काठमाडौँ – राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ । धादिङमा भएको प्रतिष्ठानको महाधिवेशनबाट रिता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । धादिङ जिल्लामा भएको महाधिवेशनबाट प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि रिता वरिष्ठ उपाध्यक्ष थिइन् भने पशुपति प्रथम उपाध्यक्ष थिए । अन्य ३५ जना निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा गायक रामजी खाँण निर्विरोध निर्वाचित भएका छन् । सुवास केसी, दीपक खड्का र राधिका हमाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उपमहासचिवमा हरि डाँगी र शिरीष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी सचिवमा दिपक गरौजा मगर, सुदूरपश्चिम सचिवमा नविन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपूत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, विदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महिला सहकोषाध्यक्षमा जुना श्रीस जैकली, मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, सु.प. सदस्यमा पदम बहादुर धामि, उपत्यका समन्वय सदस्यमा तिलक परियार र कर्णाली सदस्यमा राजकुमार खत्री निर्विरोध निर्वाचित भएका हुन् । आठौं महाधिवेशनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आकार बढाएको छ । ५७ बाट कार्यसमितिको संख्या ७५ मा पुगेको छ ।
विभिन्न पदमा मतदानको तयारी हुँदैछ । शुक्रवारदेखि सुरु भएको महाधिवेशन आइतवार सकिँदैछ । प्रतिष्ठानमा २३ हजार ३ सय २२ साधारण सदस्य, २ हजार ७ सय ७३ आजीवन सदस्य, २६ मानार्थ सदस्यसहित २६ हजार जना बढी आवद्ध छन् ।