शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – २०५४ सालमा परराष्ट्र सेवामा प्रवेश गर्नुभई परराष्ट्र मन्त्रालय, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावास र बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा रहेर कूटनीतिक अनुभव संगाल्नुभएका कृष्णचन्द्र अर्याल हाल जापानका लागि कार्यबाहक राजदूतको जिम्मेवारीमा हुनुहुन्छ । ५ महिना अगाडि मात्र जापान आउनुभई कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आउनुभएका अर्यालसंग नेपाल जापान सम्बन्धका विविध आयाम, जापानको नेपाली समुदायमा देखिएका आकस्मिक निधन, आत्महत्या, धरपकड जस्ता बढ्दो घटना, जापानमै हराईरहेकी सबिना महर्जन प्रकरण, दूतावासको प्राथमिकतामा रहेका आगामी कार्ययोजना र अन्य समसामयिक बिषयमा समुद्रपारिका लागि प्रधान सम्पादक तिलक मल्लले गर्नुभएको कुराकानीको सम्पादित अंश :

नेपालका लागि हरेक दृष्टिकोणले अत्यन्त महत्व राख्ने असल मित्रराष्ट्र जापान जस्तो मुलुकको कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको छ, अवसरसंगै चुनौती पनि उत्तिकै छन्, यसलाई कसरी लिनुभएको छ ?
नेपालको आर्थिक बिकासमा अग्रपंत्तिमा रहेर सहयोग गर्दै आएको असल मित्रराष्ट्र जापानका लागि कार्यबाहक राजदूत भएर काम गर्न पाउनु मेरो लागि यो अवसर र चुनौती दूवै हो । बुद्धको भूमि नेपाल र अधिकाँश जापानी नागरिकहरु बौद्ध धर्मावलम्बी भएको कारणबाट पनि नेपाल र जापानको सम्बन्ध अत्यन्त घनिष्ट रहँदै आएको छ । यो घनिष्टतालाई थप उचाई प्रदान गर्दै नेपाल जापान सम्बन्धलाई अझ मजबुत बनाउने, नेपालको बिकासमा जापानको सहयोग अभिबृद्धि गर्ने, जापानीहरुको लगानी नेपालमा भित्र्याउने, निर्यात ब्यापार र पर्यटन प्रबर्द्धन गर्ने जस्ता जिम्मेवारीपूर्ण कार्यहरुलाई महत्वपूर्ण अवसरकोरुपमा लिएको छु भने अर्कोतिर ६० हजार भन्दा बढि नेपालीहरु रहेको जापानमा पछिल्ला दिनमा अप्रिय घटनाहरुको शृङ्खला बढिरहेका छन् । यी समस्याहरुलाई के कसरी समाधान वा न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरा हाम्रो सामु मुख्य चुनौतीकारुपमा रहेका छन् । यहाँ रहेको नेपाली समुदायसंग सहकार्य गर्दै विद्यमान समस्याहरुलाई समाधान गर्ने र यहाँका नेपालीहरुलाई बढि भन्दा बढि कसरी सेवा दिन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहने योजनाअनुसार दूतावास अगाडि बढिरहेको छ ।

जापानमा पछिल्ला समयमा नेपालीहरुको रहष्यमय आकस्मिक निधन, आत्महत्या जस्ता अप्रत्याशित दुखद घटनाहरु बाक्लिन थालेका छन्, यसलाई दूतावासले कसरी हेरिरहेको छ ?
पछिल्ला समयमा जापानमा नेपालीहरुको आकस्मिक मृत्युवरण, आत्महत्याको शृङ्खला बढिरहेको छ । यो अत्यन्त दुखदायी बिषय हो ।आत्महत्या गर्नुको पछाडि विविध कारणहरु हुन सक्लान्, विद्यार्थी वा अरु कुनै पृष्ठभूमिका नेपाली जो भए पनि अपेक्षित सफलता हासिल गर्न नसक्दा डिप्रेशनको शिकार हुनु र मनोवल कमजोर हुँदै गएपछि गलत बाटो रोज्ने प्रबृत्ति बढेको छ । विद्यार्थी होस् वा अरु जो कोही ऋणधन गरी ठूलो धनराशी खर्च गरेर जापान आउने र त्यसको समाधान समयमै हुन नसक्दा नेपालीहरुको मनोबल गिर्ने गरेको पाईन्छ । अर्कोतिर जुन उद्देश्यका लागि जापान आएको हो त्यसका लागि आफुलाई पूर्णरुपमा तैयारी गरेर नआएको देखिन्छ । बिद्यार्थीहरुकै कुरो गर्नुपर्दा अध्ययनलाई भन्दा कमाईलाई प्राथमिकता दिने र छिटो आर्थिक हैसियत राम्रो बनाउने महत्वाकाँक्षा बोक्ने गरेको पाईन्छ । जापान आउने बेलामा नेपालका सरोकारवलाहरुले पनि उनीहरुलाई जापानको बारेमा वास्तविक जानकारी पूर्णरुपमा दिने गरेको पाईदैन, राम्रो कमाईको प्रलोभन मात्र देखाएर जापान पठाउने प्रवृत्तिले गर्दा पनि अपेक्षित प्रगति र उपलब्धि हासिल गर्न नसक्दा गलत निर्णय लिने गरेको पाईन्छ । त्यसकारण जापान आउनु अघि हरेक नेपालीले अन्धाधुन्ध होइन, आफु कुन उद्देश्यका लागि जापान आउन लागेको हो राम्रोसंग सोचेर, बुझेर, भाषा सिकेर पूर्णरुपमा जानकार भएर जापान आउन अपिल गर्न चाहान्छु ।

यस्ता समस्याहरुलाई निर्मुलिकरण गर्न नसकिए पनि न्यूनिकरणका लागि दूतावासले के गर्दै छ ?
खासगरी जापानमा विद्यार्थी र कुककारुपमा आउने नेपालीहरुमा यो समस्या बढि देखिएको छ । नेपालीहरुको आकस्मिक निधन र आत्महत्याका पछाडि कारणहरुको पहिचान र अध्ययन गर्न दूतावासको सहयोग र एनआरएन जापानको पहलमा एक छानबिन समिति गठन गरिएको छ । समितिको रिपोर्ट आउन बाँकी नै छ । त्यसपछि हामी यहाँको नेपाली समुदायसंग सहकार्य गर्दै अगाडि के कस्तो कदम चाल्ने भन्ने बिषयमा निर्क्यौल गर्नेछौं । संगसंगै दूतावासले बाँके बर्दिया मैत्री समाजसंग मिलेर एउटा सचेतनामुलक कार्यक्रम गर्न गईरहेका छौं । उक्त कार्यक्रममा समाजका अगुवाहरुमार्फत नेपालीहरुमा सम्बन्धित बिषयका ज्ञाताहरुबाट बिभिन्न बिषयमा जानकारी गराईने छ भने भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई बिस्तार गर्दै लैजाने योजना छ ।

पछिल्ला दिनहरुमा नेपालीहरु धरपकड तथा हिरासतमा पर्ने गरेका घटनाहरु बाक्लिन थालेका छन् यसबारेमा दूतावास के कति जानकार छ ?
दूतावासलाई प्राप्त जानकारीअनुसार बिभिन्न कारण प्रहरी प्रशासनको धरपकडमा पर्ने, हिरासतमा पर्ने नेपालीहरुको संख्या बढेको छ । नेपालीहरुले जापानमा सिक्नैपर्ने कुराहरु सिक्नेतिर अलि ध्यान नपुगेको हो कि भन्ने लागेको छ । जापान आईसकेपछि कमसेकम यहाँका राम्रा कुराहरु सिक्न जरुरी छ । उनीहरुको देशमा आईसकेपछि उनीहरुसंगै काम गर्ने, उनीहरुसंगै घुलमिल हुनुपर्ने भए पछि उनीहरुका राम्रा पक्ष पनि सिक्नुपर्ने हुन्छ, तर नेपालीहरुमा त्यतातिर ध्यान जानुको सट्टा यहाँको प्रहरी प्रशासन तथा अध्यागमनले निगरानी बढाउन थालेको, नेपालीहरु धरपकडमा पर्ने गरेको जस्ता घटनाहरु बाक्लिन थालेका छन् । बिशेषगरी मद्यपानसंग जोडिएका घटनाहरुका कारण नेपालीहरु धरपकड तथा हिरासतमा पर्ने गरेको जानकारी हामीकहाँ आउने गरेका छन् ।यसप्रकारका घटनाले हामी नेपालीहरुको प्रतिष्ठामा आघात पुर्‍याउँदछ । यस्ता घटनाहरु हुन नदिन समाजका सबै जिम्मेवार अगुवाहरु आ-आफ्नो ठाउँबाट सजग हुन आवश्यक देखिन्छ ।

दूतावासको भूमिका र यहाँका नेपालीहरुले गर्ने अपेक्षामा मेल नखाएको जस्तो देखिन्छ नि ?
यहाँका नेपालीहरुलाई दिनुपर्ने नियमित सेवामा दूतावास सँधै तल्लिन भएर काम गरिरहेको छ ।दूतावासबाट प्रदान गर्नुपर्ने नियमित सेवामा कुनै समस्या छैन, सेवाग्राहीका कामकाजलाई प्राथमिकतामा राखेर सहज र शिघ्रताशिघ्र सेवा प्रदान गरिरहेका छौं । आवश्यक परेमा अरु सुधार पनि गर्दै जानेछौं । ६० हजार नेपाली भएको जापानमा टोकियोमा रहेको एउटा दूतावासले यहाँका सबै नेपालीहरुका सबै प्रकारका अपेक्षा पुरा गर्न गाह्रो छ । दूतावासको पनि कार्यक्षेत्रका आफ्नै सिमाहरु छन् । नियमानुसार मिल्ने र सक्ने सेवा प्रदान गर्न दूतावास दृढ भएर लागिपरिरहेकै छ । पछिल्ला समयमा देखिने गरेका हरेक खालका समस्याहरुको पनि तुरुन्ता तुरुन्तै दूतावासले नै निदान गरिदेओस् भन्ने अपेक्षा पनि होलान् । ती सबै खाले अपेक्षा पुरा गर्न दूतावासलाई पनि समयअनुसार सक्षम बनाउँदै लैजानुपर्ने हुन्छ ।

जापानी भाषाको प्रधानता भएको देशमा भाषाका कारण कार्यसम्पादनमा के कस्ता गाह्रो-सजिलो पाउनुभएको छ ?
काम गर्ने क्रममा कहिलेकाँही यहाँको भाषाको समस्याले गर्दा निकै असहज महशुस हुने गरेको छ । यसै कुरालाई मध्यनजर राख्दै म लगायत दूतावासका सबैले अनिवार्य जापानी भाषा सिक्नुपर्ने नियम बनाएर गत दुई हप्तादेखि जापानी भाषा सिक्न थालेका छौं । यो नजिर पछिसम्म रह्यो भने झनै राम्रो हुने बिश्वास पनि लिएको छु ।

कार्यबाहक राजदूत भएर काम गर्दै गर्दा हालसम्मको अनुभव र कार्यसम्पादनप्रति के कति सन्तुष्ट हुनुहुन्छ ?
मैले जिम्मेवारी सम्हालेको मात्र ५ महिना भयो । हालसम्मको कार्यसम्पादनबाट म निकै सन्तुष्ट छु । जिम्मेवारी सम्हालेको छोटो अवधिमै जापानमा हुने गरेका नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रमहरुमा सहभागिता जनाउने र नेपालको बारेमा जानकारी गराउने, नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण रहेको बारेमा बिश्वस्त तुल्याउने, लगानी भित्र्याउनका लागि संभावित उद्यमी, ब्यवसायीहरुसंग भेटघाट गर्ने, लगानीकर्ताहरु नेपाल पठाउने लगायतका केही गहकिला र सन्तोषप्रद कामहरु भएका छन् । भूकम्पपछि नेपाल त भूकम्पले तहस नहस भएको देश भन्ने एक प्रकारको भ्रम जापानभरि फैलिएको रहेछ, त्यो भ्रमलाई चिर्न हामीले भरमग्दुर प्रयास गरिरहेका छौं ।जसअनुसार अहिलेसम्म करिव पाँचवटा भन्दा बढि जापानी कम्पनीहरुलाई नेपाल पठाईसकेका छौं । केहीले काम पनि सुरु गरिसकेका छन् । नेपालमा लगानी गर्न ईच्छुक थप केही कम्पनीहरु दूतावाससंग नियमित सम्पर्क र छलफलमा छन् । उनीहरु बैंकर्स र विज्ञहरुसहित दूतावासमा अन्तिम छलफलमा आउने भएका छन् । जापानीहरुको स्वभावलाई हेर्दा जापानका दुई चारवटा स्थापित र ठूला कम्पनीहरु नेपाल लैजान सक्ने हो भने अरु धेरै कम्पनी पछि लागेर जान सक्ने प्रवल संभावना देखिन्छ । त्यतातिर पनि हामीले बिशेष ध्यान दिईरहेका छौं ।

आफ्नो कार्यकालका प्राथमिकतामा रहेका यहाँको कार्ययोजनाहरु के के छन् ?
जापानबाट नेपालको पर्यटन प्रबर्द्धन गर्न र जापानी लगानी भित्र्याउन दूतावासको निरन्तर प्रयास जारी रहने नै छ । यसबाहेक जापानजस्तो नेपालको असल मित्रराष्ट्र र पहिलो दातृराष्ट्रमा दूताबासको आफ्नै भवन हुनु जरुरी ठानेको छु । जिम्मेवारी सम्हाल्न जापान आएदेखि नै मलाई अभाव खड्केको यो महत्वकाँक्षी योजनालाई आफ्नो कार्यकालभित्रै मुर्तरुप दिन सकेमा अहोभाग्य ठान्ने छु । सकेसम्म भवननै नभए पनि जग्गामात्र भए पनि ब्यवस्था गर्न सकेमा धेरै राम्रो हुने ठानेर मैले आवश्यक प्रक्रिया अगाडि बढाईसकेको छु । जसअअनुसार बिस्तृत जानकारी र अनुमानित बजेटसहित खरिद प्रक्रिया अगाडि बढाउन अनुमतिका लागि प्रस्तावित योजना परराष्ट्र मन्त्रालयलाई पठाईसकेको छु । जापानमा पनि सम्बन्धित सरोकारवला निकायहरुसंग संवाद थालिसकेको छु । सकारात्मक संकेत प्राप्त भईसकेको छ । यहाँका प्रबुद्ध नेपालीहरुको चाहना पनि दूतावासको आफ्नै भवन होस् भन्ने रहेको पाएको छु । उहाँहरुबाट पनि प्राप्त आवश्यक सहयोगको यथेष्ट आश्वासनबाट अत्यन्तै प्रभावित भएको छु, यस मानेमा पनि मलाई ज्यादै खुशी लागेको छ, आशा गरौ केही वर्षभित्रै जापानको नेपाली दूतावास आफ्नै भवनमा हुने छ ।

कार्यबाहक राजदूतका हैसियतले काम गर्दा सजिला असजिला अनुभव कस्तो पाउनुभएको छ ?
राजदूत र कार्यबाहक राजदूतको हैसियत अवश्य पनि फरक हुने नै भयो । जुन कुरा छोटो समयमै मैले पनि महशुस गर्ने अवसर पाएँ । दुई देशबिचका उच्च महत्वका बिभिन्न बिषय र सन्दर्भमा पहुँचका हिसाबले, रेस्पोन्सका हिसाबले र अन्य हिसाबले पनि गरिने र हेरिने दृष्टिकोणमा धेरै फरक पाएको छु । यद्यपि छोटो अनुभवका आधारमा भन्नुपर्दा मलाई के लाग्छ भने एउटा राजदूतले चाहने हो भने मुलुकका लागि धेरै काम गर्न सकिने रहेछ ।

नेपालकी एकजना चेली सबिना महर्जन धेरै वर्ष पहिलेदेखि जापानमा बेपत्ता छिन्, वास्तविकता के हो, यस प्रकरणलाई दूतावासले कसरी हेरिरहेको छ ?
दूतावासलाई प्राप्त जानकारी अनुसार हराईरहेकी सबिना महर्जनलाई जापानको प्रहरीले ब्यापकरुपमा खोजतलास गर्दा पनि हालसम्म नभेटिएको र खोजी कार्य निरन्तर जारी रहेको भन्ने रिपोर्ट जापान प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखालाई दिईसकेको छ । जापान प्रहरीको खोजीकार्यको परिणाम नेपाल प्रहरीको इन्टरपोल शाखाले सबिनाको परिवारलाई पनि जानकारी गराईसकेको छ । तर त्यो रिपोर्ट नेपाली दूतावासलाई भने उपलब्ध गराईएको छैन । जापान प्रहरीले त्यतिबेलैदेखि आफ्नै ढंगले ब्यापकरुपमा खोजी कार्य गर्दै आईरहेको छ भने दूतावासले पनि आफ्नो तर्फबाट गर्न मिल्ने कूटनीतिक पहल गर्दै आईरहेको छ । रिपोर्ट इन्टरपोललाई बुझाउनुको पछाडि केही कारणहरु होलान् त्यसबारेमा जापान प्रहरीले दूतावासलाई केही जानकारी गराएको छैन । अहिले पनि जापान प्रहरीसंग सबिना महर्जन प्रकरणका बारेमा दूतावासको समय समयमा कुराकानी भईरहेको छ । उनीहरुले अहिले पनि खोजी कार्य निरन्तर जारी रहेको र यस सम्बन्धमा थप सूचना केही प्राप्त भएमा जानकारी गराउन अनुरोध गर्ने गरेका छन् । तसर्थ जापानबासी नेपालीहरु र सबिनाको अभिभावकहरु सबिना महर्जन प्रकरणमा जापानको प्रहरी प्रशासन र दूतावास चुप लागेर बसेको भन्ने भ्रममा नपर्न अपिल गर्न चाहान्छु । यस्ता अत्यन्तै संबेदनशील कुराहरुमा वास्तविकता बुझ्दै नबुझी आरोपप्रत्यारोपमा उत्रेर मानमर्दन हुनेगरी अनावश्यक मिडियाबाजी गरेर जापानीहरुमाझ राम्रो सन्देश जाँदैन । तत्सम्बन्धमा परिवारलाई वा जो कोहीलाई थप जानकारी चाहिएमा नेपाल प्रहरीको इन्टरपोल शाखामा सम्पर्क गर्न सक्नुहुने छ ।

अन्तमा, जापानमा रहेका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
जापानमा रहनुभएका नेपालीहरुले जापानको राम्रो पक्षहरुलाई उच्च महत्वकासाथ सिक्नेतिर ध्यान दिनुहोला । यहाँको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यहाँको भाषा हो भन्ने कुरालाई कहिलै नबिर्सनुहोला । संभावना नै संभावना भएको देश जापानमा यहींको भाषाको बाहुल्यता भएकोले भाषामा दखलता हासिल गर्नुभयो भने अवसर र सफलताले सँधै पछ्याउने छन् । जापानमा धेरै भन्दा धेरै नेपालीहरु ब्यवसायतर्फ लाग्नुभएको छ, अबको समयमा ब्यवसायलाई विविधिकरण गर्न जरुरी देखेको छु । ब्यवसायिक प्रबर्द्धनका लागि यहाँहरुलाई आवश्यक पर्ने सहयोग गर्न दूतावासको ढोका सँधै खुल्ला रहने छ । अर्कोतिर कार्यब्यस्तता, कार्यबोझ, थकान, मानसिक तनाव, डिप्रेशन जस्ता कुराहरुबाट सँधै टाढै रहनुहोला । स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।
नेपालबाट जापान आउने योजनामा रहनुभएका नेपालीहरुले जापानी भाषा राम्रो बनाएर मात्र आउनुहोला । जापान जापान मात्र भनेर अरु कुरा बिर्सेर आउने भन्दा पनि आफु आएर कसरी स्थापित हुने भन्नेतर्फ सोचेर बिचार गरेर, बुझेर मात्र जापान आउनुहोला । कुनै प्राविधिक बिषयमा ब्याचलर वा माष्टर डिग्री हासिल गरेका र भाषा राम्रो भएका नेपालीहरु सिधै काम गर्न आउन पाउने प्रावधान पनि छ । यस्ता अवसरहरुका बारेमा पनि नेपालीहरु जानकार हुनुहोला । अन्तमा, मेरा आफ्ना केही भनाईहरु राख्ने अवसर दिनुभएकोमा जापानबाट सन्चालित लोकप्रिय अनलाईन समुद्रपारि डट कम परिवारप्रति आभार ब्यक्त गर्दछु । ***

तपाईको प्रतिक्रिया