शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेगासिटी निर्माण गर्न आग्रह गरेको छ ।

टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग भेट गरी बृहत र एकीकृत सेटलाइट मेघासिटीको प्रस्ताव अघि सारेको हो ।

प्रस्तावमा काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकास र सेटलाइट मेगासिटीका रुपमा विकास गर्न, महाभारत पर्वतमालामा पर्यटन चक्रपथ र त्यसको बेसीमा पर्यटन नगर विकास गर्न, भूकम्पको पूनर्निर्माण र नवनिर्माणका लागि उपत्यकाबाट महाअभियान घोषणा गर्न माग गरिएको छ ।

त्यसैगरी राजधानी विकास बोर्डको गठन गर्न, विश्व रिसर्च सेन्टर र पर्यटन विश्वविद्यालय स्थापना गर्न, राष्ट्रव्यापी होमस्टे निर्माणको थालनी गर्न र यी सबै प्रयोजनका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत र व्यवस्थित विकास आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘राजधानीको व्यवस्थित विकासका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बृहत योजना र एकीकृत विकास आवश्यक छ । यसबारे मैले पहिलेदेखि नै चासो राख्दै आएको छु । तपाईहरुले प्रस्तुत गर्नुभएको अवधारणा मौलिक र नयाँ पनि छ ।’

सबै पक्षसँग बृहत अन्तरक्रिया गरेर अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले सकारात्मक सहयोगका लागि सरकार सधैं तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया