नविन पौडेल
कावासोती– अज्ञात समुहको गोली प्रहारबाट नवलपरासीको हकुई गाविस ५ का चन्नर यादव घाइते भएका छन् ।
शुक्रबार राति बजारबाट साईकलमा घरतर्फ गईरहेको समयमा ६० वर्षीय यादवलाई अज्ञात समुहले घर नजिक आफ्नै गाउँमा गोली प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ । यादवलाई भैरहवा भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुई बाट करिब ५ सय मिटर दक्षिण भित्री सडकमा गोली हानिएको प्रहरीले जनाएको छ ।
यादबको शरीरको पछाडी पट्टीको भागमा एक राउण्ड गोली लागेको तर उनी खतरा मुक्त रहेको जिल्ला पृथ्बी चन्द्र अस्पताल परासीका प्रमुख डा. आर एस दिपले बताउनुभयो । यादवलाई जिल्ला पृथ्बी चन्द्र अस्पतालमा उपचार पछि थप उपचारकालागी बुटवल रिफर गरिएको छ ।
यसैबिच यादव माथी भएको गोली प्रहार गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारबाही गर्न नेपाली कांग्रेस नवलपरासीले माग गरेको छ ।