काठमाडौं – संगीतकर्मी दुर्गेश थापा प्रत्येक वर्षको तीजमा दर्शक तथा स्रोतामाझ प्रतिक्षित बन्छन् । यो वर्ष पनि दर्शक तथा स्रोताले उनलाई प्रतिक्षा गरिरहेका थिए । किनभने उनले तीजको अवसरमा सार्वजनिक गर्ने गीत विशेष रहँदै आएका छन् ।
आइतबारदेखि दर्शक तथा स्रोताको दुर्गेश थापाका लागि गरिएको प्रतिक्षा पूरा भएको छ । यद्यपि, उनी यसपटक गायनमार्फत होइन गीतकार, संगीतकार तथा मोडलको रुपमा आफ्ना तीज गीतमा झुल्किएका छन् ।
आफ्ना सांगीतिक गुरु पशुपति शर्माका साथमा शान्तिश्री परियारको स्वर समेटेर दुर्गेश थापाले यो वर्ष सार्वजनिक गरेको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको १८ घण्टा नबित्दै यूट्युबमा एक लाख भ्यूज कटिसकेको छ ।
अभिनेत्री प्रियंका कार्कीको उपस्थितिले भिडियोको वजनमात्र बढाएको छैन, दुर्गेश थापाका अघिल्ला तीज गीतहरुको तुलनामा यो बिल्कुलै भिन्न छ, सभ्य र भव्य पनि छ ।
गीतको भिडियो प्रीमियर गर्न काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक थापाले आफूमाथि दर्शक, स्रोता तथा मिडियाले पालेका भ्रमहरु चिर्ने प्रयास गरेका छन् । आफ्नै निर्देशनको उक्त भिडियो सार्वजनिक भएपछि दुर्गेश थापाले भनेका छन्, ‘म रील र रियल लाइफमा बिल्कुलै फरक छु । मेरो बारेमा गरिने गलत हल्लाको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु ।’