उद्देश्य पनि राजसंस्थाप्रति बेलायतको भूमिका सकारात्मक बनाउन खोज्नु हो । पूर्वराजाले बेलायतकी महारानीलाई भेटे भने त्यहाँको परम्पराअनुसार बेलायतका प्रधानमन्त्रीले पनि भेट्नैपर्ने हुन्छ । प्रधानमन्त्रीले पूर्वराजालाई कुन हैसियतमा भेट्ने, यसको अझै टुंगो लागेको छैन ।
तर पूर्वराजाले आफ्नो सन्देश एलिजाबेथका प्रतिनिधिलाई दिइसकेका छन् । एलिजाबेथसँग ज्ञानेन्द्रका दाजु वीरेन्द्रको धेरैपटक भेट भइसकेको छ । त्यसैले नेपालको राजसंस्थाप्रति बेलायतकी महारानी चिरपरिचित छिन् । ज्ञानेन्द्रले पनि यसअघि बेलायतकी महारानीलाई भेटिसकेका छन् ।
फ़्रान्स जाने भनेपछि मात्र हिमानी ट्रस्टको कार्यक्रम त्यतै आयोजना गरिएको थियो । हिमानी ट्रस्टलाई आयोजक देखाएपछि हिमानी र उनका दुई छोरी र एक छोरालाई पनि सँगै लगिएको थियो । यही मौकामा हिमानी ट्रस्टका सदस्यहरू पूर्वराजकुमारी प्रेरणा र धीरेन्द्रका तीन छोरी पूजा, सीताष्मा र दिलासालाई पनि भ्रमणमा सँगै लगिएको छ । पूर्वराजाका स्वकीय सचिव सागर तिल्सिना पनि फ्रान्स गएका छन् ।
उनले जर्मनीलगायतका देशको पनि भ्रमण गर्नेछन् । त्यसक्रममा उनले युरोपियन युनियनका अरू अधिकारीसँग पनि भेट्नेछन् । पूर्वराजानिकट स्रोतका अनुसार फ्रान्समै केही भारतीय र केही चिनियाँ अधिकारीसँग पनि भेटघाट हुँदै छ । यही भ्रमणमा पूर्वरानीको स्वास्थ्य परीक्षण हुने भएको छ । उनको बायाँ कानमा समस्या छ ।
फ्रान्स पुग्नुअघि उनी कतारमा दुई रात बसेका थिए । कतारको राजधानी दोहामा पूर्वराजा बसेकै होटलमा उनलाई त्यहाँका अमिर हमाद विन खालिफा अल थानीका प्रतिनिधिले भेट गरेको स्रोतको भनाइ छ । उनी गत सोमबार राति ७:३५ कतार एअरवेजको नियमित उडानबाट दोहा पुगेका थिए ।
सोमबार राति करिब १२ बजे उनी दोहा पुगेका थिए । त्यो रातका लागि उनले दोहाको सार्क भिलेज एन्ड स्पा होटल बुक गरेका थिए । बुधबार उनी फ्रान्स पुगेका थिए । फ्रान्समा उनी रिज होटलमा बसेका छन् ।
पश्चिम नेपालका बुटवल, भैरहवा र रूपन्देहीलगायतका जिल्ला भ्रमण गरेपछि उनले युरोप भ्रमण गरेका हुन् । युरोप भ्रमणको कार्यक्रम भने बुटवल, भैरहवाको भ्रमणभन्दा पहिले नै तय गरिएको थियो ।