शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–सन् २०१९ मा जापानमा हुने राजकुमार नारुहितोको उत्तराधिकारी राज्याभिषेकको समयमा १० दिन लामो सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले जनाएको छ ।
जापानको बिदा सम्बन्धी कानुन अनुसार हप्ताको अन्त्य र राष्ट्रिय बिदाको बिचमा पर्ने दिनहरुलाई स्वतः सार्वजनिक बिदा दिने चलन अनुसार अप्रिल २७ देखि मे ६ सम्मका लागि १० दिने बिदा हुन लागेको जापानी सञ्चार माध्यम जापान टुडेले जनाएको छ ।
अप्रिल ३० मा वर्तमान सम्राट आकिहितोले पद त्याग गर्ने, मे १ मा राजकुमार नारुहितोको उत्तराधिकारी राज्यारोहण, अप्रिल २७ र २८ हप्ताको अन्त्य, अप्रिल २९ र मे ३–६ पहिले नै राष्ट्रिय बिदा परेकाले १० दिन लामो बिदाका बारेमा बुधबार सरकारले जानकारी गराएको हो ।
सरकारले १० लामो बिदालाई नागरिकहरुले उत्साहपूर्वक मनाउने विश्वास लिएको छ । यस बिदाले जापानी क्यालेण्डरलाई कुनै असर नपार्ने पनि सरकारले जनाएको छ ।
सरकारले राजसंस्थाको परम्परा अनुसार पद त्याग, उत्तराधिकारी राज्यारोहण तथा वर्तमान सम्राटको जन्मदिन (डिसेम्बर २३ ) मध्ये कुन दिनलाई राष्ट्रिय बिदाको दिन उपयुक्त हुनेबारेमा छलफल भैरहेको जनाएको छ ।
सन् १९९० को नोभेम्बर १२ मा सम्राट आकिहितोको राज्यारोहणका अवसरमा एकपटक विशेष बिदा दिएको थियो ।
जापानको संसदले गत जुनमा आगामी डिसेम्बर २३ मा ८४ वर्ष पुरा हुने वर्तमान सम्राटको पद त्याग र उनका ५७ वर्षीय छोरालाई राज्यारोहण गराउने बारे कानुन पारित गराएको थियो ।
वर्तमान सम्राटले आफ्नो उमेरका कारण पद त्याग गर्न चाहेको भिडियो सन्देश अगष्ट २०१६ मा सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री सिन्जो आबेले गत शुक्रबार २०० वर्ष यता जापानको इतिहासमा सम्राट आकिहितोले २०१९ अप्रिल ३० मा पद त्याग गर्ने जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया