शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – काठमाडौँबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ज्यान गुमाउको संख्या ७ पुगेको छ । स्वर्गद्वारी नजिकै रुमालेमा आज विहान भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार घटनास्थलमा नै मृत्यु हुनेमा एकै परिवारका चार सदस्य रहेका छन् जसमा ललितपुर–१४ तिखेदेवलका ४४ वर्षीय दिनेश ध्वज बस्नेत, उनकी श्रीमती ४० वर्षीया पद्मा बस्नेतका साथै छोरीहरु १३ वर्षीया दिक्षा बस्नेत र २२ की दिया बस्नेत रहेका छन् । मृत्यु हुने अन्य दुईमा २४ वर्षीया श्रृष्टि जीसी र ५२ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्, भने सुनिता श्रेष्ठको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

घाइते भएका चालक सरोज घले र सुशील जि सीको प्राथमिक उपचार केन्द भिंग्रीमा सामान्य उपचार पछि थप उपचार बुटवलमा भइरहेको स्रोतले जनाएको छ । चालक उपचारकै क्रममा भएकाले दुर्घटना हुनुको कारण खुल्न नसकेको जिल्ला प्रहरी स्रोतले जनाएको छ । काठमाण्डौ बाट स्वर्गद्धारी दर्शनको लागि हिजो आएको र आज विहान भिंग्रीबाट स्वर्गद्धारी मन्दिर तर्फ जादै गर्दा दुर्घट्ना भएको हो ।

घटनास्थलमै मृत्यु भएका ६ जानको शव इलाका प्रहरी कार्यालय भिंग्रीमा पोष्टमार्टम गरि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।
स्थानीय शिक्षक दुर्गा भुषालका अनुसार गाडी सडकबाट २ सयमिटर तल खसेको छ । दुर्घटना स्थल स्वर्गद्वारीबाट करिब ३ किलोमिटर तल रहेको छ ।

तपाईको प्रतिक्रिया