शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
राजेन्द्र थापाको आफ्नै स्थापित परिचय छ । ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ…’, ‘पर लैजाऊ फूलहरू…’ जस्ता कालजयी गीतसँगै ‘दर्शन नमस्ते…’, ‘क्या दामी भो…’ जस्ता नयाँ पुस्ते मनोविज्ञान समेटिएका सयौं गीतहरूसँग मात्रै जोडिएको छैन उनको परिचय । द्वन्द्वकालमा जर्साप भएर सुदूरपश्चिम पुग्दा उताकै दु:खमा डुबेर ‘सुर्जे पनि अस्ताउन मात्रै आउँछ हाम्रो पश्चिममा’ गजलकृतिसँगै ‘भुइँमान्छे’ जस्ता चर्चित मुक्तक कृतिहरूसमेत निकालेका उनी अब उपन्यासकारको छविमा स्थापित हुन खोज्दैछन् । उनले नयाँ पुस्ताको प्रेम र यौन मनोविज्ञान समेटेर लेखेका उपन्यास ‘खेलौना’ लेखनक्रममा एकाएक चर्चामा आयो र चार लाख रुपियाँ साइनिङ एमाउन्ट पनि लिए । शुक्रबार मात्रै याम्बुरी बुक प्वाइन्टले सार्वजनिक गरेको उपन्यास ‘खेलौना’को सेरोफेरोमा उनीसँग गरिएको कुराकानी :
गीत, कविता, गजल, मुक्तकमै चर्चित् हुनुभएको मान्छे, फेरि उपन्यास विधामा किन प्रवेश गर्नुभएको ?
प्रवेश हैन वापसी । ८ वर्षको उमेरमा कविता र १० वर्ष हुँदा नै नाटक लेखेर एक्ट गरिसकेको हुँ । २०३० सालमा लेखेको उपन्यासको पान्डुलिपि रत्न पुस्तक भन्डारमा हराएपछि उपन्यास लेख्ने मुड हटे पनि ‘मायालु’ फिल्मको संवाद लेखेको थिएँ । तर, उपन्यासमा अघि बढिनँ । कथा पनि लेखेकै हुँ । तर, यो विधा पनि छाडेकै साढे तिनदशक भो । दर्जनौं नाटक लेखेर आफ्नै संस्था (नेपाल आर्मी) मा देखाएको थिएँ ।
झन्डै चार दशकपछि अचानक उपन्यासमा फर्किनु भो । ३० दिनमै लेखिसकेको भन्दै चर्चा पनि चलिरहेको छ । कसरी यो सब भयो ?
गीतसँगसँगै गजल, कविता र मुक्तकमा पनि उत्तिकै सफलता मिलेपछि कथा लेख्न थाल्ने योजना गरिरहेको थिएँ तर मन भने गइरहेको थिएन । अचानक मंसिर ७ गते मेरो हातमा अश्विनी कोइरालाले तयार पारेको अन्तर्वार्तासंग्रह हात पर्‍यो । त्यसै संग्रहमा मोडल स्मिता थापाको अन्तर्वार्ता पढ्ने वित्तिकै मेरो दिमागमा घन्टी बज्यो । नयाँ पुस्तामा यौनिकता तर्फको परिवर्तनलाई केही वर्षदेखि गीत रचनामा उपयोग गरिरहेकोले लगातार मेरा गीत हिट भएको तथ्यमा स्मिताको बोल्ड अभिव्यक्तिले समर्थन गरेको फिल भयो मलाई । र, नयाँ पुस्ताको यौन तथा प्रेम र जीवनप्रतिको मनोविज्ञानलाई स्मिताजस्तै दह्रो पात्र सिर्जना गरी उसैले अन्तर्वार्तामा भनेका घटनालाई संरचना बनाइ एक चर्चित विवादास्पद तथा सत्य उपन्यास लेख्ने सुर चढ्यो । मंसिर १७ मा सुरु गरेँ, पुस १६ मा सकेँ । २४ गते पुनर्लेखन सकाएँ, दुइ महिना नहुँदै बजारमा आयो ।
यति छिटो ?
Rajendra Thapaहो, मेरो खराव बानी छ । जे गर्छु गरेको गर्‍यै, त्यसैमा । यसपटक पनि कमसेकम १४ घन्टादेखि १८ घन्टासम्म लगातार टाइप गरेँ हुँला । दुवै हात अहिलेसम्म दुखिरहेको छ । अझ बीचमा ३ दिन पोखरा जाँदा छुटे ।
उपन्यासबारे केही भन्नुस न ।
किशोरी बेलादेखि गधापच्चीसे पुग्नुअघिका केटीहरूमा हुने शारीरिक, मनोवैज्ञानिक, यौनिकलगायत परिवर्तनकालमा सेक्स एजुकेसनका अभावले गर्दा एक युवती कसरी परिपक्व पुरुषबाट दुरुपयोग गरिनसक्छे तथा कसरी र किन सेक्सलाई नै जीवनको एक मात्र लक्ष्य ठान्न पुग्छे भन्ने समस्या झल्काउन खोजेको छु । एक विन्दुमा प्रेम र धोकापछि उत्पन्न घृणाका कारण पुरुषलाई सेक्सको खेलौना बनाई युज एन्ड थ्रो गर्न थाल्छे उपन्यासमा उनी ।
उसोभए तिनै एक केटीको सेक्सकथा ?
