शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – कृषिमा व्यवसायीकरणसँगै तरकारीमा विषादीको प्रयोग वर्षेनी बढ्न थालेको छ । गतवर्ष करीब ६९ करोड रुपैयाँ बराबरको ५ सय ७५ मेट्रिक टन विषादी नेपाल भित्रिएको कृषि विभाग अन्तर्गतको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

२०७२ मा ४ सय ५० मेट्रिक टन विषादी आयात भएको थियो । यसरी भित्रिएका विषादीमध्ये ८० प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने गरेको निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले बताउनुभयो ।  नेपालमा प्रति हेक्टर औसतमा ३ सय ९६ ग्राम विषादी प्रयोग गरिदै आएको निर्देशनालयले जनाएको छ । बढी मुनाफा र जनचेतनाको अभाव तथा हेलचक्र्याईका कारण विषादीको प्रयोगबाट स्वास्थ्य सम्बन्धी समस्या निम्तने गरेको ढकालले बताउनुभयो ।

राजधानीको कालिमाटीमा रहेको फलफूल तथा तरकारीको विषादी अवशेष दु्रत विश्लेषण इकाईमा गरिएको नमुना परीक्षणमा भिन्डी, अकबरे खुर्सानी र सिमीमा विषादीको प्रयोग धेरै पाइएको छ । सरकारले झापाको बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, बुटवल, बाँकेको नेपालगञ्ज र कैलालीको अत्तरियाबाट तरकारीमा प्रयोग हुने विषादीको नमुना परीक्षण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया