शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

लण्डन – गैर आवासीय नेपाली संघ (एन आर एन)आइसीसीका संरक्षक एवं संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनको लगानी आफुले ग्यारेण्टी गर्ने बताएका छन । एनआरएन युकेले आइतबार लण्डनमा आयोजना गरेको दोश्रो काउन्सील भेलामा सहभागि भएका महतोले ढुक्क भएर देशमा लगानी गर्न आग्रह गर्दै लगानी डुब्ने कुनै सम्भावना नरहेको बताए । व्यक्तिभन्दा देश धनी हुनुपर्ने बताउंदै देश धनी बनाउनतर्फ लाग्न एनआ एनलाई उनले आग्रह गरे । एनआरएनको सपना नै धनी र सम्बृद्ध नेपाल भएकोले त्यो सपना साकार गर्न महतोले आग्रह गरेका थिए । नेपालमा लगानी डुब्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै व्यवसायका किङ्ग महतोले दिएर मात्र मानिसलाई आत्मासन्तुष्टि हुने भएकाले आफुले सक्दो दान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आइसीसीका अध्यक्ष जीवा लामिछानेले नेपालमा लगानी गर्न एनआरएनलाई विशेष आग्रह गरे । उनले नेपालको जलविद्युतमा लगानी गर्न सहभागिहरुलाई अपिल गर्दै जलविद्युत अत्यन्तै आशाबादी क्षेत्र भएको बताए । ब्यापारमा जोखिम हुने भएपनि बिद्युतमा लगानी गर्दा जोखिम नहुने विश्वास दिंदै उनले नहिच्किचाई लगानी गर्न आग्रह गरेका थिए । नेपालको अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा केहि निराशा छाएपनि त्यसले असर नपर्ने उनले बताए । देशमा शान्ति स्थापना भई संविधान बन्न लाग्नु शुभसंकेत भएको बताउंदै उनले संविधानमा गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको प्रयास अन्तिम दिनसम्म जारी राख्ने बताए ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावास लण्डनका राजदुत डा. सुरेशचन्द्र चालीसेले एनआरएन छोटो समयमा ठुलो उपलब्धि हासिल गर्न सफल भएको बताए । नेपालमा लगानीको वातावरण भएको बताउंदै डा. चालीसेले त्रिपक्षिय लगानीको अवधारणा ल्याउन एनआरएनलाई सुझाव दिए । एनआरएन, स्वदेशी व्यवसायी र विदेशी लगानीकर्ताको संयुक्त लगानीमा विकासका कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिएका थिए । एनआरएन युकेका संरक्षक प्रा. डा सूर्यप्रसाद सुवेदीले प्रवासी नेपालीबाट देशले ठुलो अपेक्षा गरेको बताउंदै उनले मोडेल प्रोजेक्ट देखाउन एनआरएनलाई आग्रह गरे । देशमा पूर्ण संविधान आउने सम्भावना नरहेको जीकिर गर्दै कानुनवेत्ता समेत रहेका सुवेदीले थामथुमे संविधान आउनसक्ने अनुमान लगाए । देश राष्ट्रपतिय शासनमा जान नसक्नु प्रचण्ड त्रास हावी भएको उनले दावी गरेका थिए ।

एनआरएन आइसीसीका उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ्गले एनआरएन नागरिकताको पछिल्लो प्रगतिका विषयमा जानकारी गराउंदै सांस्कृतिक, आर्थिक, धार्मिक अधिकार सहितको नागरिकता आउन लागेको बताए ।

एनआरएन युकेले आयोजना गरेको बृहत काउन्सील भेला राजदूत डा. चालीले, एनआरएन भेटेरानहरु अध्यक्ष लामिछाने, संस्थापक अध्यक्ष डा. महतो, संरक्षक प्रा. सुवेदी र उपाध्यक्ष क्याप्टेन गुरुङले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

एनआरएन युकेका संयोजक रामशण सिंखडाद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक महेन्द्र कंडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसपछि चलेको दोश्रो चरणको कार्यक्रममा एनआरएन आइसीसीका प्रवक्ता डा. हेमराज शर्माले नेपाल हाउसका सम्बन्धमा पावर प्वाइन्ट प्रिजेण्टेशन दिएका थिए । सम्मेलनमा डा. कृष्ण अधिकारीले बेलायतका संघसंस्थाबीचको सम्बन्धका बारेमा धारणा राखेका थिए । ***

तपाईको प्रतिक्रिया