शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – निर्वाचन आयोगले जनताको मताधिकारलाई सुरक्षित गर्दै मतदाताले सुरक्षित ढंगले मतदान गर्न जाने वातावरण सिर्जना गर्न सबै सम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।

सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गरेको सुरक्षा प्रबन्धको समीक्षा गर्दै निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय भएको बैठकपछि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले जानकारी दिनुभयो । निर्वाचनसँग जोडिएर देशको विभिन्न भागमा हालसम्म भएका घटना र सुरक्षा चुनौतीको समीक्षा हुनाका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन राजनीतिक दल, उम्मेदवार र मतदाता एवम् सबै सरोकारवालाको सहयोग र समन्वयमा अघि बढ्ने आयोगले निष्कर्ष निकालेको छ ।

आयुक्त शाहले भन्नुभयो, ‘हामीसँग पर्याप्त सुरक्षा जनशक्ति छ, पर्याप्त स्रोत र साधन छ, सूचना संकलनका माध्यम पनि प्रभावकारी भएकाले निर्वाचन सुरक्षाप्रति हामी ढुक्क छौँ, केही छिुटफुट घटनालाई आधार मानेर समग्र सुरक्षा व्यवस्था फितलो भयो भन्न मिल्दैन ।’ सरकारले आगामी निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसमेत गरी दुई लाख ७२ हजार सुरक्षा जनशक्ति परिचालन भइसकेको जनाएको छ ।

निर्वाचनका लागि गृह मन्त्रालयले तर्जुमा गरी योजनाबद्धरुपमा जिल्ला तहमा कार्यान्वयन भइरहेकामा कुनै घटना विशेषका आधारमा तत् तत् क्षेत्रमा परिमार्जन गरी अघि बढ्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । ‘राज्यको उपस्थिति देशभर प्रत्येक स्थानमा छ, बिना डर, त्रास, भयरहित वातावरणमा मतदाता मतदान केन्द्रमा जान्छन् र सकुशल फर्कन्छन्, निर्वाचन आयोग शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेमा निर्वाचन आयोग पूर्ण विश्वस्त छ’, आयुक्त शाहले भन्नुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरुले आपसी समन्वयमा गरेका कार्यबाट आम जनताले महसुश गर्ने विश्वास व्यक्त गर्नुभयो । मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न नेपाल सरकारसँग आग्रह गर्दै उहाँले निर्वाचनको मौन अवधि शुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको थियो ।

आयुक्त नरेन्द्र दाहालले सुरक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिनुभयो । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिई कानूनअनुसार कारबाही गरिरहेको र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव विनोद केसीले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग गर्न नेपाली सेना सदा तत्पर रहिआएको बताउनुभएको थियो । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायबीचको लगातारको सम्पर्क, समन्वय र सहयोगबाट मतदातालाई सुरक्षाको प्रत्याभूति दिन सकिने हुदा मतदातालाई सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायलाई थप प्रयास गर्न सुझाव दिनुभयो ।

बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरीले आ–आफ्ना संगठनबाट सम्पादन भइरहेका कार्य प्रगतिका बारेमा अवगत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया