शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

 काठमाडौं– रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा गराउन दबाबमा परेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले घटना अर्कैतिर मोडेको छ ।
प्रमुख सत्तारुढ घटक मधेसी मोर्चामा आवद्ध फोरम लोकतान्त्रिकले राजीनामाको विषयलाई थातीमा राखेर सरकार गठनका समयमा माओवादी र मधेशी मोर्चाबीच भएको चारबुँदे सहमतिप्रति माओवादीको औपचारिक धारणा माग गरेको छ ।
माओवादी र अन्य विपक्षी दलका नेताहरुले भने फोरम लोकतान्त्रिकको पछिल्लो कदमलाई निकोरुपमा लिएका छन् । आफूभित्रको विवाद अन्य दललाई सारेको उनीहरुको भनाइ छ ।
फोरम लोकतान्त्रिकले माओवादीको औपचारिक धारणा आएपछि मात्र रक्षामन्त्री शरतसिंह भण्डारीका बारेमा निर्णय गर्ने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास नयाँबजारमा मंगलबार बिहान भएको माओवादी र फोरम लोकतान्त्रिकबीचको छलफल पछि फोरम लोकतान्त्रिकले उक्त धारणा अघि सारेको हो ।
माओवादीसँगको छलफल पछि फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले चारबुँदे सहमतिका बारेमा माओवादीका नेताहरुबाट अलग अलग धारणा बाहिर आएकाले पार्टीको आधिकारिक धारणा मागिएको जानकारी दिनुभयो ।
रक्षामन्त्री भण्डारीका विषयमा पनि माओवादीभित्रको धारणा एउटै नभएकाले माओवादीको आधिकारिक धारणा आएपछि मात्र आफ्नो पार्टीले निर्णय गर्ने पनि अध्यक्ष गच्छदारले जानकारी दिनुभयो । साथै उहाँले मंगलबार बस्ने पार्टीको राजनीतिक समितिको बैठकले ठोस निर्णय गर्ने पनि बताउनुभयो । ***
तपाईको प्रतिक्रिया