त्यो फ्रेममात्र हो । वैदिककालदेखिको पुराणहरूका यौन अवधारणादेखि हाल वदलिएको यौनधारणासम्मका विश्लेषण छन् । फ्रायड, अक्सिटोसिन, लभ हर्मन, सेक्स एडिक्ट, सेडिजम्, मकोइजम, लोलिता कम्प्लेक्सलगायत विविध यौन मनोविज्ञानको पृष्ठभूमिमा सेक्सको रामरमाइलो आम पाठकले दोहर्‍याइ तेहेर्‍याइ पढ्ने मस्तीपूर्ण कथा छ यसमा । सेक्सलाई अश्लील भन्नेले पनि लुकेर पढ्ने छन् ।
किताबको नतिजामा कति आशावादी हुनुहुन्छ ? र विरोध पनि त आउला नि ?
मेरो लेखनले जहिलेपनि प्रचलित लिक छोड्ने र आफ्नै बेग्लै बाटो बनाउने हुँदा ४४ वर्षदेखि प्रत्येक चोटिजस्तो मेरो रचना सार्वजनिक भएपछि बहुसंख्यकको सर्मथन र केहीको विरोध पाइआएकोले यसपटक पनि त्यही नै आशा गर्न अस्वभाविक भएन । र, समर्थन र विरोध दुवैको लागि तयार भएरै यस विषयमा हात हालेको हुँ ।
समाजले के भन्ला ?
यौन र प्रेमबारे हिजोका मान्यता भत्किसकेका छन् । नयाँ पुस्ताले नयाँ मान्यता बनाइसकेका छन् । तर, समाजले नयाँ मान्यता बनाउन सकेको छैन । अनि मान्यता बदलिएका पुस्ताले के गर्ने ? यही खतरनाक परिस्थितिमा यौन समस्या हुन्छ भन्ने तर्क नै मेरो मूल कुरा हो र यसैलाई सामुन्ने राखेर मैले पनि सोध्नुपर्छ– तपार्इंले भन्नु भएको समाजचाहिँ कुन हो ?
कस्ता पाठक लक्षित छन् ? के पाउने त पाठकले ?
मैले विगतका मेरा गीतझैं सबथोक पाउने र सबैखाले पाठकले खोजेको पाउने एक डिपार्टमेन्टल स्टोर बनाएको छु यस ‘खेलौना’ उपन्यासलाई । सेक्सको रामरमाइलो पनि छ, यौन मनोविज्ञान पनि छ, पौराणिक अवधारणा र वर्तमान अवधारणा पनि छ । सेक्स एजुकेसन, रोमान्स, धोका र बदला पनि छ । च्वास्स दुखाइ पनि छ ।
रचना सामग्री ?
स्मिताको अन्तर्वार्ताबाट उपन्यास तयार गर्न करिब दर्जन जति सेलेब्रेटी तथा विभिन्न उमेरका आम महिलाहरूसँग निक्कै गहन र संवेदनशील अन्तक्रिया गरेर सीधा किशोरीदेखि युवती हुँदासम्मका अनुभव र मनोविज्ञान तथा अन्तरद्वन्द्व बटुलेर यसलाई सत्यकथा बनाउन भयानक कोसिस गरेको छु ।
हिट हुन्छ त ?
सुपर हिट हुन्छ भन्ने विश्वास त गर्नैपर्‍यो । हरेक सर्जकले कोसिस यही गरेकै हुन्छ । झन् त्यसमाथि मैले त ८ वर्षको उमेरदेखि समातेको कलमको क्षमता र जिन्दगीको सारा अनुभव समेटेर आजका पुस्ताकै खिचेको तस्बिर यही पुस्ताले सुपरहिट गर्ने छन् भनेर विश्वास किन नगर्नु ?
यो उपन्यास हाम्रा प्रचलित साहित्यिक रचनाजस्ता बौद्धिक जमातले बोक्ने खालकै साहित्यिक कृति हो कि वा त्योभन्दा फरक ?
बिलकुल साहित्यिक । साहित्यका नाममा आम जनताले नबुझ्ने पट्यारलाग्दा गफ, छायावादी बिम्बहरू, टाउका समात्नुपर्ने दर्शनहरू, लम्वेतान बयानहरू छैनन् । मेरा ‘पोहोर साल खुसी फाट्दा…’ जस्तै गहन छ, ‘क्या दामी…’ जस्तै सरल छ । आम जनताले पढ्ने, बुझ्ने साहित्य हो । यो नयाँ पुस्ताको साहित्य हो ।
नयाँ पुस्ता बदलिएकै हो त ?
अस्ति भर्खर एक नायिकालाई ‘के अझै भर्जिन हुनुहुन्छ ?’ भनेर सोध्दा उत्तर आएको थ्यो, ‘अहिलेसम्म पनि भर्जिन छ/छैन सोध्ने कस्तो मान्छे तपाईं ?’ मेरो किताबमा यस्ता परिवर्तन टन्नै देख्न सकिन्छ ।
अन्तर्वाताको स्मिता थापाको विद्रोहलाई कसरी लिनुभएको छ ?
देवी सरस्वतीको विद्रोहसँग दाँजेको छु मैले स्मिताको विद्रोह प्रवृत्तिलाई, भलै सरस्वती र यिनले लिएको बाटो फरक छन् । हुन त मेरो पुस्तकको अन्तमा विद्रोहका बाटो सेक्समात्र हैन, उज्यालो पनि हुनसक्छ भन्ने कुरा उठाएको छु । सरस्वतीमाथि आफ्नै पिता ब्रम्हाले यौन शोषण गरे । सरस्वतीले विद्रोह गरिन्, दिव्यज्ञान पाइन र ज्ञानकी देवी बनिन् । विद्रोहको यो बाटो पनि हुनसक्छ भन्ने सन्देश पनि दिन खोजेको छु । मेरो पात्र र अन्तर्वाताकी पात्र स्मिताले भने विद्रोह गरेर पुरुषलाई खेलौना बनाउने बाटो लिएका छन् ।
प्रस्तुति : दीपक सापकोटा

तपाईको प्रतिक्रिया