शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौ – मुख्य प्रतिपक्षी दलहरुले हत्याको आरोपित भूमिसुधारमन्त्री प्रभु साह र राष्ट्र विखण्डन सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका रक्षामन्त्री शरदसिंह भण्डारीलाई तत्काल पदवाट वर्खास्त गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद्को आजको वैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा शाहको संलग्नता पुष्टि भइसकेको भन्दै साहलाई तत्काल पदवाट वर्खास्त गर्न माग गर्नुभएको हो । घटनामा मन्त्री साहको संलग्नता एकपछि अर्को गदै पुष्टि भइरहेको भएपनि प्रधानमन्त्री मौन वसेर घटनाको ढाकछोप गर्न लागेको आरोप उहाँले लगाउनुभयो । काठमाडौंको व्यस्त स्थानमा एकपछि अर्को हत्याका घटना वढिरहेको भएपनि सरकार लामो समयसम्म पनि दोषीलाई पक्राउ गर्न नसक्नु दुखद भएको तथा ४५ दिनभित्र शान्ति प्रक्रियाका काम पुरा गर्न प्रधानमन्त्रीले पटक–पटक प्रतिबद्धता जनाएपनि प्रतिवद्धता देखावटी मात्र भएको र जनतालाई झुक्याउने काम गरेको आरोप समेत उहाँले लगाउनुभयो ।

त्यसैगरि नेकपा एमालेका अध्यक्ष तथा सभासद् झलनाथ खनालले हत्याको आरोपमा संलग्न रहेका भूमिसुधार मन्त्री प्रभु साह र रक्षामन्त्री शरतसिंह भण्डारीलाई तत्काल पदबाट वर्खास्त गर्न माग गर्नुभयो । खनालले हत्याका आरोपित तथा गैरजिम्मेवार र राष्ट्रघाती अभिव्यक्ति दिने मन्त्रीहरु एक मिनेट पनि पदमा वस्न नहुने भन्दै सदनमा वस्दा सदनको समेत अपमान हुने वताउनुभयो ।

वर्तमान सरकार गठन हुँदा जनतामा पलाएको आशा ४५ दिनसम्मको सरकारको काम कारवाहीले निराश तुल्याएको उहाँले वताउनुभयो । नैतिकता विर्सिएर प्रधानमन्त्रीले प्रतिवद्धता विपरित अभिव्यक्ति दिनु जिम्मेवार भएको भन्दै झुट वोल्नुको कारणवारे सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

एकीकृत माओवादीका सभासद् दीननाथ शर्माले भुमिसुधार मन्त्री प्रभु साह माथि लगाइएको आरोप राजनीतिक उदेश्यवाट प्रेरित भएको र साहलाई दोषी जस्तै व्यवहार गर्नु न्यायोचित नभएको टिप्पणी गर्नुभयो । शर्माले घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै फैजान अहमद हत्यामा संलग्न भएकालाई खोजी गरी कारवाही गर्न सरकारसँग माग गर्नुभयो । चार बुँदे सहमतिप्रति लक्षित गदै शर्माले माओवादीले राष्ट्रिय स्वाभिमान र अखण्डतामा विपरित कुनै पनि सम्झौता नगरेको र नगर्ने प्रतिवद्धता जनाउनुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि संसदमा विचराधीन विधेयक चाँडोभन्दा चाँडो पारित गर्न उहाँले आग्रह गर्नुभयो ।

वैठकमा नेपाली कांग्रेसका सभासद् रामशरण महतले मन्त्रिपरिषदमा वसेर खुलेआम हत्यामा संलग्न भएको व्यक्तिलाई प्रधानमन्त्रीले संरक्षण गरेर दण्डहीनतालाई प्रश्रय गरेको आरोप लगाउनुभयो । महतले प्रभु साहलाई कानुनको कठघरामा ल्याउनुपर्ने र प्रधानमन्त्री आफ्नो संलग्नता वारेमा सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया