Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

भनिन्छ समय बलवान छ । गतिशील भएका कारण र जो कसैका लागि एक पल पनि नरोकिने वा नपर्खने भएका कारण समयलाई बलवान भनिएको हो । यसरी नै हामी बीचबाट सन् २०१२ ले विदा लिन लागिसकेको छ । अव कसैले चाहँदैमा वा कसैको काम अधुरो रहँदैमा २०१२ ले पर्खनेवाला छैन । ईतिहास बन्न लागेको गत एक वर्षको अव समीक्षा शुरुभएको छ । यतिखेर व्यक्तिगत जीवनदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियसम्म राम्रा वा नराम्रा, सवल र कमजोर अनि उपलब्धि र अनुपलब्धिका विविध पक्षहरुको लेखाजोखा गर्न थालिएको छ । हुन त यो वर्षो शुरुवात नै पृथ्वीको मानवसभ्यता समाप्त हुने हल्लाबाट शुरु भयो र अन्त्य पनि त्यस्तै हल्लाखल्लाकै बीचबाट हुन गैरहेको छ ।

जापानलाई आर्थिक मन्दीको असरले अझै न्याकिरहेको छ । यसको असर यहाँ बस्ने नेपालीहरु सबैलाई कुनै न कुनैरुपमा परिरहेको छ । व्यवसायिक पहिचानकासाथ अगाडि बढ्ने नेपालीहरुको संख्यामा यो वर्ष उल्लेखनीय बृद्धि हुन नसकेको अनुभुति भैरहेको छ । यो वर्षको जुलाईबाट अध्यागमन सम्बन्धि नियममा निकै परिवर्तन भएको छ । यो परिवर्तनसँगै भिषा प्रक्रियामा केही कडाई भएको अनुभूति जापानबासी विदेशीहरुले गरिरहेका छन् । खासगरी विद्यार्थी तथा डिपेन्डेन्टलाई यसको प्रत्यक्ष असर बढी देखिन थालेको छ । तोकिएको समय भन्दा थोरै मात्र बढी समय काम गरेको भेटिए पनि भिषा नदिने र एकमहिना भित्र स्वदेश र्फकन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएका छन् । ६-८ वर्ष देखि जापान बसेर भाषा हुँदै विश्वविद्यालयमा अध्ययन गरिरहेका र प्रमाणपत्र पाउन केही महिनामात्रै बाँकी भएका विद्यार्थीहरु समेतले विगतका दुख र मेहनत सम्झदै विना प्रमाणपत्र स्वदेश फ़र्कन बाध्य भएका छन् ।

जापानमा १५ वर्ष देखि कष्टकररुपमा विनाकारण बन्दीजीवन जीउन बाध्य नेपाली नागरिक गोविन्दप्रसाद मैनालीलाई टोकियो उच्च अदालतले निर्दोष सावित गरिदिएको छ । जापानबासी नेपालीहरुका लागि यो समाचार यो बर्षै अत्यन्तै खुसीको विषय बन्न पुग्यो । उनी गत जुनमा १८ वर्षपछि मातृभूमि फर्किएका छन् । २०१२ मा जापानका एकजना सफल नेपाली व्यवसायीकारुपमा चिनिएका भवन भट्टले स्थापना गरेको कम्पनी बीबी एयरले जापानबाट नेपालसम्म सोझो हवाइसेवाको शुरुवात हुने समाचारले खुशी छाएकोमा त्यो खुसी २०१२ ले देख्न पाएन । आशा र कामना पनि गरौं २०१३ मा शुरुका दिनहरुदेखि नै नेपाली राष्ट्रिय ध्वजावाहक बीबी एयरवेज जापान आउन सकोस् । राष्ट्र निर्माणमा सहयोग पुग्ने ढंगका परियोजनाहरु अघि बढाउन गैरआवासीय नेपालीहरुले संयुक्त लगानीको अवधारणालाई अघि बढाएर नेपालमा कम्पनी दर्ता गर्ने र विदेशमा रकम संकलन गर्ने कार्य जोडतोडका साथ अगाडि बढेको छ । हाम्रो देशको समृद्धिका लागि हामी आफै नै नलागि हुँदैन भन्ने बुझ्नु र त्यसका निम्ति सक्दो पहल गर्नु वा सहभागिता जनाउनु अत्यन्त राम्रो कुरा हो । जापानबासी नेपालीहरु पनि यो कार्यमा उत्साही देखिएका छन् । यस किसिमका कार्यलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिईरहनु जरुरी छ ।

सन् २०१२ पनि समग्र नेपालका सन्दर्भमा उत्साहप्रद देखिएको छैन । खासगरी राजनीतिक समस्याले निकास पाउन सकेन । संविधान निर्माणको काम सकिएर देश नयाँ मार्गमा हिड्न पाउला कि भन्ने आशा विनासंविधान संविधान सभाकै विघटनसँगै निराशामा बदलिएको छ । राजनीतिक दलका नेतृत्ववर्गलाई देश र जनताको चिन्ता भन्दा पनि कुर्सीमोह नै ठूलो देखिएको छ । कर्सी केबल कर्सीको छिनाझम्टीमा सिंगो देशको राजनीतिकबृत्त घुमिरहेको छ । त्यसमाथि विदेशीहरुलाई चलखेल गर्न सहज वातावरण सिर्जना गरिएको छ । यस्तो अवस्थामा विधिको शासन र शान्ति सुरक्षाको अनुभूति जनताले गर्न पाउने कुरै भएन । महंगी एकोहोरोरुपमा बढिरहेको तथ्याङ्कले देखाएको छ । यति हुँदा हुँदै पनि २०१२ को अन्तिम समयमा आइपुग्दा आगामी निर्वाचन र संविधान निर्माणका कुरामा सहमतिको नजिक राजनीतिक दलहरु आइपुगेको भान हुन थालेको छ । कमसेकम बाँकी केही दिनमा नमिलेका कुरा पनि मिलाउन दलहरु सकुन र नयाँ साल अर्थात २०१३ नेपाल र नेपालीका लागि उल्लेखनीय वर्षारुपमा सदा स्मरण गर्न योग्य बनोस । नयाँ बर्षको हाम्रो यही शुभकामना छ ।***

तपाईको प्रतिक्रिया