मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

टोकियो – हङकङको स्थानीय सरकारले केही महिनाअघि प्रस्तुत बजेटमा १८ वर्ष पुगेका स्थायी आईडी (परिचयपत्र) बाहक प्रत्येकलाई मासिक ६ हजार हङकङ डलर (करिब ६० हजार रुपैयाँ) नगद दिने घोषणा गरेअनुसार हङकङमा रहेका अधिकांश नेपाली पनि लाभान्वित हुने भएका छन् । राहत परियोजनाकारुपमा घोषणा गरेको ‘स्किम ६ हजार’ सुविधा अस्थायी परिचयपत्रबाहकले पनि पाउने भएका छन् ।

स्थानीय कानुनमा स्थायी नागरिक भन्नाले हङकङमै जन्मिएको वा सात वर्षसम्म लगातार बसेको तथा ६ महिनाभन्दा बढी मुलुक नछाडेको व्याख्या गरिएको छ । यो लाभबाट वञ्चित अस्थायी परिचयपत्र बाहकहरूले पक्षपात भएको आवाज उठाएपछि हालै दुवै आईडीबाहकलाई सुविधा दिने घोषणा भएको हो । तर स्थायी नागरिकले जतिसुकै आम्दानी भए पनि निसर्त पाउने यो लाभ अस्थायीका लागि भने निश्चित मापदण्ड तोकिएका छन् ।

यिनका हकमा नयाँ आउने निम्न आयस्रोत भएकालाई भनिएको यो परियोजनाअन्तर्गत परिवार संख्या र आम्दानीलाई आधार मानिएको छ । तोकिएको मापदण्डअनुसार परिवार संख्या एक हुनेको मासिक आम्दानी ७ हजार ३ सय हङकङ डलरभन्दा कम, दुई भएमा १४ हजार ६ सय, तीन भए २० हजार, चार भए २४ हजार ५ सय, पाँच भए ३३ हजार ६ सय र ६ वा सोभन्दा माथि परिवार संख्या हुनेको ३७ हजार ३ सय हङकङ डलरभन्दा कम हुनुपर्ने सर्त छ ।

रोजगारी, लगानी वा विद्यार्थी भिसामा बस्नेहरूलाई भने यो सुविधा उपलब्ध छैन । पछिल्लो आँकडाअनुसार हङकङमा करिब ३२ हजार नेपाली छन् ।***

 

तपाईको प्रतिक्रिया