शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

राजविराज – काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा – ८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान त लगाए तर घर भेट्टाउन सकेनन् । महुली खोलाको बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएका कारण उनले घर भएको ठाउँ पत्ता लगाउन नसकेका हुन् । बाढीले घर बगाएको सुनेर गाउँ फर्केका उनले भने, ‘मेरो र चार दाजुभाइ सबैको घर भएको बस्ती त बगर पो बनिसकेको रहेछ ।’

यति ठूलो क्षति
श्रीमती सरितादेवी रामले टेलिफोनमा ‘बाढीले घर बगायो’ भन्दा उनले यति ठूलो क्षति भयो होला भनेर सोचेका रहेनछन् । तर, गाउँ पुगेपछि उनले यथार्थ थाहा पाए । साउन २८ गते बिहान बाढीले बुधेवा टोलका ५० परिवारको घर/खेत बगाएको थियो । डुबानका कारण तीन सय घरमा क्षति पुगेर बस्न नसक्ने अवस्था छ । दर्जनौं गाईवस्तु, खसीबाख्रा मरे । घर बगाएका र भत्किएकाहरू अधिकांश चन्द्र नहरको डिलमा आश्रय लिएर बसेका छन् भने केही बाटोछेउको उँचो जमिनमा छन् ।

घर बन्यो बगर
‘घरमा श्रीमान् थिएनन्, घर डुबाउँदै लगेपछि सबै सामान छाडी तीन छोरी र एक छोरालाई लिएर पौडेर जोगिएँ’, सरितादेवीले भनिन्, ‘हामी बस्ने घर भएको ठाउँमा बाढीको भंगालो बगेपछि बगर भएको छ ।’

छोरीलाई लिएर पौडिएर बाँचें
रामका दाजु राजेन्द्र भने छुट्टी नपाउँदा अझै गाउँ आउन पाएका छैनन् । उनकी श्रीमती भुटीदेवीले दुःख पोख्दै भनिन्, ‘बाढीले टोलका सबै घर बगाएर बगर बनाइदियो । जताततै पानी नै पानी थियो, भाग्ने ठाउँ पनि थिएन । ज्यान जोगाउन आपत भएपछि घरका सबै सामान छाडेर सात छोरीलाई लिएर पौडिएर बाँचें ।’

खाटमाथि बाकसमा छोरी
असार १७ गते बाढीले मैनाकडेरी भेडियामण्ठनजिक महुली खोलाले भत्काएको बाँध सुरक्षाकर्मीले मर्मत गरेपछि स्थानीयले सुरक्षित महसुुस गरेका थिए । तर, साउन २६ मा मुसलधारे वर्षा भयो । त्यसको दुई दिनपछि शनिबार बिहान खोलामा पानीको बहाव अत्यधिक बढ्यो । ‘पहिले खाटमा चढें, खाट डुबेपछि खाटमाथि टिनको बाकस राखेर सबै छोरीलाई बसाएँ । पानीको बहाव झन्झन् बढ्दै गयो’, भुटीदेवीले भनिन्, ‘जब विस्तारै खोल्साखाल्सी, खेत, नहरतिर पनि पानीको बहाव बढ्दै गयो तब सबैतिर कोलाहल मच्चियो, छोरीहरू अत्तालिएर रुन, कराउन थाले ।’ त्यसपछि सबै सामान छाडी छोरीलाई बोकेर निस्किएको उनले सुनाइन् ।

राहत पुग्न सकेन
सदरमुकाम जोड्ने पुल भत्किएकाले सवारीसाधन ठप्प हुँदा उक्त ठाउँमा राहतसमेत पुग्न सकेको छैन । ‘आफू भोकै बसे पनि स-साना नातिनातिनी भोकले रोएको देखेर सहनै गाह्रो भयो’, झबरीदेवीले भनिन् । उनीजस्ता बुधेवाका दुई सय ५० परिवार घरबारविहीन भएका छन् ।

तपाईको प्रतिक्रिया