शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । चितवन उद्योग सङ्घका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

शक्तिखोरमा हाल दुई हजार ५०० बिगाहा जग्गा रहेको भन्दै प्रतिनिधिमण्डलले जग्गाको संरक्षण एवम् औद्योगिक क्षेत्रको विकास एवम् आर्थिक समृद्धिका लागि पनि उपयुक्त थलो रहेको बताएको थियो । यस्तै प्रतिनिधिमण्डलले चितवनमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनामा पनि सहयोग गरिदिन आग्रह गरेको व्यवसायी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलको आग्रहपछि प्रधानमन्त्री दाहालले चितवनलाई औद्योगिक नगरी बनाउने विषय रणनीतिक महत्वको विषय भएकाले त्यसलाई पूर्ण सहयोगका साथ अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले चितवन जिल्लाको विकास निर्माणका साथै आर्थिक गतिविधि बढाउन सरकारको तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसबारेमा आफूले केही निर्णय गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकिय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो ‘‘ चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव रणनीतिक महत्वको कुरा हो । यसमा आवश्यक पहल गर्छु । प्रदर्शनी केन्द्रका लागि पनि सरकारको तर्फबाट आवश्यक सहयोग एवम् पहल हुन्छ । तपाईहरुले त्यसका लागि छिट्टै आवश्यक पहल गर्नुस् ।

तपाईको प्रतिक्रिया