काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच गठबन्धन हुन आवश्यक भएको बताएका छन् । कांग्रेस-एमालेबीच चुनावी गठबन्धनको कुरा भइरहेका बेला उनले पार्टीको प्रशिक्षणमा यस्तो धारणा राखेका हुन् ।
एमाओवादीले एउटा र कांग्रेसले अर्को धारको नेतृत्व गरेकाले मुलुकमा दुई गठबन्धन हुन आवश्यक भएको दाहालले जनाए । ‘कांग्रेस र एमालेबीच गठबन्धन हुन आवश्यक छ,’ उनको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने, ‘कांग्रेस-एमाले ध्रुवीकरण भयो भने हामीलाई सजिलो हुन्छ । हामी क्रान्तिकारी धारको नेतृत्व गर्छौं, हामीलाई बहुमत ल्याएर एजेन्डा मिल्नेहरूबीच गठबन्धन गर्न अझ सहज हुन्छ ।’
कांग्रेसले यथास्थितिवादी शक्तिसँग मोर्चाबन्दी गर्ने तयारी गरेको आरोप लगाउँदै दाहालले एमाओवादीले पनि परिवर्तन पक्षधरसँग मिलेर मोर्चाबन्दी गर्न लागेको जानकारी दिए । राजनीति दुई धु्रवमा विभाजित भए आफ्नो पार्टीले संस्थापन पक्षको नेतृत्व गर्ने उनको भनाइ थियो । आगामी संविधानसभा निर्वाचनमा संघीयता पक्षधर शक्तिले दुई तिहाइ बहुमत जित्ने दाबी उनले गरे । राजधानीको भृकुटीमण्डपमा शुक्रबार भएको नेवाः राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा उनले निर्वाचनमा लाग्न कार्यकर्तालाई सुझावसमेत दिए ।
संविधानसभालाई बढीभन्दा बढी समावेशी र जनपक्षीय बनाउन आफ्नो पार्टीका तर्फबाट विशेष पहल गरिने दाहालले बताए । ‘आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलितका एजेन्डा बोक्ने दलसँग मोर्चाबन्दी गरिने छ,’ उनका भनाइ थियो, ‘आगामी संविधानसभा निर्वाचनमा हाम्रो बहुमत र संघीयता पक्षधरको दुई तिहाइ बहुमत आउँछ । जनताले चाहेजस्तो संविधान बनाइन्छ । तपाईंहरू आजैदेखि परिवर्तनको एजेन्डा लिएर जनतामा जानुस् ।’
अध्यक्ष दाहालले हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्वयनमा गम्भीर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । आर्थिक र सांगठनिक रूपमा पार्टीभित्र खराब आचरणले प्रवेश पाएको चर्चा गर्दै उनले त्यसलाई कडाइपूर्वक नियन्त्रण गर्नुपर्ने बताए । ‘पार्टीभित्रको खराब प्रवृत्ति र चिन्तनलाई निरुत्साहित गर्ने शुद्धीकरण प्रक्रियाको थालनी भइसकेको छ,’ उनले थपे ।
वर्तमान सरकारलाई विस्थापित गर्ने कुनै योजना नभएको उनले उल्लेख गरे । पार्टी पहलमा बनेको चुनावी सरकारलाई विस्थापित गराउन खोजेको हल्ला गलत भएको उनले बताए । ‘वर्तमान सरकारले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने छ,’ उनको भने, ‘हाम्रै पहलकदमीमा निर्माण भएको सरकार हटाउने भन्ने कुरा सोचेको पनि छैन, नितान्त हाम्रो भनाइ तोकिएकै समयमा निर्वाचन गराउनुपर्यो भन्ने हो, तत्काल मिति तोकेर मुलुकलाई निर्वाचनको माहोलमा लैजानु पर्यो ।’