शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– संसद्, मन्त्रिपरिषद्, संसदीय समिति र नागरिक समाजको आग्रह नटेरे पनि विशिष्ट व्यक्तिहरु यसपटक सर्वोच्च अदालतको फेलामा परेका छन् ।
सर्वोच्चले कानुनले तोकेबाहिरका सुविधा (गाडी र सुरक्षाकर्मी) फिर्ता गर्न फैसला गरेपछि पूर्वप्रधानमन्त्री, मन्त्री र नेताहरुले सर्वोच्चको फैसलाको सम्मान गर्न थालेका छन् ।
तर सर्वोच्चको सम्मान गरे पनि नेताहरुको भने हरिविजोग नै भएको छ । सरकार कामचलाउ रहेकाबेला पाँच करोड रुपैयाँको पजेरो किनेका पूर्वगृहमन्त्री भीम रावलले गाडी फिर्ता गरे । उनी शनिबार ट्याक्सीमा सिंहदरवारमा देखिए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको झन् विजोग भएको छ । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमिति बैठकमा नेता नेपाल एमाले नेता अग्नि खरेलको गाडीमा लिफ्ट मागेर गएका थिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निलो थोत्रो सवारीमै चढेर संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमिति बैठकमा गए । उनले शनिबार बिहान सिंहदरवारमा लगेर पजेरो गाडी छाडिदिएका थिए ।
शनिबारसम्ममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, झलनाथ खनाल, नेपाल, दाहाल र लोकेन्द्रबहादुर चन्दले गाडी र सवारी फिर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया