काठमाडौ – साझा यातायातले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्वाध सेवा दिन पाउने भएको छ । विमानस्थलमा रहेका ट्याक्सीहरूले साझा चल्न नपाउने भन्दै आन्दोलनको चेतावनी दिएपछि भएको वार्तामा सेवा सुचारु गर्न पाउने सहमति भएको हो । आइतबार साझा यातायात, नागरिक उड्डयन प्राधिकरण, सुरक्षा संयन्त्रका अधिकारी र ट्याक्सी चालकसहितको छलफलपछि बस विमानस्थल गेटभित्रको फाउन्टेन (अन्तराष्ट्रिय टर्मिनलको अगाडि गोल घुम्न मिल्ने ठाउँ) सम्म गएर यात्रु चढाउन पाँच मिनेट पर्खिन पाउने सहमति भएको छ । त्यस्तै विमानस्थलभित्र जाँदा हवाई यात्रु र प्राधिकरणको कार्ड भएकालाई मात्र लान पाउने व्यवस्था पनि गरिएको छ ।
साझाले २०७० सँगै आफ्नो सेवा पुनः सुरु गरेको हो । ‘रोक लागिसकेको थिएन,’ साझाका प्रबन्धक महेन्द्र पाण्डेले भने, ‘सरकारले दिएको रुट इजाजतका आधारमा सेवा सञ्चालन गरिरहेका थियौं । विवाद नबढाउन छलफल गरियो ।’
विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठका अनुसार सुरक्षाको प्रत्याभूतिका साथ साझालाई भित्र जान दिइनेछ । ‘साझाको विरोधमा हामी छैनौं,’ उनले भने । बस सञ्चालनका लागि केही दिनमा यातायातले विमानस्थलसँग सम्झौता पनि गर्ने भएको छ ।
विमानस्थलभित्र रहेका ट्याक्सीले तोकिएको भन्दा बढी पैसा लिने, यात्रु खोसाखोस गर्ने प्रवृत्तिले पनि धेरै यात्रु हिँडेर मुख्य गेट (गोल्डेन गेट) बाहिर पुग्ने गरेको गुनासो आइरहेको थियो । ‘अरूको व्यवसायमा साझाले कुनै प्रभाव नै पार्दैन,’ प्रबन्धक पाण्डेले भने ।
यसअघि पनि उपत्यकाका निजी व्यवसायीले आफ्नो सिन्डीकेट तोडिने डरमा साझाको चर्को विरोध गरेका थिए । अन्तर्राष्ट्रिय टर्मिनलको अगाडिसम्म जान पाउने साझालाई आन्तरिकतर्फ मोड्न मिल्ने ठाउँ नभएकाले त्यतिमै सीमित गरिएको विमानस्थलले जनाएको छ । तर छलफलमा सहभागी एक अधिकारीका अनुसार विमानस्थलमा ट्याक्सी सञ्चालनका लागि ठेक्का लिएकाले उसलाई प्रभाव नपार्नेतर्फ ध्यान पुर्याइएको थियो । ‘साझालाई मात्र हेर्न मिलेन,’ ती अधिकारीले भने, ‘अर्को पक्षको चासोलाई पनि हेर्नुपर्यो ।’
कलंकी-विमानस्थल र नयाँ बसपार्क-लगनखेल रुटमा सेवा थालेको साझा यात्रुमाझ भने लोकपि्रय बनेको छ । हाल युरो-३ मापदण्डका ५४ सिटे बस सञ्चालन गरिरहेको साझा २०५८ माघ ११ देखि औपचारिक रूपमा विघटन भएको थियो । त्यतिबेला पनि साझा सबैको चासोको विषय थियो । ‘पहिलेको साखले अहिले पनि साझालाई लोकपि्रय बनाएको हो,’ पाण्डेले भने । विसं २०१८ मा तत्कालीन राजा महेन्द्रको अग्रसरतामा निजी क्षेत्रको संलग्नतामा साझा सुरु भएको थियो । त्यसपछि विसं २०२६ र २०५८ मा बन्द भई पुनः सञ्चालन हुँदै आएको छ । व्यवसायीका एकाधिकारका कारण सहज यातायात सेवा नपाएका यात्रुमा साझाले ठूलो अपेक्षा सिर्जना गरेको छ ।