शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं –  शर्मिला कोइराला
मेकअप आर्टिस्ट, शुभशृंगार ब्युटी होम, मैजुबहाल

जोसुकै महिलालाई सुन्दर बन्ने चाहना हुन्छ । अझ, विशेष परिस्थितिमा विशेष देखिऊँ भन्ने इच्छा नहुने कुरै भएन । विवाह, पार्टी, महोत्सव वा चाडपर्वमा विशेष मेकअप गरिन्छ । तर, अनुहारमा चाया, पोतो, तिलकोठीजस्ता दाग भएकाहरूलाई मेकअप कसरी गर्ने भन्ने तनावले सताउँछ । दाग छोप्न आवश्यक कला नहुँदा सौन्दर्यको सवालमा सम्झौता गर्नुपर्ने बाध्यता कतिपयले भोगिरहेका पनि हुन्छन् । तर, थोरै मात्र ज्ञान प्राप्त गर्ने हो भने पनि चाया, पोतो र दाग भएको अनुहारमा मेकअपमार्फत सौन्दर्य भर्न सकिन्छ : 

१. सबैभन्दा पहिले अनुहारमा क्रमशः टोनर, मोस्चराइजर र सनब्लक प्रयोग गर्नुहोस् । जुनकुनै अनुहारमा मेकअप गर्दा पहिले यी तीन सौन्दर्य साधन प्रयोग गर्नु आवश्यक हुन्छ ।

२. अनुहारको जुन–जुन भागमा चाया, पोतो तथा दाग छ, त्यहाँ आफ्नो छालाको सेडभन्दा एक सेड डार्क वा सुन्तला रङको कन्सिलर प्रयोग गर्नुहोस् । यसको प्रयोग ड्याबिङ मोसन अर्थात् हल्का हातले थपथपाउँदै गर्नुहोस् ।

३. अब छाला रङको फाउन्डेसन पूरै अनुहारमा लगाउनुहोस् । तर, ख्याल गर्नुहोस्, दोस्रो स्टेपमा दाग छोप्न प्रयोग गरिएको कन्सिलर लतपतिन सक्छ । त्यसैले थपथपाउँदै फाउन्डेसन लगाउनुहोस् ।

४. अनुहार थप गोरो देखाउने इच्छा भए फाउन्डेसन लगाएपछि आफ्नो स्किन टोनभन्दा एक सेड लाइट कलरको फाउन्डेसन हल्का–हल्का पूरै अनुहारमा लगाउन सक्नुहुन्छ ।

५. अनुहारलाई ओभल सेप (अन्डाकार) दिने इच्छा भए थोरै डार्क सेड कन्सिलर गालामा, ज लाइनमा, निधारमा र नाकमा सेप दिनुहोस् । यसमाथि हल्कासँग ब्रसको सहयोगले पाउडर टचअप गर्नुहोस् ।

६. अनुहारमा चाया भएको व्यक्तिले सकभर टल्किने (साइनिङ आउने) प्रोडक्ट प्रयोग नगरेकै उत्तम हुन्छ । किनभने, यस्ता प्रोडक्ट प्रयोगले चाया झन् नोटिस हुन्छ ।

७. अनुहारको मेकअपसँगै आँखाको मेकअप मिलाउनु सबैभन्दा महत्वपूर्ण पाटो हो । मेकअप बेस तयार गरिसकेपछि इच्छाअनुसार आइस्याडो प्रयोग गर्नु सक्नुहुन्छ । तर, गालामा प्रयोग गरिने ब्लसर र आँखामा प्रयोग गरिने आइस्याडो म्याटमा भए राम्रो हुन्छ ।

८. घरमै मेकअप गर्ने आँट नभए सुरुसुरुमा मेकअप आर्टिस्टको सहारा लिन सक्नुहुन्छ । त्यहाँबाट पनि मेकअपबारे धेरै ज्ञान लिन सकिन्छ । तर, क्रमशः सबै बुँदामा ध्यान दिएर मेकअप गर्ने हो भने स्वाभाविक रूपमा अनुहार सफा र राम्रो देखिन्छ ।

प्लस टिप्स
मेकअप प्रोडक्टहरू जुटाउँदा विशेष ख्याल गर्नुहोस् । बजारमा जस्ता पनि सामग्री उपलब्ध छन् । तर, क्वालिटीसँगै आफ्नो छाला सुहाउँदो किन्नुपर्छ । चाया, दाग भएको तथा डार्क स्किनमा धेरै गोरो देखाउने ‘ह्वाइट’ कलरको सेडका प्रोडक्ट नकिन्नु नै राम्रो हुन्छ ।

स्किन टोनभन्दा लाइट सेड हुँदा मेकअपपछि अनुहार झन् नीलो र कालो देखिन्छ । त्यसैले यस्ता स्किन भएकाहरूले हल्का ब्राउन, डार्क एल्लो पाउडर र क्रिम प्रयोग गर्नुपर्छ । यसले अनुहारको दाग पनि छोप्छ र गोरोसमेत देखाउँछ ।

तपाईको प्रतिक्रिया