शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

company-registerचितवन-अब मोफसलका व्यवसायीलाई कम्पनी दर्ता गर्न राजधानी धाउनु नपर्ने भएको छ । अनलाइनमार्फ दर्ता गर्ने प्रक्रिया शुरू भएपछि बाहिरका व्यवसायीलाई राजधानी धाउनुपर्ने बाध्यता हटेको हो ।
अब कम्पनी ऐन रजिस्ट्रारको कार्यालयले सार्वजनिक गरेको वेबसाइट www.ocr.gov.np  मा लगइन गरेर दर्ता गर्न सकिने व्यवस्था गरिएको कार्यालयका इन्जिनियर सरदजङ देवानले जानकारी दिनुभयो ।
कार्यालयको वेबसाइटमा गएर युजर नाम बनाएपछि दिइएको फारम भरेर दर्ता गर्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौँ पुगेर कुर्नुपर्ने र निकै झन्झट व्यहोर्नुपर्ने अवस्थामा यस्तो नयाँ प्रविधि भित्रिनु महत्वपूर्ण उपलब्धि भएको चितवनका व्यवसायीले बताएका छन् ।
उद्योग व्यवसायी डा तिलचन्द्र भट्टराई सुरक्षित हुन सके जिल्लाबाटै कम्पनी दर्ता गर्न सकिने भएपछि पैसा र समयको बचतसमेत हुने बताउनुहुन्छ । कार्यालयले सबै सूचना गोप्य हुने आश्वासन पनि व्यवसायीहरुलाई दिएको छ ।
कार्यालयका रजिस्ट्रार शङ्कर अर्यालले केही महिना अगाडि सेवा शुरु गरिएको भए पनि चितवनमा भने पहिलोपटक व्यवसायीहरुलाई औपचारिक जानकारी गराएको बताउनुभयो ।
उहाँका अनुसार हाल नेपालमा कुल एक लाखभन्दा बढी कम्पनी दर्ता भइसकेको छ । अनलाइनमार्फत दर्ता गर्ने क्रम पनि चलिरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया