काठमाडौं – कम्युनिष्ट नेता वामदेव गौतम एमालेमै फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले अन्ततः एमालेमा फर्कने भएका हुन् ।
सिंगो अभियान एमालेमा समाहित हुन लागेको दाबी छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् । ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन,’ उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन ।’
गौतमले २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए । अध्यक्ष ओली र ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागे । तर, नेकपा विभाजनका बेला प्रचण्डलाई साथ नदिएका गौतमले एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् ।
गौतमले सिंगै अभियान एमालेमा मिसिने बताए पनि केही नेताहरूले भने अलग्गिएको घोषणा गरेका छन् । उपाध्यक्ष महेन्द्र अर्यालसहितले आइतबार पत्रकार सम्मेलन गरेर गौतम समूहबाट अलगिएको घोषणा गरेका हुन् ।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इञ्चार्ज हुन् । अर्यालसँगै कर्णाली प्रदेश इञ्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इञ्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इञ्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरे । गौतम एमालेमा जाने भएपछि उनीहरूले अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।
उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा माओवादी केन्द्रलगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्नेगरी चार सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजक अर्याल रहनुभएको छ भने काफ्ले, सुब्बा र भट्टराई समितिमा सदस्य छन् । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।