शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

Dharma Raj Adhikariजनसम्पर्क समिति जापानको छैटौं अधिबेशन आगामी २४ अगस्तमा सम्पन्न हुन गैरहेको छ । कुनैपनि संगठनको राष्ट्रिय अधिबेशन यस कारण महत्वपूर्ण मानिन्छ कि यसले संगठनको गएको दुइबर्षको अबधिको समीक्षा गर्दै भविष्यको लक्ष्य र कार्य दिशा निर्धारण गर्दछ । नेपाली जनसम्पर्क समिति भनेको नेपाली कांग्रेसको भातृ संस्था वा शुभेच्छुक संस्थाको रुपमा मान्यता नभएपनि नेपाली कांग्रेसले अाफ्नो बिधानमा छुट्टै व्यवस्था  गरेको छ । “नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिबद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरुले पार्टीको केन्द्रीय समितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्ने छन् । त्यसैले नेपाली कांग्रेसको बिधानले विदेशस्थित जनसम्पर्क समितिहरुलाई एउटा छुट्टै दृष्टिकोणबाट हेरेको देखिन्छ । तर पनि जनसम्पर्क समितिहरुका संगठन, क्रियाकलाप तथा कार्यक्रमहरु सम्बन्धमा स्पस्ट दृष्टिकोण तथा नीति बनेको भने देखिदैन। त्यसरी नै जनसम्पर्क समितिहरुले नेपाली कांग्रेसको सिद्धान्त मान्यता र मूल्यहरुप्रति प्रतिबद्ध रही संस्थागत व्यवहार एबम पार्टी प्रतिको निष्ठा र समर्पणलाई प्रस्तुत गर्दै प्रवासी नेपाली जन समुदायको नेतृत्व गर्ने अहम कार्यमा केन्द्रित हुनुपर्ने र प्रवासी नेपाली समाजमा नेपाली कांग्रेसको बलियो संगठन निर्माण गर्दै प्रवासी नेपालीका सबै प्रकारका समस्याहरुमा साथ सहयोग दिदै जानुपर्ने र एउटा ब्यबस्थित प्रजातान्त्रिक चरित्र भएको संगठनको पहिचान बनाउन अावश्यक थियो जुन अहिलेसम्म हुन सकिरहेको छैन ।

त्यसैले विदेशस्थित सबै जनसम्पर्क समितिहरुको सामू एउटा गंभीर प्रश्न र चुनौती देखिन्छ कि जनसम्पर्क समितिले नेपाली कांग्रसको संगठनात्मक ढांचामा कहां र कस्तो स्वरुप र चरित्रमा विकसित गर्ने हो र विदेशमा रहेका समस्त नेपाली कांग्रेसका कार्यकर्ताहरुको संगठनको रुपमा कसरी विकसित गर्न सकिन्छ ? वर्तमान अवस्थामा देखिएका नेपाली जनसम्पर्क समितिहरु साच्चै नै नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिबद्ध र समर्पित भएर नेपाली कांग्रेसको संगठन विकासमा के कस्तो भूमिका र जिम्वेवारी सम्पन गरेको छ, गर्नुपर्ने हुन्छ भनेर समीक्षा पनि गर्नु पर्ने बेला आएको छ । यसमा पर्याप्त बहस र छलफल हुन जरुरत छ । हाल अस्तित्वमा रहेका जनसम्पर्क समिति र तिनीहरुको गतिबिधिलाई नेपाली कांग्रेसले कुन उद्देश्यमा यसको संगठन परिचालित गरेको छ भनेर ठ्याक्कै भन्न नसके पनि विदेशस्थित जनसम्पर्क समितिहरुको सही ब्यबस्थापन र संचालन गर्न सक्ने हो भने नेपाली कांग्रेस पार्टीलाइ धेरै ठूलो सहयोग र समर्थन प्राप्त हुने कुरामा दुइमत छैन ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हालसालै अाफ्नो अमेरिकाको भ्रमणमा जनसम्पर्कका साथीहरुलाई “तपाईहरुले कांग्रेसलाई पैसा होइन, विचार दिनुहोस भन्नुभएको कुराले के प्रस्ट हुन्छ भने जनसम्पर्क समितिहरु प्रति नेपाले कांग्रेसले गरेको आशा एवं अपेक्षा वैचारिक सहयोग, विचारको प्रवाह, चेतनाको प्रवाह जुन् नेपाली समाजको रुपन्तरको लागि अति आबस्यक छ नेपाली समाजलाई बदल्नु पर्ने जिम्वारी नेपाली कांग्रेसको काँध माथि छ र त्याे केबल बिचार र चेतनाको सवल र ससक्त प्रवाहबाट सम्भव छ । जननेता बि. पि. कोइरालाले मार्क्सबादको बैचारिक कमजोरीको उल्लेख गर्दै ‘मनिस ब्रेडले होइन ब्रेनले संचालित हुन्छ’ भन्नु भएको थियो तर बिडम्बनाको कुरा के देखिन्छ भने अहिले हामी र हाम्रा अधिकांश संस्थाहरु विचार विहीन, चेतना विहीन, चरित्रविहीन, मूल्यमान्यता विहीन अवस्थामा बिकसित भैरहेका देखिन्छन । राजनीति केवल सत्ता प्राप्ति र संघ संगठनहरु केवल पद प्रतिष्ठा प्राप्तिका कठोर एवं जालसाजी पूर्ण खेलमा सीमित भएका देखिन्छन । नेपाली कांग्रेस पार्टी जो नेपालमा प्रजातन्त्रको संवाहक बनेको छ यसले र यसका इमान्दार एवं सिद्धान्त निष्ठ कायकर्ताले मात्र नेपाली समाजमा प्रजातन्त्र/लोकतन्त्रको असली व्यवहार र ब्यबस्था निर्माण र विकास गर्न सक्छन तर यदी नेपाली कांग्रेस र यसका संगठनहरु प्रजातान्त्रिक मान्यता र मुल्यहरुबाट निर्देशित हुन सकेनन् भने प्रजातान्तिक चरित्र र ब्यबहारको इमान्दार प्रदर्शन गर्न सकेनन् भने फेरि जननेता बिपीले भने जस्तै प्रजातन्त्र केही मुट्ठीभरका सुकिला मुकिलाहरुको लागि हुन जान्छ र आम नेपाली जनताले प्रजातन्त्रको फल चाख्न पाउने छैनन भने जस्तो स्थितिको सृजना हुन सक्दैन भन्न सकिदैन ।

त्यसैले जनसम्पर्क समितिहरु पनि विदेशस्थित नेपाली समाजमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दछ । यसको महत्व र दायित्व व्यापक छ तर जब यी संगठन केही मुठीभरका गैर राजनीतिक व्यक्ति अथवा समूहहरुको प्रभाबमा पर्छन, निहीत स्वार्थपूर्ति गर्न पैसा र पदको आधारमा संगठन भित्र चरम विसंगति, विवाद  र बिभाजन गर्छन तब युवा नेता गगन थापाले भने जस्तो यी सस्थाहरुको औचित्य छ कि छैन भनेर पार्टीले मुल्यांकन गर्नु पर्ने बेला आएको छ भन्ने कुरा बुझ्न गारो नपर्ला । विकसित देश र विकसित समाजमा बसेर जनसम्पर्क समितिले गर्ने कामहरु साच्चै नै नेता थापाले भने जस्तो नेपाल र नेपालीको लागि उदाहरणीय हुनु पर्ने हो । प्रजातन्त्र के हो? प्रजातान्त्रिक मान्यता मूल्य के हुन् ? संगठन के हो? यसको संचालनको विधी के हो? भनेर एउटा विचार र विधी सिकाउनु पर्ने जनसम्पर्क समितिहरु त्यसको बिपरित यिनको (जनसम्पर्क समिति) विवाद मिलाउन नेता नेपालबाट आउन पर्ने, यिनले सङ्गठनको संचालनको कुनै बिधिबिधानको पालना गर्न नपर्ने,आम कार्यकर्ताको हित बिपरित केही मुट्ठीभरका गैरकांग्रेसी चरित्र भएका व्यक्तिहरुको प्रभावमा संगठनको संचालन हुने र प्रजातान्त्रिक मान्यता र मुल्यको उपहास हुने, नेपाली कांग्रेसका निष्ठावान र समर्पित कार्यकर्ताहरुको अपमान र मानमर्दन हुने र अन्ततोगोत्वा नेपाली कांग्रेसको शाख गिर्ने जस्ता कामहरु हुने हो भने यस्ता संगठनहरुको कुनै औचित्य छैन र यसको संचालनमा नेपाली कांग्रेसले गंभीर भएर सोच्न पर्ने अवस्था आउन सक्छ ।

निकट भबिस्यमा हुन गैरहेको नेपाली जनसम्पर्क समिति जापानको अधिबेशनले पनि बिगत दिनहरुमा यसले खेलेको भूमिका एवं यसका सांगठनिक क्रियाकलापहरुको बस्तुनिष्ठ भएर समीक्षा गर्ने नै छ । करीव ६० हजार नेपाली वसोवास गर्ने नेपाली समाज जापानमा जनसम्पर्क समिति जापानको संगठन र भूमिका सानो छैन । हामीले कति गर्न सकेका छौं, कति गर्न सकेका छैनौं भन्ने कुराको पनि आत्मसमीक्षा पनि हुन जरुरत छ । तर जनसम्पर्क समिति जापानले के कुरा प्रस्ट बुझ्न जरुरत छ भने यो संगठन कांग्रेसको संगठन हो । यो कुनै अन्तराष्ट्रिय गैर सरकारी संस्था (एनजिअो) होइन न त यो कुनै ब्यापारिक संस्था हो  । यो निश्चित राजनैतिक विचार बोकेको संस्था हो, जो नेपाली कांग्रेसप्रति प्रतिबद्ध छ र कांग्रेस पार्टीको नीति नियम र निर्देशनमा संचालित हुन्छ । हाम्रा गतिबिधिहरुले यो संगठनलाई कता लाँदैछौं ? कसको हितमा काम गर्दैछौं? भन्ने कुरा पनि सोच्ने बेला आएको छ । कतै यस सस्थामा केही निश्चत स्वार्थ भएका व्यक्तिहरुको कब्जा त बढी रहेको छैन ? कतै यसले अत्यन्तै केन्द्रिकृत रुपमा संचालन गरेर क्षेत्रीय संगठनहरुलाई कम्जोर र बेकम्मा बनाउने र केन्द्रमा निश्चित स्वार्थ समूहहरुको गठ्बधनमा संस्था कब्जा गर्ने प्रवृति हाबी भएको त छैन? हाम्रो जनसम्पर्क समिति जापानले कस्तो चरित्र र व्यवहारलाई बिकसित गर्दै आइरहेको छ भन्ने कुरा पनि जापानबासी सबै नेपाली कांग्रेसका निष्ठावान कार्यकर्ता एबम शुभचिन्तकहरुले आउने अधिबेशन मा मुल्यांकन पक्कै गर्नु हुने नै छ ।

अन्तमा, यो संगठन र प्रस्ताबित अधिबेशनले प्रजातान्त्रिक मुलुक जापानमा बसेर नेपाल र नेपालीलाई एउटा प्रजातान्त्रिक संगठनको उदाहरण देखाउन सक्नु पर्छ । यस अधिबेशनले नेपाली राजनीतिमा मात्रै नभई बिदेशी भूमिमा समेत देखिएका भ्रस्टाचार,अनैतिक चरित्र, नेताको चाकडी र चाप्लुसी अनि व्यक्ति तथा संगठनहरुका अप्रजातान्त्रिक क्रियाकलाप एबं चरित्रको नियन्त्रण एउटा सभ्य र सुसंस्कृत प्रजातान्त्रिक संगठनको संचालनबाट मात्र गर्न सकिन्छ भन्ने उच्च विचार राक्न सकोस् र कांग्रेसको इज्जत र प्रतिष्ठालाई सधैं उच्च राख्न सकोस भन्ने हार्दिक शुभकामना ।
(अधिकारी जनसम्पर्क समिति जापानको काउन्सिल सदस्य हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया