शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन् ।

दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको छ । राजधानीमा भएको ओली-दाहालको एक घन्टा लामो भेटवार्ता निर्वाचन परिणाम र भावी सरकार गठनमा केन्द्रित रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

‘दिउँसो ३ देखि ४ बजेसम्म दुई नेताबीच चुनावमा वाम गठबन्धनले पाएको बहुमत र भावी रणनीति छलफल भएको थियो ।’ दुवै नेता नयाँ सरकार र पार्टी एकता प्रक्रियालाई छिट्टै निर्णायक चरणमा पुर्‍याउनेमा सहमत भएको दाबी स्रोतले गरेको छ ।

६०-४० को भागबन्डामा आ-आफ्नै पार्टीको चिह्नमा निर्वाचन लडेका उनीहरूले सरकार सञ्चालन र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयलाई प्रमुख दिएर छलफल गरेको दाबी स्रोतको छ । ओली-दाहालले देउवा नेतृत्वको कामचलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा छलफल भएको थियो ।

दुवै नेताले नयाँ सरकार गठनका विषयमा अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको तर्फ गम्भीरतापूर्वक छलफल गरेका थिए ।

नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभा गठन र समसामयिक राजनीति लगायतमा नेताद्वयबीच गम्भीर परामर्श भएको जानकारी माओवादी सचिवालय स्रोतले दिएको छ ।

माओवादी स्रोतले भन्यो, ‘नेताद्वयको परामर्श एक साताभित्र वाम गठबन्धनलाई बहुमत दिने मतदातामाझ परिणामुखी सन्देश पुर्‍याउन नै केन्द्रित थियो ।’माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओली दाहालबीच सरकार गठन र पार्टी एकता केही दिनभित्रै टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीसँग भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘दुवै विषयलाई कसरी अगाडि बढाउने भन्ने बारेमा एक/दुई दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठकले तय गर्नेछ ।’

तपाईको प्रतिक्रिया