काठमाडौं- देशबाट राजतन्त्र गुमेपछि पूर्वयुवराज्ञी हिमानी शाहले समाजसेवाका लागि खोलेको हिमानी ट्रष्ट यतिवेला निष्क्रियजस्तै बनेको छ । ट्रष्टले लामो समयदेखि कुनै पनि नयाँ कार्यक्रम ल्याउन सकेको छैन भने पुराना कार्यक्रमले पनि निरन्तरता पाएका छैनन् ।
पारिवारिक तनावका कारण हिमानीले मन भएर पनि ट्रष्टका काममा ध्यान दिन नसकेको स्रोत बताउँछ । यद्यपि बैंककमा पारसलाई भेटेर फर्किएपछि उनी केही मात्रामा ‘रिफ्रेस’ बनेको र ट्रष्टलाई सक्रिय तुल्याउन खोजेको स्रोतको दाबी छ । बैंककबाट फर्केलगत्तै उनी ट्रष्टको कार्यालयमा गएर सहकर्मीसँग छलफल गरेकी थिइन् । तर, ट्रष्टलाई सक्रिय बनाउन कुनै पनि कार्यक्रम भने बनेका छैनन् ।
गत फागुनमा ट्रष्टको कार्यालय पुल्चोकबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ । तर, नयाँ कार्यालयमा खासै चहलपहल हँुदैन । ट्रष्टका पदाधिकारी आक्कलझुक्कल मात्र कार्यालय आउँछन् । चार कर्मचारी भने दिनदिनै आउने गरेका छन् । यद्यपि उनीहरूको काम फोन उठाउनु र गफिनु मात्र रहेको छ ।
हिमानीको परिवारबाहिरका दुई सदस्य पावना शाह र अर्चना शर्माले पनि पहिलेजस्तो उत्साह देखाएका छैनन् । पुल्चोकमा शाहकै घरमा हिमानी ट्रष्टको कार्यालय राखिएको थियो । उनले कार्यालयको भाडा लिन्नथिन् । ट्रष्टकी कानुनी सल्लाहकार अनिता केसी पनि सक्रिय छैनन् ।
हिमानी ट्रष्टका सात पदधिकारीमध्ये पाँचजना प्रेरणा, दिलासा, पूजा र सिताष्मा शाही परिवारकै सदस्य हुन् । ०६७ सालको घटस्थापनाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रष्टको उद्घाटन गरेका थिए । शाह ट्रष्टका संरक्षक पनि हुन् । स्थापनायता ट्रष्टले समाजसेवाका केही कार्यक्रम गरेको छ ।
के–के गर्यो हिमानी ट्रष्टले ?
स्थापनाको सुरुमै ट्रष्टले दोलखाको नाम्दु गाविसमा एउटा स्कुल नै निर्माण गरेको थियो ।
यसैगरी दोलखाको तामाकोसी नदीस्थित पुलमा जाली बिछ्याउने काम पनि ट्रष्टले गरेको छ । हिमानी तीन–चारपटक दोलखाको नाम्दुमा पुगिसकेकी थिइन् । पैदलै पुगेकी उनले त्यहाँ पटक–पटक स्वास्थ्य शिविर चलाएकी थिइन् । गत वर्ष सिरहाको औरहीमा आगलागी हुँदा दुई सयभन्दा बढी घरमा टिन, बाँस र अन्य लत्ताकपडा प्रदान गर्ने काम पनि ट्रष्टले गरेको थियो । यसमा पनि हिमानीले आफैँ चासो राखेकी थिइन् ।
यसैगरी भक्तपुर, ललितपुर र काठमाडौंका दुई सयभन्दा बढी असहाय बालबालिकालाई साइकल वितरण गर्ने काम ट्रष्टले गरेको थियो । यसैगरी ट्रष्टकी अध्यक्ष शाह विभिन्न वृद्धाश्रममा गई वृद्धवृद्धालाई लत्ताकपडा, खानेकुरा बाँड्ने गर्थिन् । उनी आफ्नो जन्मदिन वृद्धवृद्धालाई खाद्यान्न र लत्ताकपडा वितरण गरेर मनाउने गर्थिन् । ट्रष्टको स्थापनाका लागि अध्यक्ष हिमानीले ५० लाख रुपैयाँ बैंकमा जम्मा गरेकी थिइन् । दोलखामा गरिएका कार्यक्रममा यही रकममध्येबाट खर्च व्यहोरिएको थियो ।
बोल्न चाहँदैनन् पदाधिकारी
हिमानी ट्रष्टका आगामी कार्यक्रमबारे ट्रष्टका पदाधिकारी केही बोल्न चाहँदैनन् । उनीहरू ट्रष्टले नयाँ कार्यक्रम ल्याउने सोचाइ बनाइरहेको मात्र बताउँछन् । खासगरी पूर्वयुवराज पारस स्वेदशमै हुँदा ट्रष्टको गतिविधि निकै बढेको थियो ।
हिमानीले एकपटक पारसलाई दोलखा पुर्याएकी थिइन् । स्रोतका अनुसार ट्रष्टको गतिविधिमा पारस आफैँले पनि हिमानीलाई सघाएका थिए, तर पारस बैंककमा बस्न थालेयता हिमानीमा समाजसेवामा रुचि विस्तारै घट्दै गएको छ । हिमानी बिरामी पारसलाई भेट्न बैंकक गएका वेला ट्रष्ट पूर्णरूपमा निष्क्रिय भएको थियो ।
नयाँ अधिकृतको नियुक्ति
हिमानीले नयाँ कार्यक्रमहरू सुरु गर्न हालै मात्र विजया राणा नाम गरेकी एकजना कार्यक्रम अधिकृत तथा कार्यालयसचिवको नियुक्ति गरेकी छिन् । नयाँ कार्यक्रमबारे राणाले प्रस्ताव तयार गरिरहेकी छिन् । हिमानी ट्रष्टको वेबसाइटमा नाम्दुका दश स्कुललाई शैक्षिक सामग्री तथा कक्षाकोठा निर्माणका लागि दातासँग सहयोगको याचना गरिएको छ । दातासँग सहकार्य गरेर जान ट्रष्ट तयार रहेको वेबसाइटमा जनाइएको छ । नाम्दुलाई नमुना गाविस बनाउने कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि वेबसाइटमा जनाइएको छ ।