काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरेको एक महिना बित्न लाग्दा समेत प्रहरीले हत्याराका बारेमा केहि सुराक पाउन सकेको छैन । जेठ १८ गते ललितपुरको बंगलामुखी मन्दिर दर्शन गरेर र्फकदै गर्दा गोली हानी हत्या गरिएका बमको हत्याराका बारेमा प्रहरीले केहि पत्ता लगाउन नसकेको हो ।
ब्यक्तिगत सुरक्षा अधिकृतसंगै रहेका बम माथी दिनदहाडै एउटा मोटरसाईकलमा आएका हतियारधारीले अन्धाधुन्द गोली चलाएका थिए । घटना लगत्तै अनुसन्धानका लागि गठन गरिएको प्रहरीको उच्च स्तरिय अनुसन्धान समिती हत्या गर्नुपर्ने कारण र हत्या गर्नेका बारेमा थाहा पाउन असफल देखिएको छ । प्रहरी भित्र अनुसन्धानका लागि दक्ष मानिने बरिष्ठ प्रहरी अधिकृतहरु छानबीन समितीमा छन् ।
महानगरीय प्रहरी आयूक्तको कार्यालयका एआइजि कुबेरसिंह रानाको संयोजनमा गठित समितीमा केन्दि्रय अनुसन्धान ब्युरोका डिआइजी उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी देबेन्द्र सुवेदी, प्रतिआतंकवादसेलका एसएसपी सुबोध घिमिरे र ललितपुर जिल्ला प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठ छन् । अर्याल, सुवेदी र घिमिरे यस्तै गंभिर घटनाको अनुसन्धान गर्ने कार्यालयमा छन् । उनीहरुसंग ब्युरो, महाशाखा र सेलमा रहेका दक्ष सिनियर र जुनियर प्रहरी अधिकृतहरु समेत काम गरिरहेका छन् ।
‘केहि फेला परेको छैन, भन्दा अचम्म लाग्ला तर वास्तबिकता यहि हो’ अनुसन्धानमा संलग्न एक बरिष्ठ प्रहरी अधिकृतले भने ‘यस्तोमा कुनै सुराक अलिकति पायो भने अन्य कुरा खुल्न समय लाग्दैन, नभइन्जेल केहि पनि हुदैन ।’
घटनाको लामो समय बित्दा समेत कुनै सुराक नपाएका कारण अनुसन्धान अधिकृतहरु नै हैरान भएका छन् । ‘गोली हान्ने मान्छे फेला नपरे पनि किन हान्यो भन्ने कारण देखिनुपर्ने हो’ अनुसन्धान समितीमा रहेका एक बरिष्ठ प्रहरी अधिकृतले भने ‘घटना लगत्तै हामीले सुरु गरेको अनुसन्धानका ढोका बिचमा आएर बन्द भएका छन् ।’
घटना लगत्तै प्रहरीले अनुमान गरेका बिबिध पक्षमा अनुसन्धान सुरु गरेको थियो । ‘कारण के-के हुनसक्छ भन्ने अनुमान पछि तिनैलाई आधार बनाएर अनुसन्धान सुरु गरिएको थियो’ प्रहरी अधिकृतले भने ‘ति सबैलाई आधार मानेर अनुसन्धान गर्दा खासै उपलब्धि हासिल भएन ।’
अनुसन्धानका क्रममा समितिले सय भन्दा बढि ब्यक्तिलाई ल्याएर सोधपुछ गरिसकेको छ । संकलित सुचनाका आधारमा ल्याएर अनुसन्धान गर्दा आधार फेला नपरेपछि छाडिएको एक अधिकारीले बताए । ‘त्यसरी ल्याइएकाहरु पुर्व माओवादी लडाकु, भगौडा सेना प्रहरी लगायत अन्य थिए’ अर्का एक अधिकारीले भने । प्रहरीले इमेल समेत जाँच गरेको थियो । त्यसक्रममा साइबरबाट इमेल पठाएको देखेपछि अनुसन्धान त्यहि पुगेर रोकिएको स्रोतले बतायो ।
छानबीन समितीका संयोजक एआइजी कुबेरसिंह रानाले प्रहरीको उपलब्ध बिशेषज्ञ टिमले न्यायधिस बमको हत्यारा पत्ता लगाउन मिहेनत गरिरहेको बताए । उनले प्राविधीक र मानबिय रुपमा सुचना संकलन गरेर अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए । ‘सुचना खोज्ने र पाएका सुचनालाई अध्ययन, बिश्लेषण र अनुसन्धान भइरहेको छ’ उनले भने ।
यसअघि भएका गंभिर प्रकृतीका घटनामा कसले र किन भन्ने जस्ता कारण पहिले नै खुल्थे । स्पेशटाइम नेटवर्कका जमिम शाह, ईश्लामिक संघका महासचिब फैजान अहमदको हत्या र कारागारमा रहेका युनुष अन्सारी माथीको आक्रमणका बारेमा प्रहरीले नै पहिले नै अनुमान गर्न सक्थ्यो । कसरी भएको हो भन्ने पत्ता लगाउन मात्र कठिन हुने गथ्र्यो । तर न्यायधिस बमको घटनामा भने प्रहरीले किन भन्ने कारण समेत पत्ता लगाउन सकेको छैन । अनुसन्धान अधिकृतहरु बमको पारिवारीक, ब्यक्तिगत र ब्यावसायिक सबै कारण माथी अनुसन्धान गर्दा समेत केहि पत्ता नलागेको बताउँछन् । प्रहरीले न्यायधिस बमले पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतमा रहदाँ गरेका सबै निर्णयहरु अध्ययन गरेको थियो । अझ अदालत भित्र असन्तुष्ट पक्षका बारेमा समेत अनुसन्धान गरेको स्रोतले बताएको छ ।
घटनाको एक हप्तापछि छानबीन समितीले गोली हान्ने ब्यक्तिको स्केच सार्वजानिक गर्दै यो हत्यालाई उत्तराधुनिक संगठित अपराधको रुपमा ब्याख्या गरेको थियो । उसले हतियारलाई राम्ररी चलाउन जान्नेको समुहले न्यायधिस माथी आक्रमण गरेको बताएको थियो । समितिले बैज्ञानिक तरिकाबाट अनुसन्धान भइरहेको जानकारी दिएको थियो ।