शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
सुनसरी– विद्रोही तालिवानद्वारा गत शनिबार अफगानिस्तानमा मारिएका बेलायती सेनामा कार्यरत् सैनिक युवक सुनसरीको तरहराका २२ वर्षीय विजय राई भएको पुष्टि भएको छ ।
हेलमण्ड प्रान्तस्थित नहर–ए सरजमा अफगानी प्रहरीसँगै ड्युटीमा खटिएका बेला तालिवानको आक्रमणमा विजयको मृत्यु भएको थियो ।
हाँसपोसा–२ तरहरा घर भएका विजय तीन वर्षअघि बेलायती सेनामा भर्ती भएर रोयल गोर्खा राइफल्सको दोस्रो बटालियनमा कार्यरत् थिए ।
विजय बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा शान्ति सेनाको रूपमा कार्यरत् थिए । उनी अफगानिस्तानमा मारिने पाँचौ गोर्खा सैनिक हुन् । आइतबार बेलायती दूतावासले अफगानिस्तानमा एक गोर्खासैनिकको हत्या भएको बताए पनि नाम भने सार्वजनिक गरेको थिएन । आक्रमणमा अर्का एक गोर्खा सैनिक पनि गम्भीर घाइते भएको बताइएको छ । घाइते गोर्खा सैनिकको पनि नाम सार्वजनिक गरिएको छैन ।
विजयको शव बुझ्न बाबु नागधन र आमा धनकुमारीसँगै आफू पनि घरबाट हिंडिसकेको जेठा दाजु नगेन राईले टेलिफोनमा बताए । भाइको शव बुझ्न जानको लागि ब्रिटिश गोर्खा नेपालबाट पहल भइरहेको उनले बताए ।
शव बेलायतमा बुझिए पनि नेपाल ल्याएर गृह जिल्लामा नै सद्गत गरिने नगेनले बताएका छन् । विजय गाउँकै मिलनसार व्यक्तिमा दरिएका थिए । उनको मृत्युले परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ ।
सन् २००९ जनवरीमा बेलायती सेनामा भर्ति भएका विजय गत साल भदौमा पहिलो छुट्टीमा घर आएका थिए । बाबु नागधन पनि पूर्व भारतीय सैनिक हुन् । विजयका दाइहरू नगेन र प्रेम पनि भारतीय सेनामा नै कार्यरत् रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया