बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

भक्तपुर –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताउनुभएको छ ।

आज आफ्नै निवास बालकोटमा उहाँले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै उहाँले स्वदेशमै रोजगारीको व्यवस्था गर्नसके युवाले खाडी मुलुकमा गएर पसिना बगाउनु नपर्ने बताउनुभयो । अध्यक्ष ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताउँदै यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको छ भन्नुभयो ।

विसं ०४६ को परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टाचारीकरण बढेको छ, उहाँले भन्नुभयो, “निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर अहिले लाखौँ युवा खाडीमा पसिना बगाइरहेका छन् ।”

अध्यक्ष ओलीले सम्पत्ती शुद्धीकरणका नाममा व्यवसायीलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा चिन्ता व्यक्त गर्दै आफ्नै खाताबाट रु १० लाखभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण बन्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

“सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यवसायीसँग कर उठाउने हो, अनावश्यक बखेडा झिकेर गैरकानूनी रकम आर्जन गर्ने होइन,” उहाँले भन्नुभयो, “आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ ।” अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने पनि बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णीकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।

यसैगरी बालकोटमै अध्यक्ष ओलीलाई बधाई दिन आएको नेपाल राष्ट्रिय माडवारी परिषद् केन्द्रीय समितिसँग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।  यो समुदायलाई केही राजनीतिक दलले दुहँुनो गाई बनाएको दृष्टान्त दिँदै वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादनजस्ता कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकाले व्यावसायिक क्षेत्र अनुमानका भरमा सञ्चालन भइरहेको उल्लेख गर्दै “नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधि खुवाइँदैछ, अब यस्तो हँुदैन, सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसैअनुसार समाधान पनि खोजिने छ,” भन्नुभयो ।

तपाईको प्रतिक्रिया