शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको बताउनु भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटी राजदूत मासासी ओगावाले सो कुरा बताउनु भएको हो ।

भेटका अवसरमा उहाँहरुबीच नेपाल-जापानबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयका साथै दूरसञ्चारका क्षेत्रमा केन्द्रित रहेर कुराकानी भएको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो । सरकारले नेपाल टेलिकमको सेवालाई अझ प्रविधियुक्त र गुणस्तरीय बनाउने सन्दर्भमा केही वर्षदेखि उपयुक्त साझेदारको खोजी गर्दै आएको छ ।

दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा व्यक्त गरेको सो अवसरमा जानकारी गराइएको थियो । सो अवसरमा मन्त्री बस्नेतले हाम्रा कतिपय गाउँमा अझै टेलिफोन सेवा नपुगेको तथा पुगेका ठाउँमा पनि गुणस्तरीय सेवा दिन नसकिएको अवस्था रहेको जनाउँदै साझेदारी गर्ने विषयमा नियम कानूनका आधारमा मात्र अघि बढ्न सकिने जवाफ दिनुभएको थियो ।

साझेदारी गर्दा नेपालले धेरै फाइदा लिन सक्ने हिसाबले कानूनसम्मत ढंगबाट छलफलका आधारमा मात्र साझेदारीको गृहकार्यलाई अघि बढाइने जानकारी दिँदै मन्त्री बस्नेतले भन्नुभयो- “नेपाल टेलिकमलाई प्रविधियुक्त तुल्याउन आवश्यक ध्यान दिइने छ ।” नेपालको शासन पद्धतिअन्तर्गत भएका निर्वाचन तथा मुलुकको आर्थिक समृद्धिका लागि जापानबाट हुँदै आएको तथा आगामी दिनमा हुन सक्ने सहयोगका क्षेत्रबारे पनि उहाँहरुबीच छलफल भएको थियो ।

सन् १९५६ मा दुवै देशबीच दौत्यसम्बन्ध कायम भएको हो । नेपाल र जापानबीचको सम्बन्ध अत्यन्तै घनिष्ठ र सुमधुर छ । जापान नेपालको विकासको ठूलो दातृ मुलुक हो । जापानले नेपालका सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, खेलकुद, वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

नेपालको युवा तथा खेलकुद क्षेत्रबारे चासो

यसैबीच राजदूत मासाही ओगाआले आजै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीसँग पनि शिष्टाचार भेटवार्ता गर्नु भएको छ । मन्त्रालयमा भएको भेटमा राजदूत ओगाआले नेपालको युवा तथा खेलकुद क्षेत्रबारे चासो राख्नु भएको थियो ।

साथै उहाँले भूकम्पले क्षति गरेको दशरथ रंगशाला लगायतको खेल पूर्वाधारहरुको पुनःनिर्माणको अवस्थाबारे जिज्ञासा राख्दै खेलक्षेत्रको विकासले युवा परिचालन र राष्ट्रिय एकता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउने विचार व्यक्त गर्नुभएको छ । भेटघाटमा युवा तथा खेलकुदमन्त्री केसीले नेपालको विकास प्रक्रियामा जापान सरकारको सहयोगको प्रशंसा गर्दै युवा तथा खेलकुद क्षेत्रको विकासमा जापान सरकारको निरन्तर सहयोगको लागि आग्रह गर्नुभयो ।

उक्त अवसरमा मन्त्री केसीले आगामी तेह्रौं सागको तयारी र सचिव मेहश प्रसाद दाहालले नीति, संरचना तथा मन्त्रालयले गरिरहेका क्रियाकलापहरुको बारेमा जानकारी गराउनु भएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया