शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ परेका छन् । प्रसिद्ध व्यवसायी गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो ।

रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीको सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको भेटिएकाले उनलाई पक्राउ गरेर हिरासतमा राखिएको बताइएको छ ।

निशानका प्रमुख कार्यकारी हिरोटो साइकावाले पत्रकार सम्मेलन गरी पक्राउ परेका गोनमाथि प्रहरीले छानबिन गरिरहेको जानकारी दिए । कम्पनीको बोर्ड बैठकमा गोनको बर्खास्तीका लागि प्रस्ताव लगिने उहाँले बताए ।

गोनले आर्थिक अनियमितता गरिरहेको सूचना पाएपछि निशान कम्पनीका लेखापरीक्षकहरुले छानबिन थालेको अधिकारीहरुले बताएका छन् । उनीमाथि लागेका थप अभियोगबारे भने निशानले जानकारी दिएको छैन ।

ब्राजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निशान तथा रेनो कम्पनीहरूलाई झन्डै टाट पल्टिनबाट जोगाउन सफल भएका थिए । जापानी सञ्चारमाध्यमहरुले उनले सन् २०११ यता पाँच अर्ब जापानी येन अर्थात् ४ करोड ४० लाख अमेरिकी डलर बराबरको रकमबारे पूर्ण जानकारी नदिएको दाबी गरेका छन् ।

अर्का वरिष्ठ कार्यकारी ग्रेग केली पनि अनियमितासम्बन्धी कार्यमा संलग्न रहेको हुनसक्ने निशान कम्पनीले जनाएको छ ।

उनलाई पनि बर्खास्त गर्ने तयारी भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया