Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

नेपाली हिन्दू महिलाहरुको महान पर्व हो, तीज । यो पर्वमा गीतका माध्यमबाट दिदीबहिनीको सुख र दुःखका पीडाहरु पोख्ने गर्छन् । तीजको रौनक छाउने क्रममा नेपाली गीत-संगीतमा लागेका प्रायः सबै कलाकारले मनोरञ्जनका निमित्त भन्दै सयौं गीत बजारमा ल्याइसकेका छन् ।

विशेषतः विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा रहेपनि अहिले तीजका गीतले शब्द, संगीत, भाका कुनै पनि पक्षमा त्यो मर्म बोक्न नसकेको लोकगायक तथा लोकगीतबारे अध्ययन गरेकाहरू बताउँछन् । त्यसैले होला राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत गर्‍यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ ।तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले माफी माग्नुपर्‍यो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी परियारले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर गाउने जनाएकी छन् । विगतका केही वर्षयता तीजका गीतमा अशोभनीय तरिकाबाट विकृति बढेको स्थापित कलाकारहरू आफैं पनि स्वीकार गर्छन् । चेलीले भोगेका सुख-दुःखमा केन्द्रित तीज गीत अंग प्रदर्शन र दोहोरो अर्थ लाग्ने शब्दसम्म पुग्नु आफैंमा एउटा विडम्बना हो ।

तीजका र अन्य थुप्रै लोक गीत गाइसकेकी लोकगायिका हरिदेवी कोइराला तीजका गीतले केवल महिलाका वेदना मात्रै नबोकी सामाजिक विषय पनि उठान गर्न सक्ने बताउँछिन् । उनका अनुभवमा आफूले गाउन थालेको बेलाको तीज गीत र अहिलेका तीजका गीतमा धेरै परिवर्तन आउन थालेका छन् ।

भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरि लै

लोकगायिका कोइरालालाई आफूले गाएका थुप्रै गीतमध्ये यो माथिको गीत असाध्यै मनपर्छ । तर तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ । ‘तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,’ उनले भनिन् ।कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरिन् । लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भनिन्, ‘महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, तीजका गीतले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ ।’

उनका अनुसार पहिलेपहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाई छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको पाइन्छ । तीज गीतमा विशेष गरि नारी मुक्तिको आवाज मुखरित हुने गर्थ्यो ।तीज गीत महिलाले मात्र गाइने भनेर चिनिए पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन् । लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको बताए । उनले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने बताए । ‘पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नुहुँदैन,’ उनले भने, ‘तीज गीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनु हुँदैन ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताइन् । ‘नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ,’ उनले भनिन्, ‘सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरू लागि परेका छन् ।’अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताइन् । ‘मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्,’ उनले भनिन्, ‘तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ ।’

यो पनि : तीजका अश्लील र अपाच्य गीत रोक्न सरकारलाई प्रतिष्ठानको आग्रह

लोक गीतसंगीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरेपनि स्वयं सर्जक-कलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुन्छ । उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया