बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

ओखलढुंगा  – गएको पाँच दिनदेखि पहिरोले अवरुद्ध सिद्धिचरण राजमार्ग लगातारको वर्षाका कारण खुलाउन समस्या भएको छ । दुई वटा इस्काभेटरले भत्किएको सडक दिनभरि खने पनि रातभरि पर्ने पानीले पहिरो जाने क्रम नरोकिएपछि राजमार्ग खुलाउन समस्या भएको हो ।

ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई राजधानी तथा तराईसँग जोड्ने एकमात्र राजमार्गमा  पहिरो गएपछि गाडी सडकमा नै अलपत्र परेका छन् । सडकको दुई सय मिटरसम्म भाग पहिरोले बगाएपछि गाडी चल्न नसकेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । पहिरो उदयपुरको हर्देनीमा गएको हो ।

गाडी नचल्दा पहाडी जिल्ला ओखलढुङ्गामा खाद्यन्न तथा  डिजेल, पेट्रोलजस्ता दैनिक उपभोग्य  वस्तु अभाव भएका छन् । सडक खुलाउन माथिल्लो निकायमा पहल भइरहे पनि वर्षाले समस्या देखिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

राजमार्ग अवरुध भई ढुवानीमा समस्या भएपछि निर्माण सामाग्रीको अभावमा जिल्लामा निर्माणधीन आयोजनाहरु पनि रोकिएको छ । अत्यावश्यक वस्तुहरुको अभाव भएको व्यवसायीहरुले बताएका छन्,  ढुवानी रोकिएसँगै व्यापारीहरुले खाद्यन्नमा मूल्य बढाएका छन् ।

तपाईको प्रतिक्रिया