शान्ति र संविधानको बारेमा अन्य दलहरुसँग छलफल र गृहकार्य जारी रहेको भन्दै कार्यव्यस्ताका कारण शनिबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ८ गतेसम्मका लागि सारिएको माओवादीले जनाएको छ । यसअघि पनि बारम्बार माओवादीको केन्द्रीय कमिटीको बैठक स्थगित हुँदै आएको छ ।
केन्द्रीय कमिटीमा छलफल गर्ने विषयमा आन्तरिक तयारी गर्नुपर्ने भन्दै माओवादीले यसअघि केन्द्रीय कमिटीको बैठक आजसम्मका लागि सारेको थियो ।
शान्ति र संविधानमा केन्द्रित हुनुपर्ने कारणले बैठक सारेको बताइए पनि पार्टी उपाध्यक्ष मोहन वैद्य र संस्थापन शीर्ष नेतृत्वबीच पार्टी भित्रको विवाद समाधान गरेर मात्र केन्द्रीय समितिको बैठक बस्ने सहमति भएकोले विवाद मिलाउनमै नेताहरु लागेको स्रोतले जनाएको छ ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा मधेसी मोर्चासाग भएको ४ बुँदे सहमति, प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको बिप्पा सम्झौता लगायतका विभिन्न विषयमा उपाध्यक्ष मोहन बैद्य पक्षले जनाएको असन्तुष्टिपछि उत्पन्न माओवादी भित्रको विवाद अझै साम्य हुन सकेको छैन ।