शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अहिले प्रमुख भनेर मानिने राजनीतिक दलहरुमा शक्ति प्रदर्शन गर्ने लहर चलेको छ । नेकपा एमालेले राजधानीमा शक्तिप्रदर्शन गरेको केही साता बित्न नपाउंदै ‘प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले तत्काल शान्ति प्रक्रिया टुंग्याई समयमै संविधान निर्माणका लागि दबाब दिन आज राजधानीमा बृहत् जनशक्ति प्रदर्शन र आमसभा गर्ने भएको छ । घोषित कार्यक्रमअनुसार कांग्रेसले २०४६ सालमा जनआन्दोलन सफल भएको दिन पारेर राजधानीको रत्नपार्क स्थित स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी जुलुस सुरु गर्ने र वसन्तपुरमा आमसभा गर्न लागेको हो ।

संविधानसभाको म्याद ५२ दिन रहँदा सबभन्दा ठूलो दल माओवादीको नेतृत्व जिम्मेवार नभएकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण दुवै अनिश्चित बनेको उल्लेख गर्दै कांग्रेसले केन्द्रीय नेताहरूको नेतृत्वमा राजधानीमा बृहत् जनप्रदर्शन र आमसभा गर्ने भएको हो ।

पार्टीका तर्फबाट काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले वक्तव्य जारी गर्दै समयमै शान्ति र संविधान निर्माण गर्न तथा बढ्दो हत्या, असुरक्षा, दण्डहीनता, भ्रष्टाचार, महँगी र राज्य आतंक बन्द गर्नका लागि हुने लोकतन्त्रवादीहरूको जनशक्ति प्रदर्शनमा सहभागी हुन आम नागरिक समाज र पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेका छन । ***

तपाईको प्रतिक्रिया